आज किराँत समुदायको उधौली पर्व मनाइँदै


इलाम, २७ मंसिर ः प्रकृति र पितृको पूजा गरी आज किराँत समूदायको ठुलो चाड उधौली पर्व मनाइदैछ । किराँत समूदायले आफुले लगाएको अन्नबाली पाकेपछि आफ्नो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडका रुपमा मनाउन गर्दछन् । परम्परा अनुसार २ दिन अघि लिम्बुले चासो तग्नाम पर्व मनाउने गर्छन् भने याख्खाले चासुवा, सुनुवारले खोल स्यादर र राईले उधौली साकेला भनेर आज संयुक्तरुपमा मनाउने गरिन्छ । किराँत राईको मुख्य पर्व साकेला उभौली वैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन मनाइन्छ । यस पर्वको मेलामा सबै उमेरका मानिसहरु आपसमा गोलो घेरा बनाएर नाच्ने गर्दछन् । यस्तै नेवारसमुदायले आजै योमरी पुन्ही पर्व हर्साेल्लासका साथ मनाउँदैछन् । तिहारमा देउसी–भैलो खेले जस्तै टोलभर गाउँदै योमरी माग्ने चलन नेवारी समुदायमा छ । सोही परम्पराअनुसार नेवारी गीत गाउँदै बालबालिकादेखि बुढापाकासम्म सहभागी भइ आज दिनभर योमरी मागिन्छ । इष्टमित्र, साथीभाइ, पाहुनालाई बाँडीचुडी खाने र खुवाउने परम्परा रहेको यो पर्वलाई माया, प्रेम, दया र करुणा आदान–प्रदानको रुपमा पनि लिने गरिएको छ । योमरी एक विशेष प्रकारको रोटी हो । योमरी पुन्हीका दिन गृहिणीले शुद्ध भएर चामलको पिठो, चाकु, तील, मासु, गुँदपाक, खुवा राखी योमरी बनाउने चलन छ । नेवार समुदायममा आफैंले उत्पादन गरेको अन्न ढिकुटी पूजा गरेर मात्र खाने चलनअनुसार यो पुन्ही मनाइन्छ । आजै धान्यपूर्णिमा पनि हो । विभिन्न धर्म र सम्प्रदायमा आज आ–आफ्ना दिवालीका साथै इष्टदेवको पूजा गर्ने गर्दछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment