काठमाडौं, २६ माघः नेपाली कांग्रेसनिकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनले पत्रकार महासंघबाट गैरपत्रकारलाई मनलाग्दी सदस्यता वितरण भएको भन्दै तत्काल निर्णय सच्चाउँन आग्रह गरेको छ । पत्रकार महासंघले हुकुमी पारामा गैरपत्रकारलाई वितरण गरेको नयाँ सदस्यता खारेज नगरे अप्रीय स्थिति आउन सक्ने युनियनको चेतावनी छ । गैरनेपाली नागरिकलाई समेत सदस्यता दिएर महासंघले आफ्नो गरिमा गिराएको आरोप लगाउँदै युनियनले तत्काल सदस्यतामाथि पुनर्विचार गर्न आग्रह गरेको हो । युनियनले जारी गरेको विज्ञप्तिमा देशभर नयाँ सदस्यता वितरणमा असन्तुष्टि राख्दै गुनासो गर्नेहरुको संख्या बढिरहेको उल्लेख गर्दै पत्रकारिता पेशाबाट पलायन भइसकेकाहरुको समेत सदस्यता नवीकरण गरेकोप्रति आपत्ति जनाइएको छ ।
‘महासंघ आफैंले बनाएको कार्यविधिलाई समेत कुल्चेर सदस्यता वितरण र नविकरणमा मनपरि गरिएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘संस्थागत रुपमा महासंघलाई कब्जा गर्ने र फरक विचार राख्नेहरुलाई सदासर्वदा वाहिर राख्ने उद्देश्यबाट महासंघको नेतृत्व उद्यत छ ।’ पत्रकार महासंघको सदस्यता विरतरणप्रति असन्तुष्टि राख्दै विभिन्न जिल्लाहरुमा आन्दोलन भएका छन् । पत्रकार महासंघको जिल्ला शाखाहरुमा अधिवेशन तथा केन्द्रमा महाधिवेशन नजिकिँदै जाँदा सदस्यता वितरण र नवीकरणको विषयमा पार्टीनिकट पत्रकारहरुले आन्दोलन गरिरहेका छन् ।
0 comments:
Post a Comment