इलाममा ब्लड बैङ्क सञ्चालनको तयारी, कर्मचारीलाई दिइने पारिश्रमिक जुुटाइँदै

सुजाता सुनुवार

इलाम १२ पुस ः निर्माण सम्पन्न भएको चार वर्षपछि बल्ल इलाममा रक्त सञ्चार केन्द्र (ब्लड बैङ्क) सञ्चालनमा आउने आशा पलाएको छ । इलाम नगरपालिका ८ नारायणस्थानमा वि.सं.२०६६ सालबाट भवन निर्माण सुरु भएर वि.सं.२०६९ सालमा निर्माण सम्पन्न भएको थियो । भवन निर्माण भएपनि ब्लड बैङ्क सञ्चालनका लागि चाहिने आवश्यक उपकरणहरु खरिद गर्न बजेट अभाव भएका कारण सञ्चालनमा ल्याउन कठिनाई भएको थियो । तर आवश्यक उपकरणहरु आइ सकेकाले अब तत्कालै सञ्चालनमा आउने तयारी भइरहेको ब्लड बैंक सञ्चालनको जिम्मा लिएको नेपाल रेडक्रस सोसाइटी इलाम शाखाले जनाएको छ । 
बैङ्क आगामी माघ अन्तिमदेखि सञ्चालनमा आउने तयारीको गृहकार्य भइरहेको सोसाइटीका लेखापाल बसन्त तिम्सिनाले बताए । उनका अनुुसार ब्लड बैङ्क सञ्चालन गर्नका लागि विगतमा इलामका धेरै दाताहरुबाट रकम दिने प्रतिबद्धता भए पनि सबै दाताहरुले कबुल गरेको रकम नदिँदा समयमा नै ब्लड बैङ्क सञ्चालनमा आउन नसकेको हो । ब्लड बैङ्क सञ्चालनका लागि जर्मन राजदुतबासबाट १४ लाख १८ हजार रुपैंयाँ आर्थिक सहयोग प्राप्त भएको र सोसाइटी इलाम शाखाबाट थप एक लाख त्रिपन्न हजार गरेर १५ लाख ७१ हजार रुपैंयाँको लागतमा उपकरण खरिद गरेर ल्याइएको छ ।
अबको एकमहिना भित्रमा ब्लड बैङ्क सञ्चालनमा आउने लेखापाल तिम्सिनाको भनाई छ । तर इलाम अस्पतालमा रहेको ५० शैयाको अप्रेशन कक्ष सञ्चालन नभईकन ब्लड बैँक सञ्चालन गरे पनि चल्न गाह्रो हुने नेपाल रेडक्रस सोसाइटी इलामका सभापति देवीप्रसाद गौतमले बताए । इलाम अस्पतालमा सो कक्ष सञ्चालनको लागी पहल निरन्तर चालीरहेको भए पनि विशेषज्ञ डाक्टरको अभावमा अप्रेशन कक्ष सञ्चालनमा आउन ढिलाई भइरहेको छ । सो कक्ष सञ्चालनमा आए पछि इलामका लागी प्रयोग भएर बाँकी रहेको ब्लड झापा धरान लगायतका अस्पतालमा पठाइने सभापति गौतमले बताए ।  
ब्लड बैङ्क सञ्चालनका लागि आवश्यक सामाग्री ब्लड कलेक्सन मनिटर, ट्युब सिलर, स्टेरेलाइज ओभन, इक्यूभेटर, स्टिम स्टेलाइजर र फ्रिज खरिद गरिसकिएको छ भने केहि सामाग्री खरिद गर्ने तयारी भइरहेको जनाइएको छ । सोसाइटी इलाम शाखाले जर्मन राजदुतबासमा असी लाख रुपैंयाँको प्रस्ताव पेश गरेपनि १४ लाख रुपैंयाँमात्र सहयोग भएको इलाम शाखाले जानकारी दिएको छ । अठ्ठाइस लाख २६ हजार रुपैंयाँको लागतमा एकतले चारकोठे पक्की भवन निर्माण भएको छ भने ब्लड बैंक सञ्चालनमा आएपछि कर्मचारीलाई दिइने पारिश्रमिक तथा  सेवा सुविधा बापतको रकम नभएको सोसाइटी इलाम शाखाले जानकारी दिएको छ ।
सोसाइटी इलाम शाखाले खोलेको रक्तसञ्चार अक्षय कोषमा पाँचलाख रुपैयाँ भएपनि कोषमा १०÷१५ लाख रुपैयाँ नभएसम्म सञ्चालनमा कठिनाई आउने जनाइएको छ त्यसका लागि सबैतिरबाट सहयोग जुुटाउने कार्य भइरहेको छ । जिविस इलामले आकष्मिक रक्त सञ्चार सञ्चालनका लागि वार्षिक पचास हजार रुपैयाँ दिँदै आएको छ भने मालपोत कार्यालयमा रहेको लेखापढी ब्यबसायी संघले गत वर्षबाट ब्लड बैङ्क सञ्चालनार्थ वार्षिक पचास हजार रुपैंयाँ दिन थालेको छ । यति रकमले मात्र सञ्चालनमा कठिनाई भएकोले अन्य आर्थिक सहयोग खोजिरहेको नेपाल रेडक्रस सोसाइटी इलाम शाखा सभापति गौतमले बताए । सोसाइटी इलाम शाखाले ब्लड बैंङ्कमा काम गर्ने कर्मचारी ब्यवस्थापनका लागि झापा, मोरङ र सुनसरी रेडक्रस सोसाइटीसँग सहयोग माग्दै आएको छ । अबको एकमहिना भित्रमा सञ्चालनमा आउने ब्लड बैंकमा दुईजना कर्मचारी रहने बताइएको छ ।  जसमा ल्याब असिस्टेन र ल्याब टेक्निसियन रहनेछन् । यता सोसाइटी इलाम शाखाको तथ्याङ्क अनुसार जिल्लामा रगतको माग भने अत्यन्त न्यून रहेको छ । वार्षिक दुईसय प्रिन्ट रगतको माग हुने गरेको छ । अस्पतालबाट आवश्यक मात्रामा सेवाग्राहीले स्वास्थ्य सेवा नपाउँदा तथा सर्जरीका केशहरु अत्यन्त कम हुने गरेकाले इलाममा रगतको माग अति कम हुने गरेको लेखापाल तिम्सिनाको भनाई छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment