गत साउन महिनामा आएको बाढीले बगाएको ताप्लेजुङको दोभानस्थित तमोर नदी माथिको निर्माणाधीन मोटरेवल पुलको काम अझै सुरु हुन सकेको छैन । साढे छ वर्ष अघि तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङद्वारा शिलान्यास भएको सो निर्माणाधीन पुल साउन १ गते विहान आएको बाढीले बगाएको थियो ।
कन्काई इन्टरनेशनल विल्डर्स कम्पनीले निर्माणको जिम्मा लिएको सो पुल वर्षाको समयमा निर्माण सुरु गरेकाले बगाएको र अहिले हिउँदमा समेत पुनः काम नहुँदा पुलको भविश्य अन्योलमा परेको स्थानीयको भनाई छ । कुल १० करोड ३५ लाख ९८ हजार रुपियाँ बराबरको लागतमा निर्माण हुँदै आएको ७५ मिटर लम्बाई रहेको पुलको निर्माण कार्य ५० प्रतिशत बढी सम्पन्न भएको थियो । आधा काम सकिएको पुल बगाएपछि मंसिर देखि पुनः काम सुरु गर्ने बताइए पनि अझै काम सुरु गरेको छैन । क्षेत्र नंबर १ र २ जोड्नेगरी निर्माण हुँदै आएको जिल्लाकै महत्वपूर्ण मानिएको सो पुल निर्माणमा कम्पनीको लापरवाहीले गर्दा ताप्लेजुङले ठूलो क्षति व्यहोर्नु परेको क्षेत्र नम्बर २ बाट निर्वाचित संसद डम्बरधोज तुम्बाहाम्फेले बताउनुभयो । यता आगामी मागको पहिलो साताबाट पुल निर्माण पुनः सुरु हुने सम्झौता भएको र भारतबाट कच्चा पदार्थ ल्याई निर्माण सामग्री बनाउने काम भइरहेको उत्तर दक्षिण ओलाङ्चुङ्गोला लोकमार्गका प्रमुख इन्जिनियर कुबेर नेपाली जानकारी दिनुभयो । सम्झौता अनुुुुसार काम भए चैत्र मसान्त सम्ममा काम सकिने इञ्जिनियर नेपालीले बताउनुभयो ।
उक्त पुल निर्माण सम्पन्न भए सुनसरी धरानदेखि धनकुटा, तेह्रथुमको बसन्तपुर, संखुवासभा गुफा पोखरी हुँदै ताप्लेजुङ सदरमुकाम फुङ्लिङसम्मको छोटो सडक मार्ग निर्माण हुने छ । पुल निर्माण सम्पन्न भए पछि कोशी सडक मार्ग मार्फत ताप्लेजुङदेखि मेची राजमार्ग दूरी पनि छोटिने छ । ताप्लेजुङ र अन्य पूर्वी पहाडी जिल्लाहरुको भविष्यसंग जोडिएको यो सडक मार्गका लागि महत्वपूर्ण मानिएको मोटरेबल पुल निर्माण गर्न बेलैमा ध्यान पु¥याउन आवश्यक छ ।

0 comments:
Post a Comment