लारुम्बा, १८ मंसिरः नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयनतर्फ सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने बताएका छन् । किराँत धर्मगुरू आत्मानन्द लिङदेनको ६३ औँं जन्मोत्सवको अवसरमा शनिबार इलामको बाँझोस्थित लारूम्बामा आयोजित कार्यक्रममा उनले भने— ‘अहिले संविधान संशोधनभन्दा पनि कार्यान्वयनको बेला हो ।
पूर्वसभामुखसमेत रहेका नेता नेम्वाङले जसरी सबै दल मिलेर संविधान निर्माण ग¥यौं, त्यसरी नै सबै मिलेर संविधानको पूर्ण कार्यान्वयन गर्न सक्नुपर्दछ भन्दै संविधान निर्माणपछि मुलुक आर्थिक समृद्धितर्फ उन्मुख भएको बताए । ग्रामीण क्षेत्रमा हुने विकास निर्माणमा अनियमितता भए तत्काल स्थानीयतहबाट खबरदारी गर्न समेत उनले सबैमा आग्रह गरे । सोही अवसरमा नेता नेम्वाङले इलाम चुलाचुलीका ज्ञानुदय लावती र झापाका देवदास लगुन राईलाई जनही १० हजार ६३ रुपैंयाँको आत्मानन्द साहित्य पुरस्कार समेत प्रदान गरे ।
कार्यक्रममा किराँत गुरू आत्मानन्द लिङदेनले उपस्थित भक्तजनलाई आर्शिवचन दिएका थिए । मंसिर १६ गतेदेखि सुरू भएको जन्मोत्सवमा फुटबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा देश विदेशका किराँत धर्मावलम्बीको सहभागिता रहेको छ ।

0 comments:
Post a Comment