फोहोर व्यवस्थापन गर्न तीनैवटा नगरपालिकालाई हम्मे (तस्विर सहित)

इलाम, १० पुस: मुलुककै दोस्रो सफा नगरपालिकाको सुचिमा पर्न सफल इलाम नगरपालिकाको व्यवस्थित ल्यान्डफिल्ड साइटको राम्रो व्यवस्थापन हुन सकेको छैन् । बजारबाट निस्कने फोहोर नगरपालिकाको वार्ड नं ३ स्थित खाल्डेमा अव्यवस्थित रुपमा बाटो छेउमा फाल्ने गरिएको छ । नगरपालिकाले जथाभावी फोहोर फाल्दा नजिकैको बस्तीका बासिन्दाहरुमात्र होइन सोही बाटो भएर ओहोरदोहोर गर्ने पैदलयात्रीहरु समेत दुर्गन्धको शिकार बन्नु परेको छ । स्थानिय प्रकाश नेपाल भन्छन् “बजार भरीको फोहोर ल्याएर बाटोमै नै फाल्छन, वर्खाको समयमा पानीले कुहिएको फोहोर घाम लागेपछि ह्वास्सै गन्हाउँदा घरमा बसी साध्य हुदैन् ।’ नगरपालिकाबाट निस्क्ने फोहोर व्यवस्थापनका लागी भनेर खरिद गरिएको जग्गामा बाटोबाट २ मिटरदेखि जथाभावी फोहोर थुप्रो बनाइएको छ । नगरपालिका योजना अधिकृत राम शाह भन्छन् “हामीले वि.सं.२०६६ सालमा १४ लाख ५० हजार रुपैंयाँको लागतमा २९ रोपनी जग्गा खरिद गरी फोहोर व्यवस्थापन कार्यको सुरुवात गरेको हौ तर पर्याप्त बजेट नहुँदा ल्यान्डफिल्ड साइटलाई अझै व्यवस्थापन गर्न समस्या भएको छ ।” यसलाई क्रमागत रुपमा विकास गर्दै लग्ने शाहले बताए । वि.स २०७० सालदेखि खाल्डेमा नगरपालिकाले फोहोर फाल्दै आएको छ ।  
सो स्थानमा बजारका फोहोर मात्र नभइ सेफ्टी टयाङ्कीमा दिसा पिसाव संकलन गरी फाल्ने गरिएकाले बाटो हिड्ने सर्वसाधारणले नाक छोपेर हिडनुपर्ने अवस्था छ । पैदलयात्री धम्बु जवेगु भन्छन् “बजारबाट घर जानुपर्दा नाक छोप्न पर्ने अवस्था छ ल्यान्डफिल्ड साइट वरिपरीको झन्डै पाँच सय मिटर परबाट गन्हाउन शुरु हुन्छ ।” देशकै उत्कृष्ट ५ सफा नगरपालिकाभित्र पर्ने भएपनि फोहोर व्यवस्थापनमा चासो नदिदा आफुहरु मर्कामा परेको स्थानीय बासिन्दाहरुको गुनासो छ । सो स्थानमा सड्ने र नसड्ने फोहोरहरु एकै स्थानमा फालिएका छन् । बाटोमै फुटेका सिसाका बोतलहरु जथाभावी फालिएका छन् । इलाम नगरपालिका मात्रै हैन पूर्वी इलामको सूर्योदय नगरपालिका र पश्चिमी देउमाई नगरपालिकामा पनि ल्याण्डफिल्ड साइड छैन् । ल्याण्डफिल्ड साइड नहुँदा अव्यवस्थित रुपमा फोहोरमैला व्यवस्थापन गर्नुपरेको छ । जग्गा खरिद गरिसकेपनि बजेट अभावले ल्याण्डफिल्ड साइडको काम अघि बढ्न नसकेको सूर्योदय नगरपालिकका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले बताए । नयाँ नगरपालिका भएकाले सबै कामहरु एकचोटी गर्न सकिएको छैन, कार्यकारी अधिकृत भट्टराई भन्छन्– ‘थोरै बजेट भएकाले काम पनि एकैचोटी गर्न नसकेको हो । सूर्योदय नगरपालिको फिक्कल बजार, आइतबारे, तीनघरे, पर्यटकीय क्षेत्र कन्याम क्षेत्रबाट फोहोर संकलन हुँदै आएको छ । त्यस्तै देउमाई नगरपालिकाको पनि फोहोरमैला व्यवस्थापन राम्रो नहुनुको कारण नयाँ नगरपालिका र स्रोत अभाव हो । फोहोर व्यवस्थापनका लागि जग्गा खरिद भएपनि व्यवस्थित रुपमा काम गर्न नसकिएको देउमाईका कार्यकारी अधिकृतको जिम्मा पाएका छविलाल खतिवडाले बताए । काम त हुँदै आएका छ तर बजेट अभावले धेरै गर्न सकिएको छैन खतिवडा भन्छन्– ‘बजार क्षेत्रको फोहोर व्यवस्थापन गर्ने काम भइरहेको छ । 
मल प्रशोधन केन्द्र अलपत्र

यति मात्र होइन इलाम नगरपालिकको फोहोर फाल्ने गरिएको स्थानभन्दा करिब १ सय मिटरमात्र तल दातृ निकायको सहयोगमा कम्पोष्ट मल प्रशोधन केन्द्र बनाइएपनि प्रयोगमा आउन सकेको छैन् । सिम–एनको १३ लाख, स्थानीयको २ लाख र नगरपालिकाको ६ लाख गरी कुल २१ लाख रुपैंयाँको लागतमा बनाइएको प्रशोधन केन्द्र ६ महिनाभन्दा लामो समयसम्म संचालन हुन सकेन । वि.स २०७० सालमा निर्माण सम्पन्न गरिएको प्रशोधन केन्द्र वि.सं.२०७१ फागुन देखि वार्षिक २५ हजार रुपैयाँ शुल्क नगरपालिकालाई बुझाउने शर्तमा जागृति नेपाल नामक संस्थाले लिजमा लिएको थियो तर सम्झौता १ वर्षभन्दा लामो समयसम्म टिक्न सकेन र अहिले प्रशोधन केन्द्र झाडीले पुरिएर नदेखिने अवस्थामा पुगेको छ । प्रशोधन केन्द्रसम्म पुग्ने बाटोमा समेत बोट विरुवाहरु उम्रिएका छन् । 
प्रशोधन केन्द्रभित्र फोहोर कुहाएर मल बनाउन प्रयोग गरिने अधिकांश ब्लकहरु फुटेका छन भने केही ब्लकमा हालिएको फोहोरहरु कुहिएर मल बनिसक्दा समेत निकालिएको छैन् ।  इलाम नगरपालिकाका वातावरण अधिकृत कमल मैनाली भन्छन् “फोहोर प्रशोधन केन्द्र टाढा भएकाले प्रयोगमा आउन नसकेको हो हामी अर्को प्रशोधन केन्द्र निर्माणका लागी जग्गा खोज्ने प्रक्रियामा छौ । जग्गा फेला पर्ने बित्तिकै निर्माण थालिने छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment