एकतप्पा, १९ पुष ः इलामको एकतप्पामा क्लोथ बैंक इलामले बालबालिकालाई जाडोमा न्यानो कपडा वितरण गरेको छ । गाउँ विकास समिति एकतप्पाको आयोजना तथा इलाम सोसियल इनिसिएटिभ क्लोथ बैंक इलामको प्रायोजनमा मङ्गलबार दुई सय जना बालबालिकालाई लत्ताकपडा वितरण गरिएको हो ।
क्लोथ बैंकले जाडो बढ्दै जाँदा अति विपन्न, अपाङ्गता भएका बालबालिकालाई कपडा वितरण गरेको क्लोथ बैंकका सचिव विभुषण राईले जानकारी दिए । वडा नागरिक मञ्चका संयोजकहरुको छनौटमा गाविस कार्यालय दोकानडाँडामा भव्य कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको हो । जाडोमा लगाउने स्वेटर, ज्याकेट, ट्राउजर, ट्रयाकसुटलगायतका लत्ताकपडा वितरण गरिएको हो । गाविस सचिव निर्मल तिमलसिनाको अध्यक्ष तथा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशिलकुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, क्लोथ बैंकका कोषाध्यक्ष विमल एक्तेन, अर्जुन मगर, स्मारिका श्रेष्ठ तथा समाजसेवीहरुको उपस्थिति थियो । कार्यक्रममा गाविस सचिव तथा प्रमुख अतिथिले सबैभन्दा कम उमेरका बालकलाई कपडा वितरण गरी कार्यक्रमको उद्घाटन गरे ।
राजनीतिक दलको तर्फबाट नेकपा माओवादी केन्द्रका रविन्द्रप्रसाद राईले क्लोथ बैंकले जाडोमा न्यानो कपडा वितरण गरेर विपन्न तथा अपाङ्गता भएका बालबालिकालाई ठूलो राहत पुगेको विचार व्यक्त गरे । यसैबिच एकतप्पा–६ मा रहेको प्रहरी चौकीमा नवनिर्मित नागरिक सहायता कक्ष (प्रतिक्षालय) को प्रहरी उपरीक्षक सुशिलकुमार यादवले उद्घाटन गरे । गाउँ विकास समितिको एक लाख १८ हजार नौ सय रूपैयाँ तथा जनश्रमदानमा प्रतिक्षालय निर्माण गरिएको प्रहरी सहायक निरीक्षक मदनबहादुर यादवले जानकारी दिए ।
0 comments:
Post a Comment