सन्दकपुर, ८ चैतः छ दशकभन्दा लामो समय कच्ची अवस्थामा रहेको इलामको रामसार पर्यटकीय क्षेत्र माइपोखरी जाने बाटो कालोपत्रेको कामले तीब्रता पाएको छ । सडक कालोपत्रे कार्यले निरन्तरता पाएसँगै अब बाह्रै महिनाभरि रामसार पर्यटकीय क्षेत्रमा आवतजावत गर्न सकिने भएको हो । उत्तरी इलामको पर्यटकीय स्थलहरु टोड्के झरना, छिन्टापु, सन्दकपुरसम्म पुग्ने यो सडकको निर्माणसँगै इलामको उत्तरी क्षेत्रका पर्यटकीय गन्तव्यमा बाह्रै महिना सहज आवागमन हुने स्थानीय घनेन्द्र लुइँटेल बताउँछन् । सडकको स्तरोन्नति नहुँदा वर्खाको समयमा रामसार क्षेत्र घुम्न आउने पर्यटकहरुले हिलाम्मे बाटो हुँदै यात्रा गर्नुपर्ने बाध्यता थियो । २००७ सालअघि सन्तवीर बडाहाकिमले ट्रयाक खोलेपछि गाडी कुद्न थालेको सो सडक खण्डको स्तरोन्नतिका लागि सरकारले चासो नदिँदा रामसार क्षेत्र माइपोखरी पुग्ने पर्यटकहरुले सास्ती भोग्दै आएका थिए ।
बिव्ल्याँटेदेखि ३ किलो मिटर सम्मको दूरी खनाल कन्स्ट्रकसन प्रालि इलामले ३ करोड १२ लाख रुपैंयाँको ठेक्कामा कालोपत्रे गर्ने काम थालेको हो । २ वर्षअघि थालिएको सडकको काम अहिले अन्तिम चरणमा पुगेको खनाल कन्स्ट्रक्सनका सुमन खनालले जानकारी दिए । ठेकेदार कम्पनीले सुरु सुरुमा गुणस्तरहीन काम गरेको भन्दै स्थानीयले गुनासो गरेपछि अहिले भने सडकको काम गुणस्तरको भएको स्थानीय ख्याम आचार्य बताउँछन् । बरबोटे–माईपोखरी सडक खण्डको काम गुणस्तरीय भइरहेको डिभिजन सडक कार्यालय इलामका इन्जिनियर ध्रवकुमार झाको भनाइ छ । उनी भन्छन्, ‘जिल्लाभरिको काम अहिले अनुगमन भइरहेको छ र यो सडकको काम पनि राम्रो भएको छ कम गुणस्तरीय काम भएको केही ठाउँमा फेरि बेस हाल्न लगाइनेछ ।’ नियमित अनुगमन भइरहेकोले काम राम्रो भएको डिभिजन सडकका सुपरभाइजर दुर्गा दुलालले बताए । रामसार क्षेत्रसम्म पुग्न बाँकी रहेको ८ किलोमिटर बाटोको पनि क्रमशः आगामी वर्षहरुमा काम हँुदै जाने पनि उनले बताए । यो सडक हुँदै इलामको उत्तरी क्षेत्रका पर्यटकीय स्थलको यात्रा गर्न सकिनेछ ।
0 comments:
Post a Comment