सरकारी स्तरबाटै लौठसल्लाको व्यवसायिक खेती

इलाम, २० पुसः क्यान्सरको औषधीका लागि प्रयोग हुने लौठसल्लाको सरकारी स्तरबाट इलाममा व्यवसायिक खेती सुरु भएको छ । अन्तराष्ट्रिय बजारमा अत्याधिक माग रहेको लौठसल्लाको सरकारले पहिलोपटक व्यवसायिक रुपमै खेती सुरु गरेको हो । क्यान्सर रोगीलाई दिइने औषधी ट्याक्सोल बनाउन लौठसल्लाको पात प्रशोधन गरी प्रयोग गरिन्छ । अन्तराष्ट्रिय बजारमा महङ्गो मूल्यमा बिक्री हुने लौठसल्ला वन तथा भू–संरक्षण मन्त्रालयले व्यवसायिक खेतीका लागि कार्यक्रम स्वीकृत गरी काम गर्न जिल्लामा बजेट पठाएको जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठले बताए । सरकारले व्यवसायिक जडिबुटी खेती बृद्धि गर्न कार्यक्रम र बजेट दिएपछि इलाममा पकेट क्षेत्र नै छनौट गरी जडिबुटीको खेती सुरु गरिएको छ । समुन्द्र सतहको दुई हजार देखि तीन हजार मिटरसम्म खेती गर्न सकिने लौठसल्ला इलामको जोगमाई, माइमझुवा, माइपोखरी र पुवामझुवा गाविस पकेट क्षेत्र घोषणा गरिएको हो ।  लौठसल्लाको व्यवसायिक खेतीका लागि चालु आर्थिक वर्षमा किसान, सामुदायिक तथा कवुलियती वन समूह, जडिबुटी उद्यमी र व्यवसायीलाई अनुदान प्रदान गर्ने कार्यक्रम छ । साइटिस अनुसुचि २ मा रहेको लौठसल्ला कच्चा पदार्थको रुपमा सोझै निकासी गर्न नपाइनाले नेपालमा सेमी प्रशोधन गरी अमेरिका र जर्मनी निकासी हुन्छ । १८ वटा जडिबुटीको व्यवसायिक खेती गर्न सकिने इलाममा लौठसल्लासँगै चिराइतोको पनि पकेट क्षेत्र घोषणा गरी व्यवसायिक खेती प्रर्वधन गरिने जिल्ला वन अधिकृतले श्रेष्ठले बताए । लौठसल्ला र चिराइतो प्रर्वधनका लागि भनेर चालु आर्थिक वर्षमा जिल्ला वन कार्यालयले ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment