‘इलामलाई बाल श्रम मुक्त जिल्ला बनाउन पहल


इलाम, ३ फागुनः इलाम जिल्लामा बाल श्रमिकको अवस्था भयावह नरहेको पाइएको छ । जिल्लाका प्रमुख इलाम बजार, फिक्कल, मंगलबारे र नेपालटार बजारका होटल, सुन पसल, ग्यारेज, कलकारखाना र सवारी साधनमा गरिएको अनुगमनको क्रममा इलाममा बालश्रमिकको रुपमा एकजना पनि बालबालिका नरहेको भेटिएको जिल्ला बाल कल्याण अधिकारी स्किम श्रेष्ठले बताईन । उनका अनुसार इलाम बजारका ८० वटा होटलमा गरिएको अनुगमनको क्रममा १४ वर्ष मुनिका २ जना त्यसभन्दा माथि १८ वर्ष उमेर सम्मका पन्ध्रगरी १७ जना बालबालिका काम गरिरहेको भेटिएको थियो । जसमध्ये २ जना बालबालिका पनि आफन्तकोमा बसेको र उनीहरु विद्यालय समेत जाँदै गरेको तथा पन्ध्रजनाले होटलबाट उचित पारिश्रमिक लिइरहेको पाइएको श्रेष्ठको भनाई छ । यसैगरी साँखेजुङ्गमा १४ वर्ष मुनिका एक र १४ वर्ष माथिका एकजना भेटिएको थियो भने सूर्योदय नगरपालिकामा ३६ वटा होटल अनुगमन गर्दा १४ वर्ष मुनिका २ जना र त्यसभन्दा माथिका एकजना भेटिएका थिए । उता देउमाई नगरपालिका क्षेत्रका होटलमा गरिएको अनुगमनमा भने एकजना बालबालिका पनि बालश्रमिकको रुपमा नराखेको पाइएको छ । अनुगमनका भेटिएका बालश्रमिकमध्ये बालक १० जना र बालिका १० जना रहेका छन् । यसरी अनुगमनमा बालश्रमिकको रुपमा भेटिएका बालबालिका मध्ये विद्यालय जाने ९ जना रहेका र नजाने १९ जना रहेका छन् । जुन १४ देखि १८ वर्ष उमेर समुहका बालबालिका रहेका छन् । तर उनीहरुलाई उचित पारिश्रमिक दिएर काममा लगाएको पाइएको श्रेष्ठको भनाई छ । कतिपय अभिभावकले आफ्ना बालबालिकाले मिठो खान पाउँछन, राम्रो लाउन पाउँछन् भन्ने आशामा शहर बजारका होटल लगायत विभिन्न क्षेत्रमा काम गर्न पठाएको पाइन्छ । 
कतिपय अभिभावकहरूले बालबालिकाहरूको कल्याण गरेको नाममा घरेलु श्रम, होटल तथा साना चिया पसलमा बालबालिकाको प्रयोग गरिरहेको छ । यस्ता घटना इलाममा नपाएपनि यसरी बालबालिकाहरूलाई श्रममा संलग्न गराउनु कानुनी रुपमा अपराध रहेको श्रेष्ठको भनाई छ । जिल्लामा बालश्रमिकहरु भए नभएको बारेमा अझै पनि अनुगमनलाई कडाइका साथ लगिने जनाउँदै इलाम जिल्लालाई बालश्रममुक्त जिल्ला बनाउन पहल गरिरहेको उहाँको भनाई थियो । यस्तै अनुगमनको क्रममा आफन्तकैमा बसेर भएपनि उचित पारिश्रमिक लिएर तथा विद्यालय जाँदै काम गर्दै आएका बालबालिकाको अवस्थाको बारेमा पनि निरन्तर फलोअप गरिरहने श्रेष्ठले बताईन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment