चियाबारी डबली
सौन्दर्य भन्नेबित्तिकै महिलाका लागि मात्र चाहिने विषय हो भन्ने धेरैलाई लाग्ने गरेको छ । सुन्दरतासँग सम्बन्धित उत्पादनहरू महिलाकेन्द्रित छन् । संसारमा नाम चलेका सौन्दर्य सामग्री उत्पादक कम्पनीहरूले महिलालाई ध्यानमा राखेर नै आफ्ना उत्पादन बजारमा पठाउने गरेका छन् । महिलाले मात्र प्रयोग गर्ने गाजल तथा लिपस्टिकबाहेक अन्य सौन्दर्य सामग्री पुरुषका लागि पनि उपयोगी हुन्छन् । टेलिभिजन तथा सिनेमामा काम गर्ने पुरुषका लागि मेकअप गर्दा उनीहरूका लागि पनि फाउन्डेसन क्रिम लगाउनुपर्ने हुन्छ । अनुहार चम्किलो देखाउन विभिन्न किसिमका क्रिम लगाउनुपर्ने हुन्छ । पुरुष र महिलाको छालाको प्रकार फरक–फरक हुने होइन ।
छालाको प्रकृति (स्किन टाइप) को कुरा गर्दा ड्राई, ओइली र नर्मल गरी तीन प्रकारमा विभाजन गरेर हेर्ने गरिन्छ । केही सौन्दर्य सामग्री उत्पादक कम्पनीले पुरुष र महिलाको छालाको टाइप फरक–फरक हुने र त्यसका लागि सौन्दर्य सामग्री पनि फरक हुन्छ भनेर प्रचार गरिरहेका हुन्छन् । यो व्यापार बढाउने काइदा मात्रै हो । मेडिकल साइन्समा छालाको प्रकार महिला र पुरुषको भनेर छुट्याइएको हुँदैन् ।
पुरुषहरू आफ्नो अनुहारको छालामा डन्डीफोर, चायापोतो तथा दाग आउँदा चिन्तित हुन्छन् । तर, पुरुष भएर पनि अनुहारलाई लिएर चिन्ता गर्ने भनेर साथीभाइले खिसी गर्छन् भन्ने ठानेर बेवास्ता गर्नेहरू धेरै भेटिन्छन् । सौन्दर्यको कुरा गर्दा लाज मान्नेहरू धेरै छन् । आफ्नो समस्यालाई लुकाएर राख्ने धेरै छन् । महिलाले जस्तै पुरुषले पनि आफ्नो अनुहारको छालाको प्रकृतिअनुसार चिकित्सकको सल्लाहमा क्रिम छनोट गरेर प्रयोग गर्ने हो भने अनुहारको छाला स्वस्थ र राम्रो राख्न सकिन्छ । सुन्दरताले जो कोहीलाई पनि उसको आत्मविश्वासको तह बढाउन मद्दत गर्ने भएकाले सुन्दर हुन खोज्नुलाई सकारात्मक रूपमा लिनुपर्ने हुन्छ ।
छालाको सुन्दरतासम्बन्धी परामर्शका लागि आउने १० जनामा एक जनामात्र पुरुष हुने गरेको अनुभव मसँग छ । खास गरेर अनुहारको छालाको सुन्दरतालाई लिएर साह्रै कम पुरुष हामीजस्ता छाला रोग विशेषज्ञकोमा आउने गरेका छन् । सामान्य हेरचाह गर्दा सुन्दर राख्न सकिने छालालाई बेवास्ताकै कारण बिगार्नेहरू धेरै छन् । कुन उमेरदेखि छालामा बढी म्वइस्चराजर चाहिन्छ र कुन सनस्क्रिन प्रयोग गर्दा छालालाई घामको नकारात्मक प्रभावबाट मुक्त राख्न सकिन्छ भन्ने सामान्य जानकारी लिने हो भने पुरुषहरूले पनि आफ्नो अनुहारको छालालाई सुन्दर राख्न सक्छन् ।
छालामा आउने चाउरी तथा चायापोतोका प्रकृति महिला र पुरुषमा एकै किसिमको हुने भएकाले उपचार पनि उस्तै विधिबाट गर्नुपर्ने हुन्छ । छाला ड्राई, ओइली वा नर्मल कुन हो, त्यहीअनुसार क्रिम, जेल वा अक्वा जेल के लगाउने ? त्यो छालारोग विशेषज्ञले सामान्य चेकजाँच गरेर परामर्श दिन सक्छन् । पुरुषहरू लुकीलुकी क्रिम लगाउने तथा खुलेर चाहिँ म यो क्रिम प्रयोग गर्छु भन्न लाज मान्ने किसिमका हुन्छन् । अनुहारमा क्रिम लगाउन लाज मान्नुपर्ने कुनै कारण छैन् । छाला रोग विशेषज्ञसँग भेटेर आफ्नो छालालाई सुट गर्ने क्रिम प्रयोग गर्ने हो भने कम खर्चमै अनुहारको छालामा चमक ल्याउन सकिन्छ । त्यसैले पुरुषहरूले विज्ञापनको पछि लागेर पुरुषको छालाका लागि भनिएका महँगो क्रिम किन्नुको साटो आफूलाई पायक पर्ने छाला रोग विशेषज्ञसँग परामर्श गरेर क्रिम लगाउने हो भने अनुहारको छालाको उचित स्याहार गर्न सकिन्छ । सुन्दर देखिनका लागि पुरुषले लाज मान्नुपर्ने कुनै कारण छैन । प्रतिस्पर्धी अहिलेको जमानामा स्मार्ट तथा सुन्दर मानिसहरू नै आफ्नो करिअरमा अघि बढ्न सक्छन् । सुन्दर देखिन गरिने उपचार कसैलाई देखाउनका लागि मात्रै होइन भन्ने बुझ्न जरुरी छ । गुप्ता छाला रोग विशेषज्ञ हुन् ।
0 comments:
Post a Comment