आँशुले लेखिएको काव्य: अन्तिम भाइटीका


मानव जीवनले भोग्ने सुख—दुःख, हाँसो–रोदनको कलात्मक अनुभूतिनै साहित्य भएकाले साहित्य सिर्जनामा सर्जकले जीवन भोगाइका क्रममा बटुलेका तीता मीठा अनुभवहरुलाई व्यक्त गर्दछ । यही जीवन भोगाइका क्रममा आफूले भोगेका तीता यथार्थलाई काव्यका रुपमा प्रस्तुत गर्ने इलामे नवप्रतिभा हुन् टीका घिमिरे र उनको परिचय हो ‘अन्तिम भाइटीका’ । आफ्ना स्वर्गीय पति बुद्धिप्रसाद घिमिरेको परमधाम यात्राले उनलाई कवि बनाएको देखिन्छ । विश्व काव्य जगतलाई नियाल्दा थुप्रै सर्जकहरुले आफ्ना आफन्तको वियोगमा साहित्य सिर्जना गरेको इतिहास पाइन्छ । जीवनको बाल्यकालबाट कलम चलाएकाहरुले वियोगमा सिर्जना सिर्जित गर्नु त्यति नौलो ठूलो कुरा होइन तर कवि टीका घिमिरे यो सन्दर्भमा अलि फरक देखिन्छिन् । उनलाई पतिको वियोगले कवि बनाएको छ । अझै यसो भनौँ कवि भएर वियोग गाएकी छैनन् वियोगको कथा भोगेर कवि भएकी छन् । सामाजिक सेवाका थुप्रै कार्यहरुमा सहभागीता जनाए पनि उनले आफ्नो जीवनकालमा उमेरको पाँचौँ दशक बितिसक्दा पनि कही कतै साहित्यिक कार्यक्रममा औपचारिक उपस्थिति जनाएर कविको परिचय दिएकी थिइनन् । कसैले कवि हुन् भनेर चिनेको पनि थिएन । अचानक ‘अन्तिम भाइटीका’ नामक उत्कृष्ट शोक काव्य लिएर साहित्यकाशमा उदाएकी छिन् टीका घिमिरे । वियोगले साँच्चै उत्कृष्ट काव्य रचाएको छ यो आश्चर्यको कुरा हो ।
इलाम जिल्लाका स्थापित साहित्यकारहरुको नाम सङ्कलन गर्ने हो भने एउटा अग्रणी नाम हो स्व.बुद्धिप्रसाद घिमिरे । उनी कवि मात्र नभएर समाजसेवी, प्राध्यापक, राजनीतिज्ञ साथै कुशल अभिभावक पनि हुन् इलामका । वि.सं २००३ सालमा इलामको सुम्बेक गाविस वडा नं ५ मा जन्मेर इलाम सदरमुकामलाई कार्यक्षेत्र बनाएर सुन्दर समाजको निर्माणमा तल्लिन रहेका यी बहुप्रतिभाशाली व्यक्तित्वका धनी घिमिरे ६० वर्षको उमेरमा वि.सं २०७० साल कार्तिक १९ गते भाइटीकाको दिन हामीबाट बिदा भएका थिए । उनको परमधाम यात्राले इलामलाई मात्र नभएर सिङ्गो देशलाई नै अपुरणीय क्षति भएको थियो । यीनै एक कुशल योद्धाको वियोगमा छटपटाएकी उनै अर्धाङ्गीनी टीका घिमिरेले उनकै सम्झनामा बगाएको आँसुले लेखिएको शोक काव्य हो ‘अन्तिम भाइटीका’ पत्नीको वियोगमा थुप्रै कृतिहरुले आकार लिएका छन् तर पतिको वियोगमा आकार लिएको कृति खोज्ने हो भने विरलै भेटिएला काव्य जगतमा । यही दुर्लभ इतिहासभित्र भेटिन्छ, ‘अन्तिम भाइटीका’ स्व. पति बुद्धिप्रसाद घिमिरेको सम्झनामा हरेक दिन तड्पिएर कवि भएकी हुन् टीका घिमिरे । घिमिरेको भर्खरै बजारमा आएको शोक काव्य ‘अन्तिभ भाइटीका’ शार्दूलविक्रीडित नामक शास्त्रीय छन्दमा लेखिएको छ । लामो समय सम्म काव्य साधनामा स्थापित भइसकेका शास्त्रीय छन्दवादी कविले सिर्जना गरेका काव्यहरु भन्दा कम लाग्दैन यो काव्य किनकि घिमिरेको यो पहिलो कृति हो तर पनि परिष्कृत छ, कलात्मक छ र उत्कृष्ट छ ।
‘अन्तिभ भाइटीका’ शोक काव्य २६ वटा शिर्षकहरुमा समेटिएको छ । जसमा ‘उनको बालापन’ शिर्षकबाट सुरु गरेर ‘मेरा सबैनै गयौ’ शिर्षकमा अन्त्य गरिएको छ । २६ वटै शिर्षकका सबै कविताले करुणा र वियोग अभिव्यक्त गरेको छ । वियोगबाटै कवि बनेर होला सिङ्गो काव्यमै आँशु भेटिन्छ । शब्द–शब्दहरु आँशुले पोतिएका छन् । वि.सं २०७० सालको तिहारको भाइटीकाको दिन परमधाम भएका पतिको वियोगमा हरेक वर्षको तिहारले भन पीडा थप्ने कुरा अभिव्यक्त गरेको पाइन्छ ।
‘कालो कार्तिक वर्ष वर्ष दिनमा आएर बल्झाउँछ ।
छातीभित्र छुरा धसेर किन त्यो दीपावली आउँछ
घोची दिन्छ कुना कुना हृदयका रोपी सदा ¥वाउँछ
जाओस् क्रुर तिहार के लिन अझै फर्केर नै आउँछ ।’
कविले पतिको बाल्यकाल देखि परमधाम यात्रा सम्मको सम्पूर्ण कायाकैरन काव्यमा समेटेकी छन् । काव्य पढ्दै जाँदा शोक काव्य हो खण्डकाव्य हो भन्ने थाहा हुँदा हुँदै पनि भावका कारण बृहत काव्य पढिरहेको आभाष हुन्छ । काव्य पढ्न बसेबाट अन्त्य सम्मनै पाठकले सायदै आँशु नबगाएको क्षण हुँदैन । अझै यो पङ्तिकार त स्वयम स्व.बुद्धिप्रसाद घिमिरेको साहित्यिक विद्यार्थी भएकाले गर्दा पनि होला काव्य पढ्दा र यी पङ्तिहरु लेख्दा लेख्दै पटक पटक लेख्न छोडेर भक्कानिएको छ । यो नै शोक काव्यको मार्मिकता हो र सफलता हो टीका घिमिरेको । पाठक त यति धेरै पीडामा भावविभोर हुन्छन् भने स्वयम् कविले कति छट्पटिदा यो काव्य जन्मिएको होला अनुमान भन्दा परको विषय हो । उनी लेख्छिन् —
‘शुन्यै लाग्छ जताततै घर कुना आएर हेर्दा पनि
खाली ती सब मेच टेबलहरु कोठा र चोटा अनि
भान्सामा कि त भेट हुन्छ कि भनी दौडेर पुग्दा त्यहाँ
सारा शुन्य छ आज यो जगतनै लाग्ने अध्याँरो यहाँ ।’
काव्यमा पतिको बाल्यकाल, जीवन भोगाइ र मृत्युको छट्पटि मात्र अटेको छैन् आफ्ना सम्पूर्ण आफन्त, इष्टमित्र, समाज, आफ्नो जन्मभूमि र सिङ्गो प्रकृति अटेको छ । पति हुँदा घरभरी मानिसहरुको भीड हुने र आज नहुँदा कोही पनि नआएको शुन्य अवस्थालाई पनि बडो भावुकताका साथ प्रस्तुत गरेकी छन् उनले । तिमीलाई छाडेर कहिल्यै कतै जान्न भन्ने प्रिय मान्छे आज छोडेर कता गयौ ?? हाल खबर कस्तो छ ?? भनेर कारुणिक प्रश्नहरु सोध्न समेत भ्याएकी छन् । तिमीले अझै बाँचेर गर्ने धेरै कामहरु थिए नगरी गएका छौ भनेर बाँकी काम आफूले सके सम्म गर्ने प्रण यसरी गर्छिन उनी कविता मार्फत—
‘के के लक्ष थिए अगाडि अधुरै राख्यौ लुकाइकन
सक्ने गर्छु म प्राण भर्छु तिनमा लाग्ने छ मेरो मन ।’
आफन्त गुमाएकाहरु वियोगमै हराएका थुप्रै उदाहरणहरु भेटिन्छन् हाम्रो समाजमा । घिमिरे भने मृत आत्माका सपनाहरु पूरा गर्ने गहिरो प्रण गर्छिन् । वियोगको पीडा भोग्नेहरुलाई प्रेरणाको स्रोत हुन् उनी । आँशु बगाए पनि जीवन जीउने सवालमा उनले हरेश भने खाएको देखिदैन । यो उनको सकारात्मक पक्ष हो ।
काव्यभरी अत्यन्तै शालीन, मार्मिक साथै कारुणिक शब्दहरुको कलात्मक संयोजन पाइन्छ । सिकारु कवि हुन् अथवा नवप्रतिभा हुन् भन्ने आभाष कतै मिल्दैन । यो नै उनको विशिष्टता हो । नदीमा पानी बगेझैँ छन्दसँगै शब्दलाई सललल बगाएकी छन् । भाइटीकाका दिन चेलीका घरमा आयु बढाउन पुगेका पतिको आयु सधैंका लागि छोटिए पछि परम्परा र संस्कृति प्रति शङ्का व्यक्त गरेको समेत भेटिन्छ । उनले कार्तिक महिनालाई कालो महिना र भाइटीकालाई कालो दिनका रुपमा मानेकी छन् । यसै सन्र्दभमा सिङ्गो काव्यकै नाम ‘अन्तिभ भाइटीका’ रहेको देखिन्छ । २६ वटा शिर्षक मध्येको एउटा शिर्षक हो जसले सबै शिर्षकहरुलाई समेटेको पाइन्छ ।
कवि घिमिरेका पतिदेव बुद्धि घिमिरेको स्वर्गारोहण आफैंमा दुखद कुरा त हो नै तर उनको स्वर्गारोहण नभएको भए शादूलविक्रीडित छन्दको उत्कृष्ट प्रयोग भएको यति मार्मिक र शालीन काव्य नेपाली साहित्य जगतले पाउने थिएन । यो पीडामै मुछिएको भए पनि खुसीको तीतो यथार्थ हो । यस काव्यमा ५८ पृष्ठ रहेका छन् । हेर्दा मझौलो आकारको यो कृतिमा ३२ वटा पृष्ठहरुको अंकन गरिएका छैनन् । भूमिकाले एक तिहाइ भागै ओगटेको छ । यसले कृतिको सौन्दर्य बढाउन भन्दा पनि सहानुभूति बटुलेको बढी आभाष हुन्छ । कृतिको अन्त्यमा स्व. बुद्धि घिमिरेका सम्झनामा कवि पुरुषोत्म सिग्देलद्धारा रचित ३७ श्लोकको अत्यन्त मार्मिक कविता राखिएको छ । चाहे जे होस् समग्रममा भन्नु पर्दा बुद्धि घिमिरे स्मृति प्रतिष्ठानद्धारा प्रकाशित यो शोक काव्य नेपाली काव्य जगतको अमूल्य निधि हो, पढ्नै पर्ने उत्कृष्ट काव्य हो ।                                                                         
फाकफोक–४, इलाम
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment