इलाम, ६ माघः अस्थायी काठको पुलबाट खोला वारपार गर्दै आएको जुमना र सुलुबुङबीचको माईखोलामा पक्की पुल बन्ने भएको छ । झन्डै डेढ दशकदेखि स्थानीय प्रयासमा सडकको ट्रयाक खोलेर सवारी आवागमन हुँदै आए पनि पक्की पुल नहुँदा स्थानीयले सास्ती बेहोर्दै आएका थिए । स्थानीयले खोलाको दुवैतर्फ पर्खाल लगाएर काठको मुडा तेस्र्याउँदै सवारी आउजाउ गर्ने व्यवस्था मिलाएका छन् । माग गरेको लामो समयपछि यो पटक भने पुल बन्ने पक्का भयो । स्थानीय विकास मन्त्रालयको डोलिडार कार्यक्रममार्फत ३ करोड १७ लाख रुपैयाँ लागतमा पुल बन्ने भएको हो । खोला वारिपारि दुवैतर्फको एप्रोज रोड पनि बन्ने भएको छ । योसहित मेची राजमार्गको राजदुवालीमाथि बनिसकेका र बन्दै गरेका पक्की पुलको संख्या सात हुने भएको छ । सुम्वेकसँग जोडिएको प्याङमा भने अझै पक्की पुल बन्ने निश्चित छैन । जमुना, सुलुबुङ, प्याङ र मावुवासीसमेत लाभान्वित हुने उक्त पुल निर्माणपछि त्यस क्षेत्रका पर्यटकीय स्थलमा पनि पर्यटक पुग्न सक्ने स्थानीयले आशा गरेका छन् । त्यस क्षेत्रमा रहेका ढापपोखरी, हाँगेथाम, चोयाटार, थुम्के, जौवारीलगायत पर्यटकीय क्षेत्रमा पुग्न यो पुल भएर सहज हुने स्थानीय बताउँछन् । स्थानीयले निर्धारित समयमा पुल निर्माण सक्न र गुणस्तरीय बनाउन ध्यान दिन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । स्थानीय प्रशासनले कच्ची पुलबाट सवारी चलाएको थाहा पाएपछि तत्काल सवारी आवागमन रोक्न निर्देशन दिएको थियो । ‘पुरानो पुललाई पनि व्यवस्थित गरेर नयाँ नबनुन्जेल काम चलाउने योजना बनाएका छौं,’ प्राविधिक कर्यालयप्रमुख ओमराज ढुंगानाले भने, ‘खोला वारिपारिको अप्ठेरो भूभागको सडक पनि खोलिनेछ ।’ त्यस क्षेत्रको बाटो जोखिम रहेकाले दुर्घटनासमेत हुने गरेको छ । बर्सेनी बाढीले पुल र पर्खाल बगाउने गरेकाले स्थानीय स्रोतसँगै गाविसले पनि ठूलो रकम खर्चनुपर्ने बाध्यता रहँदै आएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment