धुमधामसँग उधौली पर्व मनाईयो


इलाम, २८ मंसिर ः किरात स्वायत्त राज्यको माग गर्दै इलाममा किरातीहरुले आफनो महान चाड साकेला उधौली पर्व मनाएका छन् । किरातीहरुले आफ्नो अधिकार प्राप्त गर्नका लागि सम्पूर्ण किरातीहरु एकजुट भई राज्यलाई दबाब दिनुपर्ने बताएका छन् । पर्वको अवसरमा इलाम नगरपालिका ८ ओपीधारामा रहेको साकेला थानमा गरिएको औपचारिक कार्यक्रममा वक्ताहरुले किरात स्वायत्त राज्यको माग गरेका हुन् । प्रत्येक वर्ष मंसिरे पूर्णिमालाई उधौली र वैशाखे पूर्णिमालाई उभौली पर्वको रूपमा मनाउने किरातीहरुले यसलाई प्रकृति पूजकको रुपमा पनि मनाउने गर्दछन् । किराती पुर्खाले समयको मापन गर्ने गरी दुई भागमा विभाजन गरेर उधौली र उभौली मनाउँदै आएको विश्वास गरिन्छ । अन्नबाली लगाउने बेलामा पनि किरातीहरुले उभौली पर्व मनाउछन् । 
यसबेला साकेला थानमा गई प्रकृति पूजक पारुहाङ र सुम्निमाको पूजाआजा गर्दै लगाएको अन्नबाली सप्रियोस भन्दै कामना गर्ने गरेका छन् भने लगाइएका अन्नबाली थन्काउने समयमा पनि नयाँ अन्नको स्वाद (न्वागी) गर्दै साकेला थानमै गई पूजाआजा गरी यो पर्व मनाउने गरेका छन् । इलाम नगरपालिका ८ स्थित ओपीधारामा रहेको साकेला थानमा किरात राई यायोक्खा नगर कार्य समितिको आयोजनामा उधौली पर्व मनाएका छन् । थानमा राईको पुरोहितबाट पूजाआजा पश्चात साकेला नाच समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम यायोक्खाका नगर अध्यक्ष निरुमाया राईको अध्यक्षता एवं यायोक्खाका जिल्ला अध्यक्ष कृष्ण खालिङ्ग राईको प्रमुख आतिथ्यमा भएको थियो । पन्ध्रदिनसम्म विभिन्न कार्यक्रम गरी मनाइने यो पर्व किराती समुदायको बाहुल्य भएको पूर्वी पहाडी जिल्लामा विशेष ढङ्गले मनाइन्छ । प्रकृति पूजक किरातीले यस अवसरमा आफ्ना पूर्वजको सम्झना गर्दै अन्नको पूजा गर्ने, घरघरमा साकेला नाच्ने र आफन्तबीच शुभकामना आदानप्रदान गर्दै चाड मनाउने गर्छन् । पहाडी जिल्लाबाट बसाइँसराइ गरेर पूर्वी तराईमा झरेका तथा काठमाडौँ उपत्यकामा रहेका किराती पनि एक ठाउँमा भेला भएर साकेला नाच्दै सामूहिक रूपमा चाड मनाउने गर्छन् । यो समय जाडोको समय भएकाले चराहरु तराइतिर झर्ने हुँदा यसलाई मंसिरे पूर्णिमा अर्थात उधौली तथा गर्मी सिजन सुरु भएपछि यतिखेर तराई झरेका चराहरु चिसो खोज्दै लेकतिर आउने भएकाले यसलाई बैशाखे पूर्णिमा अर्थात उभौली समेत भनिने गरेको यायोक्खा अध्यक्ष कृष्ण खालिङ्ग राईको भनाई छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment