इलामका दुध उद्यमीलाई सरकारको डेढ करोड

इलाम, २८ पुसः व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले इलामका उद्यमीहरुलाई डेढ करोड बराबरको परियोजना प्रदान गरेको छ । जिल्ला पशुसेवा कार्यालय इलाम मार्फत नेपाल सरकारको कृषि विकास मन्त्रालय अन्तरगत सञ्चालित प्याक्टले इलामका उद्यमीहरुलाई दुधजन्य पदार्थको उत्पादन, प्रसोधन र वितरणको लागि परियोजना प्रदान गरेको हो । एडिवीको सहयोगमा विगतका दिनहरुमा पनि इलामका किसान तथा उद्यमीहरुलाई विभिन्न परियोजना मार्फत जिविकोपार्जनमा सहयोग पु¥याउन महत्वपूर्ण परियोजनामार्फत सहयोग गर्दै आएकोमा यसटक भने नितान्त नेपाल सरकारको बजेटमार्फत इलामका उद्यमीहरुलाई परियोजना दिने तयारी गरेको हो । १० लाख रुपैयाँ प्रदान गरिने परियोजना प्रस्तावना आह्वान गरिएतापनि हाल प्रति व्यवसायिक फर्म र सहकारीहरुलाई न्युनतम तीन लाख र अधिकतम ४ लाखसम्म उपलब्ध गराउन लागिएको जिल्ला पशुसेवा कार्यालय इलामका प्रमुख डाक्टर पशुपति ढुङ्गानाले बताए । 
घ्यू, छुर्पी, चिज उत्पादन गर्दै आएका व्यवसायिक डेरीहरु, सहकारी संस्थाहरु र फर्महरुले प्रस्तावना पेश गरेकोमा उनीहरुसँग सम्झौता गर्ने तयारी गरिरहेको समेत डा. ढुङ्गानाले जानकारी दिए । विभिन्न फर्म तथा सहकारी संस्थाहरु गरि इलामका कुल ३७ वटासँग अनुदान सम्झौता गरिने तयारी अघि बढेको छ । परियोजना प्रस्तावना छनौट भएका फर्महरु तथा सहकारीहरु क्षेत्रगत आधारमा इलामका सबै क्षेत्र कभर गरेको छ । परियोजना प्रस्तावना माग गरिदा इलामका ४५ वटा फर्महरुले आवेदन पेश गरेका थिए । आवेदकले पानीको ट्यांकी निर्माण, अत्याधुनिक गोठ निर्माण, क्रिम सेपरेटरको माग, डेरी भवन निर्माण, मर्मत सम्भार गर्न, सोलार ड्रायर, छुर्पी च्याप्ने हाड्रोलिक मेसिन, डिप फ्रिज तथा दुधको प्रसोधनको लागि समेत परियोजना पेश गरेका थिए । आवेदकलाई १० लाख रुपैयाँ उपलब्ध गराउन नसक्ने भएपछि आवेदकहरुले अनुदान प्राप्त हुने रकम बमोजिमको साना तथा मझौला उद्यमका लागि परियोजना पुर्नलेखन गरिरहेका छन् । उपलब्ध गराईने रकमले सानो परियोजना मात्र सञ्चालन गर्न सम्भव भएको जितपुरका एक उद्यमी राम मगरले बताए । उनले साना तथा मझौला उद्यमीको लागि यस अनुदान कार्यक्रम सहायसिद्ध हुने आशा गरे ।
परियोजना सम्झौता भइसकेपछि फर्महरुले शुरुमा सार्वजनिक सुनुवाई गर्नुपर्ने नियम छ । परियोजना सम्पन्न गरिसकेपछि मात्र फर्म र सहकारीले रकम भुत्तानी पाउने व्यवस्था गरिएको छ । आवेदकले कुल परियोजनाको ७५ प्रतिसत रकम अनुदान पाउने व्यवस्था रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment