निर्माणाधिन लाप्चा गुम्बा बजेट अभावले अलपत्र

फिक्कल, ११ पुस ः इलामको सूर्योदय नगरपालिका वडा नम्बर ६ मा निर्माणाधिन लाप्चा गुम्बा बजेट अभावले अलपत्र बनेको छ । भूकम्पले खण्डहर बनाएको फेन्सोलिङ लाप्चा गुम्बाको सामग्री राख्न बनाइएको गुम्बा निर्माणको काम पुरा नहुँदा लोपोन्मुख लाप्चा जातिको ऐतिहासिक सामग्री समेत नष्ट हुने अवस्थामा पुगेको हो । लाप्चा समुदायको घरलौरी एक हजार रुपैंयाँ संकलन गरी चार वर्ष अघि निर्माण थालिएको भवन सरकारी सहयोगको अभावमा निर्माण पुरा हुन नसकेको गुम्बा व्यवस्थापन समितिले जनाएको छ । पटक पटकको भूकम्पले ढल्ने अवस्थामा पुगेको पुरानो गुम्बाको सामग्री सुरक्षित राखेर पुरानो गुम्बालाई जिर्णोद्धार गर्न लागिएको गुम्बा बजेटको अभावले अलपत्र परेको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष प्रेम लाप्चाले बताए । बजेट अभावले निर्माण बीचैमा छोडिएको गुम्बा एक तला छापिएको छ । एउटा सभा हल सहितको चार कोठे बनाउन लागिएको भवन एक वर्ष अघि नै निर्माणको काम छोडिएको हो । निर्माणाधिन गुम्बामा १५ लाख रुपैंयाँ बढी खर्च भई सकेको छ । भवन निर्माणमा संसद विकास कोषको तर्फबाट पाँच लाख, आदिवासी जनजाति प्रतिष्ठानले दुई लाख, सूर्योदय नगरपालिकाले एक लाख गरी आठ लाख रुपैंयाँ दिएको अनुदानसँगै बाँकी सबै रकम लाप्चा समुदाय आफँैले संकलन गरेको गुम्बा व्यवस्थापन समितिका सदस्य सरोज लाप्चाले बताए । पुरानो गुम्बालाई मर्मत गर्न भनि पाएको सहयोगले मर्मत खर्च नपुग्ने भएपछि नयाँ भवन निर्माण थालिए पनि थप सरकारी सहयोगको अभावले निर्माण पुरा हुन नसकेको लाप्चाको भनाई छ । गुम्बा निर्माणका लागि स्थानीय निकायसँगै विभिन्न निकायमा बजेट माग गरेपनि कुनै किसिमको सहयोग नपाएको समितिको गुनासो छ । समितिका अनुसार गुम्बाको निर्माण पुरा गर्न अझै ३५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । गुम्बा निर्माण सम्पन्न भए नेपालकै लोपोन्मुख लाप्चा जातिको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक विषयको अध्ययन केन्द्र बनाउन सकिने बताइएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment