इलाम, २५ माघः इलाम सदरमुकाममा मंगलबार आयोजित एक कार्यक्रमका वक्ताहरुले कच्ची सडकमा दर्गुने ल्याण्डरोभर गाडी पहाडी भुभाग भएको इलाम जिल्लाको लागि लाईफलाइन नैं भएको धारणा व्यक्त गरेका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक तथा निर्देशकहरु इलाम आएको अवसरमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा उठेको नेपाल सरकारले बीस वर्षे पुराना गाडी विस्थापन गर्ने विषयमा सहभागीहरुले ल्याडरोभर गाडी बारे आ–आफ्नो धारणा राखेका थिए । इलाम उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कट्टेलले जिल्लाका विभिन्न कुनाकाप्चामा उत्पादन भएका कृषिजन्य सामाग्रीहरु बजारसम्म ल्याएर इलामको अर्थतन्त्र धान्न ल्याण्डरोभरले खेलेको भूमिकाको चर्चा गरे । उनले ती सामाग्रीहरु जुनसुकै मौसममा गाउँघर पुगेर ढुवानी गरेको उत्पादनले नेपालमा इलामलाई कृषिको अग्रणी जिल्ला बनाउन महत्वपुर्ण भूमिका खेलेको बताए । नेपाल तरुण दलका इलाम अध्यक्ष नरेश श्रेष्ठले जिल्लामा हुने राजनैतिक कार्यक्रममा भाग लिनको लागि ल्याण्डरोभरको भर पर्नु परेको बताए । कच्ची सडक भएको कारण गाउँघरका वडा वडाहरुमा पुग्न त्यसैको भरोसा लिनु परेको र आसन्न तीन तहको निर्वाचनको प्रचारप्रसारका लागि पनि ल्याडरोभरकै भर पर्नु पर्ने बताए । संचारकर्मी भिम चापागाईंले विभिन्न समयमा आफुले लेखेको समाचारमा ल्याडरोभरले इलाम जिल्लामा पु¥याएको योगदानको उल्लेख गरेको बताए । उनले जिल्लाको पर्यटन र कृषि क्षेत्रको विकासमा ल्याडरोभरको विकल्प नभएको बताए ।
मेची पहाडी पर्यटन विकास समितिका अध्यक्ष केशब द्यौरालीले जिल्लाका दुर दराजमा रहेका पर्यटकीयस्थलहरुसम्म पुग्नका लागि पर्यटकहरुले ल्याडरोभर नै चढ्नु पर्ने बाध्यता रहेको बताए । जिल्लाका भित्री भागमा रहेको सडकहरुको अवस्था सुधार नभएसम्म नयाँ सवारी साधनहरु कच्ची बाटोमा चलाउन मुस्किल पर्ने बताए । नेपाली कांग्रेस महासमिति सदस्य चन्दा कार्कीले उपत्यका र तराई भूभागमा जस्तो सहज अवस्था पहाडमा नभएकोले पहाडी जिल्लाहरुमा ल्याडरोभरले पु¥याएको सुविधा कदर गर्दै केही समयसम्म संचालन गर्नु दिनु पर्नेमा जोड दिईन् । नेकपा माओवादी केन्द्रका जीवन शर्माले केन्द्रीय सरकारले देशका अन्य भूभागहरुलाई ध्यान नदिई बीस वर्षे सवारी साधन विस्थापित गर्ने निणर्य गरेको तर त्यो निणर्य मुलुक संघियता तर्फ उन्मुख भईसकेको अवस्था आ–आफ्नो प्रदेशको अनुकलता हेरेर पुराना गाडी विस्थापित गर्ने कि स्थापित गर्ने अधिकार सोही प्रदेशलाई दिनु उपयुक्त हुने धारणा राखे ।
नेकपा एमालेका महेश बस्नेतले काठमाडौंमा मानिसहरुबाट गाडी बोकाएर लगेर चढेका थिए तर काठमाडौं भन्दा अघि इलाममा मोटर कुदाएर प्रवेश गरेको बताउँदै पुराना सवारी साधनहरुको प्राविधिक पक्षलाई ध्यान दिएर सवारी चलाउन दिन उपयुक्त भएको बताए । उनले इलाम जिल्ला विकास समितिको अभिलेख अनुसार जिल्लामा चौबीस सय देखि तीन हजार किलोमिटरको हाराहारीमा कच्ची सडक रहेको र ती सडकमा चलन सक्ने सवारी भनेकै ल्याडरोभर भएको हुँदा प्राविधिक पक्ष हेरेर चलाउनका लागि यातायात व्यवस्था विभागले नीतिगत तहमा कुरा पु¥याउनका लागि विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठलाई अनुरोध समेत गरे । नेपाली कांग्रेसका केदार थापाले पछिल्लो समयमा ल्याडरोभर गाडी बेलायतीहरुले खरिद गरेर आफ्नो देशमा लैजाने गरेको बताए । दोस्रो विश्वयुद्ध ताका निर्माण भएको यो गाडी बेलायतीहरुले सजाउनका लागि लैजाने गरेको समेत बताए ।
जिल्लाका पुर्वी गाविसमा उत्पादन भएका कृषि उपजहरु ढुवानी गर्न भारतीय नम्बरका ल्याडरोभर आउने गरेको र त्यहाँ उक्त सवारी साधनलाई संरक्षण गरेर राखेको अवस्थामा नेपालमा पनि सिमित संख्यामा रहेको ल्याडरोभर संरक्षण गर्नु पर्ने बताए । इलाममा यातायात सेवा कार्यालय स्थापना गर्दा समयका प्रमुख अनोज घिमिरेले ल्याडरोभर इलामका गाउँहरुमा सवारीको साधन मात्र नभएर एम्बुलेन्सको पनि पर्याय रहेको बताए । कार्यक्रममा महानिर्देशक श्रेष्ठले इलामबाट ल्याडरोभर संचालन गर्न पाउनु पर्ने विषयको ज्ञापन पत्र विभागलाई विगतमा प्राप्त भएको र उक्त विषयलाई मन्त्रीपरिषदको बैठकमा पेश गर्ने बेलामा सरकार परिवर्तन भएकोले प्रकृया अगाडि बढ्न नसकेको बताए । उनले इलाममा ल्याडरोभर दिगो संचालन गर्नका लागि राजनैतिक दल, पेशागत संगठन, व्यवसायीहरु ऐक्यवद्धता रहेको र पुनः यस्तो ऐक्यवद्धता सहित ज्ञापनपत्र बुझाएमा सरकारलाई झक्झक्याउन सकिने बताए । महानिर्देशक श्रेष्ठले देशमा सवारी साधन निर्माण गर्ने कलकारखाना नभएको हुँदा पुराना गाडी विस्थापित गरी नयाँ आयात गर्दा विदेशी मुद्रा बाहिरिने अवस्था आउने बताए । उनले त्यसैले सात वटै प्रदेशमा सवारी चेकजाँच गर्ने प्रविधि स्थापना गरिने बताए । ‘विशेष निणर्य मार्फत ल्याडरोभर संरक्षण गर्न सकिन्छ, यो पहाडी भुभागका लागि निर्विकल्प सवारी साधन हो ।’– महानिर्देशक श्रेष्ठले भने । कार्यक्रममा विभागका निर्देशकद्धय चन्द्रप्रसाद फुएल र प्रेम सिंह, मेकानिकल इन्जिनियरद्धय मोहनप्रसाद भट्टराईको उपस्थिति रहेको थियो । पुर्वेली जीप तथा ट्याक्सी व्यवसायी संघको आयोजनामा संचालन गरिएको तथा अध्यक्ष गृष्म सुब्बाको अध्यक्षतामा भएको थियो ।
0 comments:
Post a Comment