माइभ्याली गोल्डकप पुर्वी पहाडी जिल्लाको सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हो । फुटबल खेलको विकासको लागी वि.सं.२०७१ सालदेखि वर्षेनी इलाममा माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघको संयुक्त आयोजनामा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका क्लबहरुलाई घरेलु मैदानमा आमन्त्रण गरेर अन्तराष्ट्रिय आमन्त्रण टुर्वोग माइभ्याली गोल्डकप आयोजना गरिरहेको छ । एन्फा क्यालेन्डरमा ए प्लसमा रहेको प्रतियोगिताको पुरस्कार राशी निरन्तर बढाइदै लगिएको छ । तेश्रो संस्करणमा २ विदेशी सहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको सम्बन्धमा माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङसँग चियाबारी सहकर्मी नमीन ढकालले गरेको कुराकानी ।
माइभ्याली गोल्डकपको कन्सेप्ट कसरी सुरु भयो ?
माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघको संयुक्त आयोजनामा प्रतियोगिता सुरुवात गरिएको हो । विद्यालय स्तरमा अध्ययनरत राष्ट्रका कर्णधार युवा विद्यार्थीहरु कुलत र दुव्र्यसनमा फस्ने गरेको पाइएपछि विद्यार्थीलाई सकारात्मक रुपमा अगाडी कसरी बढाउने भन्ने सल्लाह भएपछि वि.सं.२०७१ सालमा क्लबको पुर्नगठन गरियो । नगर, जिल्ला र राष्ट्रलाई सबल नागरिक कसरी उत्पादन गरेर दिने भनेपछि त्यसको असल माध्यम फुटबल भएकाले क्लबलाई पुर्नगठन गरिएको हो । त्यसअघि पनि भुकम्प पिडित स्मृति कपको नाममा वि.सं.२०५४ साल अघि खेलाइदै आएको थियो । देशको राजनीति र विभिन्न परिस्थितीका कारण १७ वर्षदेखि प्रतियोगिता स्थगित थियो । त्यसपछि माइभ्याली स्र्पोटिङ क्लब भनी गठन गरिएको थियो । स्र्पोटिङ क्लबले खेलका विभिन्न विधाहरु समेट्नुपर्ने भएकाले फुटबल मात्र ‘फोकस’ गरेर माइभ्याली फुटबल क्लब बनाएर गोल्डकपको सुरुवात गरिएको हो । सुरुको संस्करणमा १ लाख ५० हजार प्रथम पुरस्कार र ७५ हजार द्धितिय पुरस्कार राखेर प्रतियोगिता आयोजना गरिएको थियो ।
तेश्रो संस्करणको माइभ्याली गोल्डकपमा नयाँ के छ ?
तेश्रो संस्करणमा हामीले खेल मैदानलाई नरम बनाएका छौ । दोश्रो संस्करणसम्म कडा मैदान थियो । मैदानलाई लेबलमा ल्याउन सम्याउने प्रयास गर्दा दलसिंङ ढुङ्गा भेटियो मेसिनले काटन नसकिने भएपछि माटो हालेर नरम बनाइएको हो । एन्फा टेक्निकल कमिटीले समेत स्तरोन्नति गरी नरम बनाउनुका साथै अन्तराष्ट्रिय मापदण्डको बनाउन नसक्ने भए प्रतियोगिता आयोजना रोक्ने बताएपछि चौर रोपियो, १७०० ट्रयाक्टर बढी माटो हालेर फिलिङ गरिएको छ जसले गर्दा प्रतिभावान खेलाडीलाई कौशल देखाउन सहज हुनेछ । पहिलो र दोश्रो संस्करणमा चौडाइ पुगेको थिएन अहिले ६० मिटर चौडाइको बनाइएको छ । लम्बाइ समेत अन्तराष्ट्रिय मापदण्डको १०५ मिटरको बनाइएको छ । स्तरिय क्लबलाई प्रतियोगितामा सहभागी गराउन सफल भएका छौ । जेष्ठ नागरिक, विद्यार्थीलाई छुट्टै बस्ने स्थान बनाइएको छ । अघिल्लो संस्करणमा सहभागी गराउन नसकिएको मनाङ मस्याङदी र संकटालाई समेत यस संस्करणमा इलामको मैदानमा देख्न सकिन्छ । यस संस्करणमा सर्वोत्कृष्ट खेलाडीलाई यामाहाको १५० सीसीको मोटरसाइकल, सर्वाधिक गोलकर्तालाई नगद २५ हजार र प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद ७ हजार प्रदान गरिने भएको छ । पुरस्कार पनि बढाइएको छ । अघिल्लो संस्करणमा प्रथम पुरस्कार ३ लाख र द्धितिय पुरस्कार १ लाख ७५ हजार रहेकोमा यस संस्करण सो राशी ४ लाख र २ लाख ५० हजार पु¥याइएको छ ।
प्रतियोगिता निरन्तर संचालनका लागी आम्दानीका स्रोतहरु के के छन ?
प्रतियोगिता संचालनका लागी मुख्य स्रोत भनेको टिकटको आम्दानी नै हो । पुर्वी पहाडी जिल्लाको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता भएकाले पनि दर्शकहरुको माया अपेक्षा गरे अनुरुपको छ । ६० हजार भन्दा बढी दर्शकले प्रत्यक्ष यो खेल अवलोकन गर्दै आएका छन । त्यसपछि देश विदेशमा रहेको इलामेलीहरुको सहयोग र प्रायोजकहरुको सहयोग नै हो । पहिलो संस्करणबाट नै प्रतियोगिताको प्रथम पुरस्कार सुर्योदय नगरपालिका जहरसिँह गाउँका तारा र रोजु सापकोटाले प्रदान गर्दै आउनुभएको छ । आगामी दिनमा पनि उहाँहरुको प्रतिवद्धता नै छ । त्यसै गरी यस संस्करणको द्धितिय पुरस्कार बेलायतमा बसोवास गर्ने इलामेलीहरुले प्रदान गर्ने भएका छन । प्रतियोगितका लागी विदेशमा रहने इलामेलीहरुबाट सहयोग आउने क्रम निरन्तर छ । कुल प्रतियोगितामा ८० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छौ त्यसमा २० लाख रुपैयाँ बचत हुने अपेक्षा छ ।
तेश्रो संस्करणपछि फुटबल विकासका के योजना छन् ?
माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघको मुख्य लक्ष्य भनेको इलाममा फुटबलरहरु जन्माउने हो । विद्यालय स्तरमा पढने विद्यार्थीहरु दुव्र्यसनको सिकार पर्ने गरेकाले उनीहरुमा सकारात्मक सोचको विकास गर्न फुटबल क्लब गठन गरिएको हो । प्रतियोगितापछि इलाममा फुटबल एकाडेमी संचालन गर्नका लागी पहिलो औपचारिक बसाईं प्यावसन र एनप्याबसनसँग हुनेछ । एन्फाले पनि यसअघि नै पहाडी जिल्लामा एकाडेमी संचालनका लागी इलामलाई छनौट गरेको थियो । तर एन्फाभित्रकै आन्तरिक विवादका कारण बजेट रोकिएकाले चुपचाप बस्नु परेको हो । लामो समयसम्म विवाद नसुल्झिएपछि अब हामी एन्फाको बाटो मात्र नहेरी इलामको आन्तरिक स्रोतको सदुपयोग गरी एकाडेमी संचालनमा ल्याउने छौ । त्यसको लागी प्यावसन र एनप्यावसनसँग छलफल भइरहेको छ । प्रतियोगितापछि अन्तिम निष्र्कषमा पुग्छ । त्यसको आशय के हो भने माइभ्याली र जिल्ला फुटबल संघले एकाडेमी संचालन गर्ने कम्तीमा २५ जनासम्म फुटबलरलाई छात्रवृति दिएर पढने÷बस्ने व्यवस्था मिलाएर फुटबलको ट्रेनिङ देखि लिएर अन्य कुरोमा उनीहरुलाई सक्रिय बनाउने सोच छ । इलामबाट देशलाई नवयुग श्रेष्ठ जस्ता दर्जनौ फुटबल जन्माएर दिने हाम्रो योजना छ ।
सन् ८० को फुटबल र अहिलको फुटबल खेलमा के फरक पाउनुभयो ?
जतिबेला हामीले फुटबल खेलमा इलामको प्रतिनिधित्व गरिरहेका थियौ त्यस समयमा खेलकुद सामाग्रीको चरम अभाव भोग्नुप¥थ्यो, न त तालिमको व्यवस्था नै थियो । एउटा फुटबल फुटेपछि महिना पर्खनुप¥थ्यो अर्को फुटबलको लागी, बल्लतल्ल पैसा उठाएर नयाँ फुुुटबल खरिद गरिन्थ्यो । अहिले परिस्थिति फरक छ । गाउँ–गाउँमा क्लबहरु छन जिल्लामा फुटबल संघ छ खेलाडीलाई प्राविधिक रुपमा सक्षम बनाउन प्रशिक्षकहरु छन, प्रर्वद्धन गर्ने संघ संस्था छन । खेलकुद सामाग्रीको अभाव छैन । हाम्रो पालामा कहि खेल्न जानुप¥यो भने घरको भात खाएर दिनभरी भोकै बसेर खेल्नुपथ्यो । बारी–बारी चहारेर फलफुल टिपेर पेट भर्नुपर्ने बाध्यता थियो । खेलकुद क्षेत्रमा व्यवसायिकता थिएन । अहिले माइभ्याली क्लबबाट खेल्ने र छनौटमा सहभागीलाई राम्रो खाने बस्नेको प्रबन्ध छ । छनौटमा असफल भएका खेलाडीलाई प्रोत्साहनका लागी विभिन्न खेलकुद सामाग्रीहरु समेत प्रदान गरेका छौ । अब फुटबल खेल व्यवसायिक बन्दै छ भन्ने महसुस गराएका छौ । छिमेकी झापामा मासिक रुपमा तलब भत्ता दिएर खेलाडीहरुलाई प्रोत्साहन गरिरहेको छ । अबको फुटबल व्यवसायिक रुपमा ढालेर बाँच्न सक्ने आधार खडा भएको छ ।
राष्ट्रिय फुटबलमा इलामको योगदान कस्तो छ ?
विगतदेखि नै इलामले धेरै राष्ट्रिय प्रतिभाहरु जन्मायो । जस्तै ८० को दशकमा धिरेन्द्र प्रधान जो हाल एन्फाको महासचिव हुनुहुन्छ उहाँ पनि इलामकै हो । जीवन श्रेष्ठ, मंगेश बस्नेत, विनोद श्रेष्ठ, दर्शन भक्तराजले राष्ट्रमा चर्चा कमाए । त्यसपछि हामीले एन्फा एकाडेमीसम्म पु¥याएका सुवास राई, लोकबन्धु गुरुङले अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी जनाउने अवसर पाए । अहिले पनि विभिन्न ए डिभिजन, बि डिभिनजका क्लबहरुमा इलामका खेलाडीहरुले कौशल देखाइरहेका छन । अहिलेका पुस्ताका नवयुग श्रेष्ठ, छिरिङ गुरुङ, दर्शन गुरुङ लगायतले राष्ट्रिय र अन्तराष्ट्रिय फुटबलका अमिट छाप छोडन सफल भए । इलामले जस्तो सफलता पाउनुपर्ने हो त्यति नभइरहेको कारण हामीले फुटबल क्षेत्रमा ठुलो लगानी गरिरहेका छौ । एकाडेमी इलाममा संचालन भएपछि राष्ट्रिय टोलीमा इलामको प्रतिनिधित्व बाक्लो होस भन्ने चाहना हो ।
पहिलो संस्करण आयोजना गर्दा देखि हालसम्म बारम्बार भोग्नु परेका समस्याहरु कस्ता छन् ?
हामीले प्रतियोगिता आयोजनाका लागी धेरै ठुलो समस्या भोग्नु परेको छ । पहिलो कुरो त खेलमैदानको अभाव हो । हाल प्रतियोगिता आयोजना गरिरहेको ठुलो टुडिखेल नेपाली सेनाको परेड मैदान हो त्यो पनि स्तरिय नभएकाले पहिलो संस्करणदेखि नै स्तरीकरणमा खर्च गर्नुप¥यो । रंगशाला नभएकाले खुल्ला डाँडामा प्रतियोगिता संचालन गर्नुपरेको छ । प्रायोजकसम्म पुग्नका लागी विश्वसनियता थिएन । पहाडी क्षेत्रमा न त रंगशाला छ कसरी लगानी गर्ने भन्नेमा विश्वास दिलाउन निकै कसरत गर्नुप¥यो । वर्तमानमा आएर प्रायोजकको समस्या भने हल भएको छ । इलाममा जस्तो प्रतियोगिता अन्य पहाडी जिल्ला कही पनि हुँदैन फुटबल प्रतियोगिता हेर्न जानुपर्छ भने इलाम जानुपर्छ भन्ने मान्यता स्थापित भएको छ । हामीलाई अर्को मुख्य समस्या भनेको प्याराफिट निर्माण नै हो । बाँसको प्याराफिट निर्माण गरेर खेलाइरहनुपरेको छ त्यसको लागी मात्र वार्षिक करिब साढे ८ लाख रुपैयाँ खर्च हुन्छ । खेल पछि बिक्री गर्दा ३०/४० हजारमा पनि बिक्री हुँदैन । सरकारले यस विषयमा खासै चासो राख्न सकेको छैन । सरकारले नीतिगत निर्णय गरिदिए हामी आफै यहाँ ट्रस्टको प्याराफिट बनाउने थियौ । कम्तीमा १५÷१६ वर्षसम्म टिक्थ्यो । २ वर्षको नाफाले ट्रस्ट बनाउन सकिन्थ्यो बाँकी वर्षको नाफा बचत गरी फुटबल खेलको प्रर्वद्धनका अन्य कार्यक्रमहरु संचालन गर्न सकिन्थ्यो । खेलमैदानमा बजेट कस्ले हाल्ने भन्नेमा अन्योलता कारण हामी रंगशाला बनाउनबाट चुक्यौ । खेलकुद मन्त्रालयमा रंगशाला निर्माणको लागी ‘प्रपोजल’ लिएर जाँदा नेपाली सेनाको मैदान भनी बजेट लगाउन नमिल्ने जवाफ पाउने गरेका छौ । स्तरीकरणको समयमा पनि विभिन्न विकासे कार्यालयमा सहयोग माग्न जाँदा नेपाली सेनाको परेड मैदानमा बजेट छुटयाउन नमिल्ने भन्ने समस्या भोगेका छौ । राष्ट्रिय स्तरका नेताहरु जन्माएको इलामको खेल प्रर्वद्धनमा उनीहरुले खेलकुद र रक्षा मन्त्रालयसँग पहल गरिदिने हो भने इलाममा रंगशाला बन्न त्यति धेरै समय नलाग्ला । यसरी रक्षा र खेलकुद फरक फरक हुन, बजेट हाल्न सकिदैन भन्ने कुरोले इलामेलीहरु बाँसको प्याराफिटबाट माथी उक्सेर फुटबल हेर्नबाट वञ्चित हुने छन् ।

0 comments:
Post a Comment