सुन्तलाबाट कुरुम्बाका कृषकको दोब्बर आम्दानी

संगिता सुहाङ

पाँचथर, २३ मंसिरः कुरुम्बाकी सुन्तला कृषक इन्द्रकुमारी लावतीले यो वर्ष सुन्तला बेचेर राम्रो आम्दानी गरिन् । २२ रोपनी जग्गामा लगाएको पाँच सय बोटमा फलेको सुन्तला बेचेर १० लाख रुपैंयाँ आम्दानी गरेको उनी बताउछिन् । “यो साल सुन्तला बेचेर अहिलेसम्मकै सबैभन्दा धेरै आम्दानी गरे,” लावतीले भनिन् “सुन्तला खेती गरेदेखिकै सबैभन्दा धेरै आम्दानी भएको छ ।” विगत १४ वर्ष यता इन्द्रकुमारीले सुन्तला खेती गर्दै आएकी हुन् । गत वर्ष उनले पुगअपुग पाँच लाख रुपैंयाँ थापेकी थिइन् । सुन्तला उत्पादनमा बृद्धि भएसँगै सुन्तलाले मूल्य पनि राम्रो पाएकाले यो साल सुन्तलाबाट दोब्बर आम्दानी भएको उनी बताउछिन् । 
कुरुम्बाकै अर्का सुन्तला कृषक तेजबहादुर लावतीले पनि सुन्तलाबाट मोटो रकम थापे ।  “यो वर्ष आम्दानीमा ५० प्रतिशतले बृद्धि भएको छ,” तेजबहादुरले भने “बगानमा उत्पादन भएको सुन्तलाले राम्रो मूल्य पाएकाले आम्दानीमा बृद्धि भएको हो ।” तेजबहादुरले १५ रोपनी जमिनमा सुन्तला बगान फैलाएका छन् । सुन्तला खरिदका लागि व्यापारीहरु बगानमै पुगेपछि सुन्तला नबिक्ला भन्ने चिन्ता कृषकलाई छैन् । 
गत साल सयकडा पाँच सय रुपैंयाँले बिक्रीमा लागेको सुन्तला यो साल सयकडा आठ सयमा बिक्री लागेकाले आम्दानी दोब्बर भएको कृषकहरु बताउछन् । “उत्पादन बृद्धि भएसँगै सुन्तलाले मूल्य पनि राम्रो पाएकाले यहाँका सुन्तला कृषकले यो साल दोब्बर आम्दानी गरेका छन्,” तेजबहादुरले भने । सुन्तला खेतीका लागि यो सालको मौसम उपयुक्त भएकाले सुन्तला उत्पादनमा पनि बृद्धि भएको हो । सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि सुन्तला खेतीमा किसानहरु व्यवसायिक बन्दै गएकाले पनि कुरुम्बाका सुन्तला कृषकले राम्रो आम्दानी लिन थालेका हुन् । 
“सुन्तला खेतीका लागि प्राविधि ज्ञान थपिएको छ,” इन्द्रकुमारी भन्छिन् “खेती गर्ने तरिका थाहा भएपछि सुन्तला उत्पादनमा पनि बृद्धि भएको हो ।” इन्द्रकुमारी जस्तै कुरुम्बाका दुई सय ५० घर कृषकहरु सुन्तला खेतीमा व्यवसायिक बनेका छन् । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार कुरुम्बामा मात्रै ५७ हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यवसायिक खेती गरिएको छ । सुन्तला खेतीबाट यहाँका कृषकहरुले लाखौँ रुपैंयाँ आम्दानी लिने गरेका छन् । कुरुम्बाका १,२,३,४, ७ र ८ वडामा सुन्तलाको व्यवसायिक खेती गरिन्छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment