इलाम, २९ फागुुन । सरकारले स्थानीय तह कार्यान्वयन गरेको घोषणा गरे पनि सर्वसम्मत सिफारिस गरिएको भन्दा अव्यवहारिक ढंगले हेरफेर गरिएपछि इलाममा समस्या भएको छ । सिफारिस गरिएको भन्दा फरक ढंगले चारवटा गाउँपालिका केन्द्र परिवर्तन र केहि स्थानमा गाउँ र नगरपालिकाको भूगोल परिवर्तन गरिएकाले स्थानीय आक्रोशित भएका हुन् ।
सन्दकपुर गाउँपालिकाको केन्द्र अपायक स्थानमा तोकिएको भन्दै आइतबार सुलुबुङ गाविस भवनमा भेला भएका त्यस क्षेत्रका बासिन्दाले नयाँ तोकिएको स्थान कायम गरिए वहिष्कार गर्ने निर्णय गरेका छन् । नवघोषित गाउँपालिका केन्द्रमा साविक माइपोखरी गाविसको कार्यालय तोकिएको छ । तर स्थानीय तह प्राविधिक सहयोग समितिले देउराली बजार कायम हुने गरी केन्द्र तोकेको थियो । तत्काललाई देउराली बजार केन्द्र कायम गरेर सेवा प्रभाव गर्न आग्रह गर्दै भेलाले स्थानीय चुनावपछि सवै वडालाई केन्द्रविन्दु पर्ने गरी केन्द्र कायम गर्ने सहमति गरेको छ ।
हाल माइपोखरी गाविसको साविक गाविस कार्यालय भने इलाम नगरपालिकामा गाभिएको छ । साविक माइपोखरीको–३मा सन्दकपुर गाउँपालिका केन्द्र कायम गर्ने गरी स्थानीय तह घोषणा गरिएको हो । माइपोखरी गाविसको १ देखि ३ नम्बर वडालाई इलाम नगरपालिकामा गाभिएको छ भने ४ देखि ९ नम्बर वडालाई सन्दकपुर गाउँपालिकामा सामावेश गरिएको छ । ‘सुरुमा पनि सन्दकपुर गाउँपालिकालाई प्रस्ताव गरिएको थिएन,’ माइझुवाका तुलाराम गुरुङले भने, ‘स्थानीयले कडा प्रतिरोध गरेपछि यो गाउँपालिका कायम गर्न सहमति जुटेपनि केन्द्रको विवाद चलाएर पुनः समस्यामा पारएको छ ।’ जमुना, सुलुबुङ, माइमझुवा र माइपोखरीका छ वटा वडा मिलाएर यो गाउँपालिका घोषणा गरिएको हो ।
प्राकृतिक स्रोत साधनसहित जलविद्युत, पर्यटन, कृषिलगायत हरेक क्षेत्रको प्रचुर सम्भावना रहेको यो क्षेत्रलाई अन्य गाउँपालिका र नगरमा समेत समाहित गर्ने उद्देश्यले विवाद निम्त्याउने काम गरिएको हुन सक्ने देउराली बजारका प्रेम नाछिरिङले बताए । भेलाले सरकारले तोकेबमोजिम कुनै पनि हालतमा केन्द्र स्विकार नगर्ने भन्दै आज सोमबार सम्बन्धित निकायमा केन्द्र हेरफेरका लागि ज्ञापन पत्र बुझाउने निर्णय गरेको सुलुबुङका हरि लुङ्गेलीले बताए । सरकारले लागू गरेको स्थानीय तह अनुसार जिल्लामा तीन नगरपालिका र ४३ गाविसको संरचना खारेज भई चार नगरपालिका र छ गाउँपालिकाको कार्यान्वयन भएको हो । इलाम नगरपालिका, देउमाई नगरपालिका, सुर्योदय नगरपालिका र माई नगरपालिका कायम भएका हुन् । त्यस्तै सन्दकपुर, फाकफोकथुम, माङसेबुङ, रोङ, माइजोगमाई र चुलाचुली गाउँपालिका घोषणा भएका हुन् । फाकफोकथुम गाउँपालिकाको केन्द्र फाकफोक ९ साप्तिनमा सिफारिस गरिएकोमा राजपत्रमा आमचोक गाविस तोकिएको छ । चुलाचुली गाउँपालिकाको केन्द्रसमेत हेरफेर भएको छ । चुलाचुली गाउँपालिकाको केन्द्र चुलाचुली ७ सिफारिस गरिएकोमा राजपत्रमा साविकको चुलाचुली गाविस हुने व्यवस्था गरिएको छ । माङ्सेबुङ गाउँपालिकाको केन्द्र इभाङ ६ चतुरे सिफारिस गरिएकोमा राजपत्रमा साविकको इभाङ गाविस नै केन्द्र हुने व्यवस्था छ ।
‘सिफारिश गरिएको भन्दा फरक कायम भएकाले स्थानीयस्तरमा नै अन्तरविरोधको समस्या बढेको छ,’ इभाङका जनम राईले भने । प्रस्तावित कतिपय क्षेत्रमा गाउँपालिकालाई नै नछुने गरी सिफरिश गरिए भन्दा फरक ढंगले भूगोल निर्धारण गरिएको छ ।
0 comments:
Post a Comment