इलाम, ७ पुसः जिल्लामा चिराइतो उत्पादन बढे पनि बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । चिराइतोले बजार नपाएपछि चिराइतो घरमै थन्किएको हो । देउराली, जमुना, माइमझुवा, माबु, पाँचथरको राँकेलगायतका जडीबुटी बजार अहिले चिराइतो नबिकेपछि सुनसान बनेका छन् । विगत वर्षमा प्रतिमन ३० हजार रुपैंयाँमा व्यापारीले खरिद गर्ने चिराइतो यस वर्ष मुस्किलले प्रतिमन पाँच हजार रुपैंयाँमा बिक्री हुने गरेको किसान बताउँछन् ।
दुई वर्षयता भारतीय व्यापारीले नेपालमा उत्पादित चिराइतोमा मिसावट भएको भन्दै किन्न छोडेपछि किसान मारमा परेका हुन् । उचित मूल्य पाउने आशमा अघिल्लो वर्षको चिराइतो नबेची बसेका किसानको गोदाममा यस वर्षको उत्पादन समेत थपिएको छ । केही व्यापारीले चिराइतोमा कम गुणस्तरको भाले चिराइतो मिसाएर भारत निकासी गरेका कारण बजार खस्केको सुलुबुङका जडीबुटी कृषक युवराज पौडेलको भनाइ छ ।
तीन÷चार वर्षअघि प्रतिमन ३० हजार रुपैंयाँसम्ममा किसानले सजिलै बेचेको चिराइतो गत वर्ष १५ हजार रुपैंयाँमा कारोबार भएको र यसपटक पाँच÷छ हजार रुपैंयाँमा बेच्न समेत धौ धौ परेको सोम राई बताउँछन् । चिराइतोको भाउ वर्षेनी घटेर लगानी नै उठाउन नसक्ने अवस्था आएपछि जिल्लाका करिब पाँच हजार व्यवसायिक किसान चिराइतो खेतीप्रति निराश बन्न थालेका छन् । यहाँका किसानले कम्तीमा २० मनदेखि ८० मनसम्म चिराइतो उत्पादन गर्ने गरेका छन् ।
0 comments:
Post a Comment