पाँचथर, ११ पुस ः कञ्चनजंघा भू–परिधि संरक्षण तथा विकास पहलको आयोजनामा पाँचथर सदरमुकाम फिदिममा सम्पन्न भएको प्रथम राष्ट्रिय अर्गेली सम्मेलनले छ बुँदे फिदिम घोषणपत्र जारी गरेको छ । अर्गेली कृषक, उत्पादक, व्यवसायी, वन विज्ञ र अनुसन्धानकर्ताहरुको प्रथम राष्ट्रिय सम्मेलनले अर्गेलीको मूल्य श्रृङखला अभिबृद्धिका लागि फिदिम घोषणापत्र जारी गरेको हो ।
कञ्चनजंघा भू–परिधि क्षेत्रका सामुदायिक वन, कबुलियति वन, सरकारी वन र निजी वन क्षेत्रमा अर्गेलीको व्यवसायिक खेती विस्तारलाई अभियानको रुपमा अगाडी बढाउने घोषणपत्रमा उल्लेख छ । अर्गेलीको दिगो तथा गुणस्तरीय उत्पादन, प्रशोधन र बजारिकरणका लागि आवश्यक पर्ने प्राविधिक ज्ञान, सीप र स्रोतको विकास र विस्तार गर्ने योजना बनाईएको छ ।
त्यस्तै अर्गेलीबाट उत्पादित कच्चा वा तयारी वस्तुहरुको अन्तराष्ट्रिय स्तरमा प्रवद्र्धन र बजारिकण गर्ने, अर्गेलीको ओसार पसार र बजार विस्तार सम्बन्धी नीतिगत तथा कानुनी व्यवस्थालाई व्यवहारिक र सरल बनाउन पहल गर्ने, अर्गेली खेतीको उत्पादन, प्रशोधन र बजारीकरणमा क्रियाशिल व्यक्ति, समुदाय र संस्थाहरुको सञ्जाल निर्माण गर्ने र अर्गेली खेती सम्बन्धि सूचना प्रणालीको विकास गर्दै पाँचथरमा अर्गेली सूचना केन्द्र स्थापना गर्ने लगायतका छ बुँदे घोषणापत्र जारी गरिएको हो ।
अर्गेलीको बोक्राबाट परम्परागत रुपमा डोरी बनाउने गरिन्छ । गुणस्तरिय अर्गेलीको बोक्राबाट कागज बनाउन थालिएको छ । अर्गेलीको बोक्राबाट बनाइएको नेपाली कागजबाट धुप र नोट बनाउन प्रयोग गरिदै आएको छ । नेपालमा उत्पादन भएको अर्गेलीको बोक्रा जापानीज नोट बनाउन प्रयोग गरिने वन तथा भू संरक्षण मन्त्रालयका उपसचिव बलराम कँडेलले बताए । “नेपालमा गुणस्तरिय अर्गेली उत्पादन हुन्छ,” कँडेलले भने “गुणस्तरिय अर्गेलीको बोक्राबाट जापानमा नोट बनाउन प्रयोग गरिन्छ ।” नेपालमा उत्पादन भएको अर्गेली विश्वको ६० देशमा निकासी हुने गरेको छ ।
नेपालमा उत्पादन भएको अर्गेली कानपाउ नेपालले बाहिरी देश निर्यात गर्दै आएको छ । गुणस्तरिय अर्गेली उत्पादन हुने भएपनि मिसावटका कारण नेपालमा उत्पादन भएको अर्गेलीले बजार पाउन छाडेको कानपाउ नेपालका रामगोपाल श्रेष्ठले बताए । “अर्गेलीको बोक्रामा मकैको खोष्टा, बाबियो लगायतका अन्य वस्तुहरु मिसावट गरिएकाले गुणस्तर खस्किएको छ,” श्रेष्ठले भने “गुणस्तरमा ख्याल नगरिदा यहाँ उत्पादन गरिएको अर्गेलीले बजार पाउन छाडेको हो ।”
१५ सय देखि तीन हजार मिटरको उचाईमा हुने अर्गेलीको पाँचथर, इलाम, ताप्लेजुङ, बाजुरा, बझाङ, दैलेख लगायतका जिल्लाहरुमा उल्लेख्य मात्रामा हुने गरेको छ । पाँचथरमा उत्पादन भएको अर्गेली गुणस्तरिय भएकाले जापानिज नोट बनाउन प्रयोग गरिने कानपाउ नेपालले जनाएको छ । अर्गेली खेतीको विस्तारका लागि पाँचथर उपयुक्त भएकाले आगामी पाँच वर्षमा आठ हजार हेक्टरमा अर्गेलीको खेती विस्तार गरिने जिल्ला वन कार्यालय पाँचथरका वन अधिकृत देवेशमणि त्रिपाठीको भनाई छ । “पाँचथरको विभिन्न क्षेत्रमा तीन हजार हेक्टरमा अर्गेली खेती गरिदै आएको छ,” त्रिपाठीले भने “अबको पाँच वर्षमा आठ हजार हेक्टर क्षत्रफलमा अर्गेलीको खेती विस्तार गर्ने योजना छ ।”
पाँचथरबाट गएको एक वर्षमा ७० हजार किलो अर्गेली उत्पादन भएको थियो । अर्गेली उत्पादनमा कृषकहरु व्यवासयिक नभएकै कारण बजारको खोजी गर्न समस्या भएको त्रिपाठीको भनाइ छ । ”ठूलो परिमाणमा अर्गेली उत्पादन गर्ने हो भने बजारको कुनै समस्या हुन्न्,” त्रिपाठीले भने । गत वर्ष नेपालबाट ४५ टन अर्गेलीको बोक्रा जापान पठाईएको कानपाउ नेपालले जनाएको छ । नेपालका विभिन्न नौ जिल्लामा उत्पादन गरिएको अर्गेलीको बोक्रा जापान निकासी हुँदै आएको छ । जापानमा यसको माग बढेपछि अन्य जिल्लाहरुमा पनि अर्गेली खेतीको विस्तार गर्न लागिएको हो ।
अर्गेली लेकाली जमिनमा पाईने एक प्रकारको रुख नै हो । चिसो र भिरालो जमिनमा सहजै यसको खेती गर्न सकिने भएकाले पाँचथरमा यसको व्यवसायिक खेती गर्न प्रचुर सम्भावना छ । अहिलेसम्म कृषकहरुले यसको व्यवसायिक खेती गरेका छ्रैन् । व्यवसायिक रुपमा खेती सुरु गरिए पाँचथरका कृषकहरुको प्रमुख आम्दानीको स्रोत अर्गेली बन्ने अनुमान छ ।
0 comments:
Post a Comment