ललिपप र बम्बैसन ः टेकबहादुरको पहिचान


इलाम, २८ मंसिर । घुमघामका लागि आउने र चाडबाडमा कोसेलीमा प्रयोग गरिने ललिपप र बम्बैसन बनाएरै सदरमुकामस्थित मालापथका टेकबहादुर राई राम्रो आम्दानी गर्ने गरेका छन् । दूधबाट बन्ने मिठाई उद्योग सञ्चालन गरेर उनको परिवारमात्र होइन अरू २४ महिलाले रोजगारी पाएका छन् । परिश्रम गर्न सके सानो लगानीबाट पनि सफलता हात लाग्न सक्छ भन्ने उदाहरणीय बनेको छ, टेकबहादुरको उद्योग । यहाँ पुग्ने जो कोही उनको सफलता र मिहिनेतबाट चकित हुन्छन् । जिल्लामा व्यवसायिक उत्पादन हुने दूधबाट बन्ने मिठाई उद्योग सञ्चालनपछि उनका दुःखका दिन सकिएका हुन् ।
अन्य व्यवसायबाट खासै केही गर्न नसकेपछि उद्योग खोलेका राई परिवारको मात्र होइन, अरू दुई दर्जन गुजाराको चलाउने गतिलो माध्यम बन्यो । सुरुमा ५० हजार लगानीमा उद्योग खोलेका राई अहिले मासिक १२ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्छन् । इलाम घुम्न आउनेका लागि ललिपप र बम्बैसन अनिवार्य कोसेलीजस्तै बनेको छ । ‘शुद्ध दूधबाट गुणस्तरीय ललिपप र बम्बैसन बनाउँदा बजारको कमी छैन,’ उनले भने, ‘दैनिक ५० किलोसम्म मिठाई उत्पादन हुन्छ ।’ माईपोखरी र बाघखोरबाट दूध संकलन गरी सहकारीमार्फत पुवाखोलामा कुराउनी तयार हुन्छ । उनले कुराउनी खरिद गरेर मिठाई बनाउने गरेका छन् ।
भाडामा घर लिएर चलाएको उनको उद्योगलाई माग थेग्न हम्मे छ । श्रीमती सुष्मा, छोराहरू विवेक र रोधन अनि छोरी रोश्ना यसै उद्योगमा सक्रिय छन् । रोश्ना १२ कक्षामा अध्ययनरत छिन् । विद्यालय र पढाइको समय बाहेक उनको दैनिकी बुबाआमाले चलाएको मिठाई उद्योगमै बित्छ । दाइहरू विवेक र रोधन पनि क्याम्पस तहमा पढ्छन् । सबैको पढाइबाहेकको जिम्मेवारी हुन्छ त्यही उद्योगमा सघाउनु । उनीहरूले त्यो तहसम्म पढाउन र घरको गर्जो टार्ने प्रमुख माध्यम बनेको छ ललिपप र बम्बैसन उद्योग । झापाबाट २३ वर्षअघि बसाइँ आएका राईले गरिबीसँग संघर्ष गर्न कपडा पसलदेखि, च्याउ खेती, कुखुरापालनजस्ता व्यवसाय अपनाए । त्यसले परिवार थेग्न नसकेपछि विकल्पमा थालिएको ललिपप उद्योगले उनले चाहेअनुसार कमाइ गर्न सकेको छ ।
मिठाई बनाउने र प्याकिङ गर्ने काममा ठेक्का सिस्टममा रोजगारी दिने उद्योगमा महिलाले प्राथमिकता पाएका छन् । बलको काम गर्न नसक्नेका लागि यो आयआर्जनको सहज उपाय बनेको हो । ‘बसीबसी काम गरेर पनि छोराछोरी पढाउन सहज हुने भएकाले नियमित काममा आउँछु,’ ललिपप बनाउन व्यस्त दीपा गुरुङले भनिन् । टेकबहादुर सहकारी संचालनमा पनि पोख्त छन् । सहकारीबाटै ऋण लिएर व्यवसाय गरेका उनी अहिलेको कारोबारबाट सन्तुष्ट छन् । देश–विदेशमा स्थानीयस्तरमा उत्पादन हुने दूधबाट बन्ने मिठाई चखाएका राईको लगन र मिहिनेतकै कारण बजार सुध्रिँदो अवस्थामा छ । सदरमुकामलगायत जिल्लाका विभिन्न स्थानमा दूधबाट विभिन्न परिकार बनाउने उद्योग फस्टाउँदै गएकाले दुग्ध संस्थानलाई दूध बिक्री गर्ने कृषक घट्दै गएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

1 comments: