आजदेखि पार्किङ शुल्क उठाइने, घुमन्ते व्यापारीक गाडीले पनि शुल्क तिर्नुपर्ने

इलाम, २९ पुसः इलाम नगरपालिकाले विगत ५ महिनादेखि उठाउन नसकेको पार्किङ शुल्क अब उठाउने भएको छ । नगरपालिकाले ठेक्का प्रकृयाबाट पार्किङ शुल्क उठाउनका लागि विभिन्न अवरोध सहनुपरेपछि अमानतबाट पार्किङ शुल्क उठाउने निर्णय गरेको हो । इलाम नगरपालिकाले कार्यालयको नगर प्रहरी टोली खटाई अमानतबाट पार्किङ शुल्क असुल्न थालेको हो । २२ औं नगर परिषद्बाट पारित राजश्वको दररेट बमोजिम आज (माघ १ गते)बाट शुल्क उठ्ने भएको छ । 
अब इलाम नगरपालिकाले बसपार्क, ट्याक्सी स्ट्याण्ड, साङरुम्बा जाने बाटो, भानुरत्न चोक, चोकबजार र नगरपालिकाले तोकेको अन्य पार्किङ स्थलबाट कर उठाउने छ । पार्किङ शुल्क बापत नगरपालिकाले बस, ट्रक, ट्रा्याक्टर, माइक्रोबस र मिनीबसको लागि रु ४० तथा कार, जीप, पिकअप, भ्यानको लागि रु २० शुल्क लिनेछ । इलाम नगरपालिकाले एक सुचना जारि गरि पार्किङ शुल्क सङ्कलनको लागि सहयोग गरिदिन सबै सरोकारवालाहरुसँग अनुरोध समेत गरेको छ । बाटो छेकेर पार्किङ शुल्क उठाउन प्रहरीले अवरोध गरेपछि ६ महिनादेखि इलाम नगरपालिकाले पार्किङ शुल्क उठाउन पाएको थिएन । 
बाटो छेकेर पार्किङ शुल्क उठाउन बसेका ठेकेदारका कर्मचारीलाई प्रहरीले पक्राउ नै गरेपछि नपा र प्रहरीको बेमिलाप सतहमा छल्किएको थियो । 
नगरपालिकाले सुचना नै जारि गरेर पार्किङ शुल्क र व्यवसाय शुल्क उठाउने बताएछि ठेक्का सम्झौता गरिएका ठेकेदारको ठेक्का रद्द भएको अर्थ लागेको छ । यस आर्थिक बर्षमा इलाम नगरपालिकासँग ठेक्का सम्झौता गरेर पनि रद्द हुदा उनी प्रत्यक्ष रुपमा मारमा परेका नै छन्, ढिलो गरि मात्र कर असुली हुने हुँदा नगरबासी अप्रत्यक्ष रुपमा मारमा परेका छन् । 
व्यवसाय कर अन्तरगत गाडीबाटनै व्यवसाय गर्ने घुमन्ते ट्रकहरुलाई प्रतिपटक रु १०००, पिकअपलाई प्रतिपटक रु ५००, भ्यानलाई प्रतिपटक रु २५० र घुमन्ते व्यापारी व्यक्तिलाई प्रतिमहिना रु २०० व्यवसायिक कर असुल्ने इलाम नगरपालिकाको सुचनामा उल्लेख छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment