मानव बेचबिखनः पीडितको मौनताले दलाललाई सधैं उन्मुक्ति

इलाम, २१ पुस ः वैदेशिक रोजगारीका लागि खाडी मुलक लैजाने भन्दै उदयपुरका आठ जना महिलालाई दलालले एक महिनाअघि भारतको कोलकाता पु¥याए । माइती नेपालले यी महिला दलालको फन्दामा परेको र बेचिन सक्ने भन्दै उद्दारका लागि कोलकातास्थित महावाणिज्य दुतावासलाई गुर्हायो । लामो प्रयासपछि दुतावास र माइती नेपाल ती महिलाको उद्दार गर्न सफल भयो । उनीहरुलाई गैरकानुनी रुपमा भारत लैजाने गिरोहलाई कानुनी दायरामा ल्याउन माइती नेपालले गृहकार्य पनि ग¥यो । तर, नेपाल फर्काइएका ती महिलाले आफूलाई लैजाने दलालका बारेमा केही बोल्दै बोलेनन् । मुद्दा फितलो भयो र पीडकले उन्मुक्ति पाए । अनि माइती नेपालले आफन्त बोलाएर ती महिलालाई जिम्मा लगाउनु शिवाय पीडकलाई कानुनी कठघरामा उभ्याउन सकेन । घरेलु कामदारका लागि भनेर सिन्धुपाल्चोकका दुई किशोरीलाई भारतको बाटो हुँदै कुवेत लिएर हिँडेका तीन जना एजेण्टलाई काँकरभिट्टामा माइती नेपाल र प्रहरीले रोक्यो । यी एजेण्ट हुन् भन्ने थाहा हुँदाहुँदै पनि ती महिलाले उजुरी नगरेका कारण प्रहरीको हातैबाट ती फुत्किन सफल भए । यी केही प्रतिनिधि उदारहणमात्र हुन् । आफैंलाई लगेर बेच्ने, नारकीय जीवन जीउन बाध्य पार्ने दलालबारे धेरै पीडित केही बताउँनै मान्दैनन् । उनीहरुको यस्तो मौनताले मानव ओसारपसार गिरोहको जालो भत्काउन मात्रै कठिन भएको छैन, अपराध दर पनि बढेको बढ्यै छ । माइती नेपाल पूर्वाञ्चल क्षेत्रीय कार्यालयका संयोजक गोविन्द घिमिरेका अनुसार ‘पीडितले आफूलाई लैजाने गिरोहका बारेमा चुइँक्क नबोल्दा पीडकले सजिलै उन्मुक्ति पाउने गरेका छन् ।’ ‘अहिले दलालहरु पनि पुरै बाठा भइसके’ क्षेत्रीय संयोजक घिमिरे थप्छन्— ‘वैदेशिक रोजगारका लागि भन्दै अवैधरुपमा विदेश लैजाने महिलाहरुका आवश्यक कागजात एजेण्टले शुरुमै आफ्नो नियन्त्रणमा लिने गरेका कारण पीडितले समयमै न्याय नपाउने र आरोपीले तत्कालै सफाइ पाउने गरेका छन् ।’ 
तर, पीडितले उनीहरु विरुद्ध सम्बन्धित प्रहरी कार्यालयमा जाहेरी नदिँदा ती दलाललाई उम्किन सजिलो भएको घिमिरेको भनाई छ । अवैधरुपमा विदेश पठाउने विरुद्ध मुद्धा दर्ता भए पनि पीडितको असहयोग र प्रमाण अभावमा मुद्दा कमजोर हुने सम्बद्ध संघ–संस्थाले जनाएका छन् । मानव वेचविखन जस्तो संवेदनशील मुद्दाको सुनुवाई गर्दा प्रमाण अभावमा न्याय दिन समस्या हुने, मानव बेचविखनका मुद्दा असफल हुने र घटनामा संलग्न व्यक्तिहरुले सफाई पाउने भएकै कारण पनि मानव तस्करीका घटना नियन्त्रण हुन नसकेको ती संघ संस्थाको निचोड छ । पीडित पक्षले किटानी जाहेरी नदिएसम्म उनीहरुलाई शंकाका भरमा नियन्त्रणमा लिएर अनुसन्धान गर्न नमिल्ने क्षेत्रीय संयोजक घिमिरे सुझाउँछन् । पीडित पक्षको असहयोगकै कारण झापामा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी दर्ता भएका मुद्दाका २७ जना आरोपी अझै प्रहरी नियन्त्रण बाहिरै छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी  हरिप्रसाद शर्माका अनुसार बितेको आर्थिक वर्ष २०७२÷०७३ मा दर्ता भएका मुद्दाका प्रतिवादी फरार भएका हुन् । त्यो वर्ष झापामा मानव बेचविखन तथा ओसारपसार सम्बन्धिका २४ वटा  मुद्दा दर्ता भएका थिए । जुन संख्या अघिल्लो आर्थिक वर्ष २०७१÷७२ को तुलनामा ११ वटाले बृद्धि भएको हो । त्यो वर्ष १३ वटा उजुरी परेको शर्माले बताए । बितेको आर्थिक वर्ष २०७२÷०७३ मा प्रतिवादीको संख्या ६१ जना रहेको र ३४ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको शर्माको भनाई छ । प्रहरीले त्यो वर्ष २६१ जनाको उद्दार गरेको थियो । 
प्रहरीले लामो अनुसन्धान पश्चात मानव बेचिएको यकिन गरे पनि पीडित पक्षको असहयोगका कारण मुद्दा फितलो हुने गरेको अनुसन्धान अधिकृतहरुको भनाई छ । ‘पीडित आफैं कार्यालयमा आएर बयान खुलाई लेखाइदिए पश्चात अदालतबाट बयान प्रमाणित भएमात्र अनुसन्धान शुरु हुन्छ, यो कानुनी प्रक्रिया हो’ डिएसपी शर्माले भने— ‘पीडित पक्षले पछि केही पो गरिहाल्छन् कि भनेर जाहेरी नै दिन मान्दैनन्, स्वयम् पीडितले जाहेरी नदिए कसरी अनुसन्धान गर्ने ?’ उद्दार गरिएका चेलिबेटीले आफ्नै इच्छाले विदेश जान लागेको बयान दिने, मुख्य एजेण्टहरु विदेशमै बसेर टेलिफोनलगायत सामाजिक सञ्जाल मार्फत महिलासँग सम्पर्क गर्ने, पीडितहरुले एजेण्टको नाम नबताउने, अदालतमा वकपत्र हुँदा उपस्थित नहुने, अभियुक्तहरुको सञ्जाल ठूलो हुने तर मुद्दाको अनुसन्धान गर्ने म्याद २५ दिनमात्र हुने भएकाले मुख्य अभियुक्तसम्म पुग्न समयको अभाव हुने प्रहरीको भनाई छ । 
प्रहरीका अनुसार यस्ता दलालले महिलालाई फकाएर लैजाने बेलामा सबैको ‘ब्रेन वास’ गरेका हुन्छन् । त्यही  भएर स्वयम् पीडित पक्ष गिरोहका विरुद्ध खुलेरै कारबाही गर्न अघि बढ्दैन । यसैका कारण एउटै व्यक्ति धेरै घटनामा संलग्न हुने गरेको पनि पाइएको छ ।
माइती नेपाल पूर्वाञ्चल क्षेत्रीय कार्यालयका अनुसार सन् २०१६ को जनवरीदेखि डिसेम्बर १२ तारिखसम्म पूर्वी नेपालको काँकरभिट्टा नाका हुँदै विदेशिन लागेका २९५ जनालाई नाकामा रोकेर आफन्तको जिम्मा लगाइएको छ । ‘यसमध्ये ७० देखि ८५ प्रतिशतलाई वैदेशिक रोजागरीका लागि भन्दै दलालले लिएर हिँडेका थिए’ कार्यालयका परामर्शदाता हेमन्ता बुढाथोकी भन्छिन्– ‘काँकरभिट्टा नाका भएर दलालले भारतीय भूमि हुँदै विदेश लैजाने गरेका छन् । तर, सरकारले भारतीय भूमि हुँदै महिलालाई वैदेशिक रोजगारका लागि खाडी लैजान प्रतिबन्ध गरेको छ ।’ कार्यालयले यस अवधिमा रोजगारीका लागि भन्दै बेचिएका ५ जनालाई उद्दार गरेको जनाएको छ । घटनामा संलग्न धेरैलाई कानुनी कठघरामा उभ्याएको माइती नेपालको दावी छ । 
काँकरभिट्टा नाकालाई मानव दलालले ‘ट्रान्जिट प्वाइन्ट’ बनाएका छन् । त्यस्तो गतिविधिलाई नियन्त्रण र निस्तेज पार्न स्थानीय प्रहरी प्रशासन, माइती नेपाल, साना हात, विश्व सेवा विस्तार संस्थालगायतका आधा दर्जन संघ–संस्था नाकामा क्रियाशील छन् । प्रहरी प्रशासन र मानव तथा चेलीबेटी बेचबिखनविरुद्ध लामो समयदेखि सक्रिय संघ संस्थाले निगरानी गर्नाले धेरैलाई उद्दार गर्न सफल भएको माइती नेपालका पूर्वाञ्चल क्षेत्रीय संयोजक घिमिरे बताउँछन् । नेपालमा बढ्दो बेरोजगारी तथा अशिक्षा र जनचेतनाको कमिलगायतका कारण दलालहरुको आर्थिक प्रलोभनमा परेर विदेशिने गरेको उनको भनाई छ । शुरुमा वैदेशिक रोजागारीका लागि भने पनि पछि दलालले बिक्री गरेर हिडेँपछिमात्र धेरैजनाले आफू बेचिएको थाहा पाउने गरेको घिमिरे बताउँछन् । वैदेशिक रोजगारीको आडमा मानव तस्करी फस्टाउँदा समस्या बढ्ने गरेको छ । वैदेशिक रोजगारीमा गएका महिला जोखिममा पर्ने गरेको उनी बताउँछन् ।  
पतिसँग सम्बन्धबिच्छेद गरेर बसेका महिलाहरु, हेपिएका वा घरेलु हिंसाबाट पीडित भएकाहरु, दुर्गम गाउँका विपन्न चेलिबेटीहरु जोखिम अवस्थाका बालबालिकाहरु, अभिभावक छाडेर गाउँबाट शहर पसेका रेष्टुरेण्टहरुमा काम गर्ने किशोरीहरु तस्करको निशानामा पर्ने गरेको प्रहरीले जनाएको छ । यस्तालाई प्रलोभन देखाई सहजरुपमै बेचबिखन गर्न सकिने भएकाले उनीहरु सजिलै तस्करको निशानामा पर्ने गरेका हुन् । वैदेशिक रोजागरीप्रति युवायुवतीको आकर्षण बढेसँगै मानव तस्करको ठूलो गिरोह वैदेशिक रोजगारलाई आधार बनाएर त्यसैका आडमा बेचबिखनमा सक्रिय रहेको छ । वैदेशिक रोजगारमा गएकाहरु अधिकांश मानव बेचबिखनमा रुपान्तरण हुने गर्दछन् । लामो समयदेखि मानव तथा चेलीवेटी बेचबिखन विरुद्ध काम गरिरहेको माइती नेपालका अनुसार विशेषगरी वैदेशिक रोजगारीमा जान सरकारले प्रतिबन्ध लगाएका नाकाबाट जानेहरु बढी फन्दामा परेका छन् । माइती नेपालका पूर्वाञ्चल क्षेत्रीय संयोजक गोविन्द घिमिरेका अनुसार  नेपालमा बढ्दो बेरोजगारी तथा अशिक्षा र चेतनाको कमी लगायतका कारण दलालहरुको आर्थिक प्रलोभनमा परेर विदेशिने गरेका छन् । सिन्धुपाल्चोक, काभ्रे, दोलखा, नुवाकोट सिन्धुली, सुनसरी, मोरङ्ग, इलाम, झापालगायत विभिन्न जिल्लाकाहरु  यस्तो पीडामा पर्ने गरेको सम्बन्धित संघ संस्थाले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment