काकाकुल बन्दैछन इलामका चुरेबासी


इलाम, २७ पुसः इलामको दक्षिणी चुरे क्षेत्रका गाविसहरूमा मुहान सुकेसँगै खानेपानीको हाहाकार भएको छ । संवेदनसिल क्षेत्रको वन फडानीले भु–क्षय र पहिरोले पानीका मुहान पुर्ने र हिउँदमा मुहान सुक्ने गरेकाले ५० हजार सर्वसाधारण खानेपानीका लागि खोला र खोल्सा धाउन बाध्य छन् । प्राकृतिक कुवा, धारा सुकेसँगै इलामको दक्षिणी चुरे क्षेत्रका बासिन्दाले खानेपानीको अभाव झेलेको बर्षौ बित्यो । गाउँमा रहेका पानीका मुहान सुकेसँगै दक्षिणी चुरे क्षेत्रका बासिन्दाका लागि खोला र खोल्साका किनार पानीका श्रोत भएका छन् । मुहान सुकेसँगै खानेपानीका आयोजनाका धाराहरुमा कमिला कुद्न थालेका छन् । 
संवेदनसिल भु–वनोट चुरे क्षेत्रमा जंगल फडानी, अव्यवस्थित बसोबास, विकास निर्माण र मानविय अतिक्रमणले पानीका मुहान सुकेपछि स्थानीयबासीले खानेपानीका लागि घण्टौ धाउनुपरेको  महमाईका देविभक्त कुमालले बताए । चुरे क्षेत्रमा पर्ने दानाबारी, महमाई, चुलाचुली, चिसापानी, साकफारा, बाँझो, इभाङ गाविसमा वन फडानी बढेसँगै बर्षातमा हुने भु–क्षय र बाढी पहिरोले पानीका मुहान पुरिने र सुक्ने गरेका हुन् । बर्षौदेखि उपभोग गर्दै आएको पानीको श्रोत सुकेपछि चुरे क्षेत्रका बासिन्दाले खोला किनार तथा खेतमा टुवेल, इनार बनाई वर्षातमा धमिलो र हिउँदमा बालुवासरीको पानी खान बाध्य छन् । आयश्रोत हुनेले टुवेल, इनारको पानी मोटरबाट घरमै पानी तान्छन् भने नहुनेले खोला किनार नै धाउँने गरेको दानाबारीका तेजबहादुर घिमिरेले बताए ।
 ५० हजार बढी जनसंख्याको बसोबास रहेको चुरे क्षेत्रको खानेपानी समस्या समाधानका लागि सरकारी निकायबाट प्रयास गरेपनि दिर्घकालसम्म पानी हुने मुहान नहुँदा धेरै खानेपानी आयोजना अलपत्र छन् । वर्षातमा कुवा तथा धारामा पानी हुने गरेपनि दक्षिणी चुरे क्षेत्रका गाउँ विकास समितिहरूमा हिउँदयामसँगै खानेपानी समस्या सुरू भएको छ । चर्को घाम र खडेरीका कारण दिनप्रतिदिन खानेपानीका मुहान सुक्न थालेपछि समस्या बढ्दै गएको हो । पानीको संकट परेसँगैँ विद्यार्थीहरू विद्यालयमा तिर्खा लाग्दा पिउनका लागि घरैबाट बोतलमा पानी ल्याउने गर्छन् भने कोही नजिकका गाउँ पसेर पानी मागेर पिउने गर्छन् । चुरे क्षेत्रका विद्यालयमा खानेपानी अभाव हुँदा तिर्खा लाग्दा पिउने र विद्यालय सरसफाईमा समस्या हुने गरेको दानाबारीका तेजबहादूर घिमिरे बताए । विद्यालय परिसरमा खानेपानी नभएकै कारण दानाबारीको कन्काई उच्च मावि, दिपज्योति प्रावि, महमाईको विरेन्द्र निमावि लगायतका विद्यालयका विद्यार्थीहरू घरैबाट बोतलमा खानेपानी बोकेर विद्यालय जान बाध्य भएका हुन् । विद्यालयले गाउँबाट खोजेर एक गाग्रो पानी ल्याए पनि गर्मीको हिउँदमा समस्या हुने गरेको हो । कन्काई उच्च माविका शिक्षक खेमराज लिम्वू विद्यालय छुट्टिका बेला विद्यार्थी पानी खान नजिकको गाउँ जाने गरेकाले पढाईमा समेत समस्या हुने गरेको बताउँछन् । उनी भन्छन्– ‘पानी खान गएका विद्यार्थी कक्षामा ढिलो गरेर आउने गरेकाले पुनःकक्षा सञ्चालन गर्न विद्यार्थी पर्खनुपर्छ ।’
अत्याधिक वन फडानी र खानेपानीको मुहान संरक्षण नहुदा चुरेक्षेत्रका पानीका मुहानहरू सुक्दै जान थालेपछि पानीको अभाव बढ्न थालेको हो । चुरे क्षेत्रमापर्ने चुलाचुली, दानाबारी, महमाई, साकफारा, बाँझो गाविसमा अहिले खानेपानी पानीको अभाव देखिन थालेको हो । दानाबारीको २, ३, ४, ५ र ७ नम्बर वडालाई समेट्ने गरी झण्डै दुई दशकअघि एडिबीको सहयोगमा एक करोड ६७ लाख रुपैंयाँ लागतमा निर्माण भएको झुत्रे खानेपानी आयोजना अन्तर्गत निर्माण भएका चार सय २२ धारामध्ये अहिले ८÷१० वटा मात्र धारामा मुस्किलले पानी झर्ने गरेको छ । आयोजनाको प्रायः सबै धाराहरू भत्किएर गएका छन् भने बाँकीमा दानाबारीको शितली बजार क्षेत्रका स्थानीयले मर्मत गरी जेनतेन पानी प्रयोग गर्दै छन् ।
दानाबारीको–३ को गङ्गटे, ९ को माझीटार र महमाईको कलकते चुलीका बासिन्दा अहिले पानीको बढी समस्या जटिल छ । खोला छेउका बासिन्दाले खोला किनारमा खाल्डो खन्ने र ट्युवेल गाडेर भए पनि पानीको समस्या टार्दै आएको  दानाबारीका तेजबहादूर भन्छन्– ‘पहिले खोला किनारका गाउँमा १० फिट जति खन्दा पानी निस्कन्थ्यो तर, अहिले २५÷३० फिट खन्नुपर्छ ।’ चुलाचुली ६, ७ र ८ का बासिन्दा समेत खानेपानीको अभाव खेपिरहेका छन् । भएका खानेपानीका मुहान र कुवा समेत दिनप्रतिदिन सुक्दै गएकाले समस्या जटिल बन्दै गएको हो । खानेपानी लिन घण्टौं धाउनुपर्ने र पालो कुर्नुपर्ने चुलाचुली–७ आइतबारेकी नरमाया बुढाथोकीले बताइन् । गाईवस्तुलाई पानी खुवाउन पनि उत्तिकै समस्या छ ।
महमाईको १, २ र ३ नम्बर वडालाई लक्षित गरी सुनगाभा विकास संस्था इलामले खानेपानी आयोजना सम्पन्न गरेपनि हिउँदयाममा खानेपानीका मुहान सुकेकाले समस्या भएको महमाई–१ का धनवीर योङहाङले बताए । ‘बर्खामा त दुःख सुख पानी खाइन्छ तर हिउँद लाग्ने बित्तिकै मुहान सुक्दै गएपछि समस्या जटिल बन्दै जान्छ, योङहाङले भने ‘यतिबेला दुई÷चार महिना यहाँ खानेपानीको ठूलै समस्या पर्छ ।’
पुराना खानेपानी आयोजनाका मुहान सुकेपछि धारामा पानी राम्ररी आउन छोडेको महमाईका सन्तराम योङहाङले बताए । गाउँ छेउका मुहान सुक्दै गएका कारण अधिकांशले खोलाको पानी उपभोग गर्ने गरेका छन् । मुहान सुक्न थालेपछि चुरे क्षेत्रका बासिन्दालाई खानेपानीको समस्या वर्षेनी चर्को बन्दै गएको हो । बस्ती नजिकका मुहान सुकेको र टाढाका मुहानबाट पानी ल्याउन नसकिएकाले यहाँका बासिन्दालाई खाना पकाउन, सरसफाइ गर्न र वस्तुभाउलाई पानी दिन कठिनाई हुन थालेको सुव्वाले बताए । महमाईको लोसे भन्ने गाउँमा गाईवस्तुलाई पानी खुवाउन केराको दाम्चा पेल्ने गरिएको छ ।
वर्षेनी वनजङ्गल मासिदै गएकाले पानीका मुहान सुक्दै गएको सर्वसाधरणको ठहर छ । यस क्षेत्रका बासिन्दामा चुरे क्षेत्रका वन मासिएकै कारण खानेपानीका श्रोत घटेको थाहा भएपनि वन विनाश रोक्न कुनै पहल भएको देखिंदैन् । सामुदायिक वन दिनप्रतिदिन विनास हुने क्रमले पनि खानेपानीको अभाव वर्षैपिच्छे बढ्दै गएको स्थानीयको गुनासो छ । चुरे क्षेत्रमा पानीका श्रोत जोगाउन सहयोग पु¥याई रहेका रूख विरूवा फडानी हुने क्रम बढेकाले पनि पानीका श्रोत सुक्दै गएका छन् । त्यसैले अनियन्त्रित वन फडानी र खडेरीका कारण एक पछि अर्को गर्दै बर्षेनी मुहान सुक्दै गएकाले चुरेक्षेत्रको संरक्षण र खानेपानीको व्यवस्थाका लागि सरकारी निकायले आजैबाट काम गर्नुपर्ने देखिन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

1 comments:

  1. कहाली लाग्दाे छ अवस्था केही समयपछि हाम्राे गाँउ उजाड बन्न लागेकाेमा दुख लागेकाे छ ।

    ReplyDelete