संविधान कार्यान्वयनको लागी स्थानिय चुनाव अपरिहार्य : नेम्वाङ


इलाम, २७ चैतः नेकपा एमाले संसदीय दलका उपनेता तथा पुर्व सभामुख सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयनका लागी स्थानिय तहको चुनाव अपरिहार्य रहेको बताएका छन । संविधान कार्यान्वयनको चरणमा रहेकाले त्यसको लागी स्थानिय तहको चुनाव हुनुपर्ने नेम्वाङले बताए । रत्न बम प्रतिष्ठानको आयोजनामा देउमाइ नगरपालिका–१ चित्रे (साविक चमैता–६) रत्नकुमार बान्तवाको ३८ औ स्मृति दिवस तथा ६५ औ जन्मजयन्तीको अवसरमा सहिद रत्नकुमार वान्तवा र बमकुमार बान्तवाको शालिक अनावरण र सहिद स्मृति सामुदायिक भवनको उदघाटनमा बोल्दै नेम्वाङले ३ तहको निर्वाचनपछि देशले कोल्टे फेर्ने भएकाले समृद्धशाली राष्ट्र निर्माणको लागी स्थानिय तहको चुनाव आधार बन्ने बताए । उनले संविधान कार्यान्वयनको चरणमा रहेकाले जस्तो सुकै चुनौती देखा परे पनि कार्यान्वयन भइ छाडने बताए ।  एमालेका महासचिव इश्वर पोखरेलले सहिद रत्नकुमार बान्तवा र बमप्रसाद बान्तवाको योगदानले एमालेमाथी उठेकाले उनीहरुको कदर हुनुपर्नेमा जोड दिए । बान्तवाको आन्दोलन समाप्त नभएकाले यसलाई अघि बढाउने अभिभारा एमालेको भएको बताए । उनले रत्न बान्तवाबाट निष्ठाको पाठ सिकेर अघि बढन आग्रह गरे । सोही समारोहमा रत्नबम प्रतिष्ठानले सहिद परिवारका राममाया राई, सहयोद्धा महेश बान्तवा, रत्न बान्तवाकी दिदी देउकला राई, अगमप्रसाद बान्तवा, बमप्रसादका भाई देउप्रसाद बान्तवा, निर्मा शेर्पा र शालिक निर्माण गर्ने बिष्णुप्रसाद श्रेष्ठलाई सम्मान गरेको थियो । कार्यक्रममा सम्मानित नेकपा एमाले अनुशासन आयोगका सदस्य अगमप्रसाद बान्तवाले रत्नकुमार बान्तवालाई सरकारले सहिद घोषणा गरेपनि बमप्रसादलाई सहिद घोषणा नगरिएकोमा दुःख व्यक्त गरे ।
वि.सं.२००८ साल चैत्र २७ गते जन्मिएका रत्नकुमार बान्तवालाई २०३५ साल चैत्र २७ गतेकै दिन तत्कालिन पञ्चायतले इभाङको जंगलमा गोली हानी हत्या गरेको थियो भने बमप्रसाद बान्तवालाई २०३६ साल बैशाख २८ गते साखेजुङ गैरीबासमा हत्या गरिएको थियो । रत्नकुमार बान्तवाको हत्या गरिएको ३७ वर्षपछि वि.सं.२०७२ सालमा सरकारले सहिद घोषणा गरेको थियो । रत्नबम प्रतिष्ठानले कार्यक्रमको आयोजना गरी सम्झिएको थियो । रत्न बान्तवाको निवास स्थल चित्रेमा निर्माण गरिएका सहिद स्मृति भवनमा रत्नका लेख र कृतिहरुलाई समेटेर पुस्तकालय बनाइने प्रतिष्ठानका अध्यक्ष डा.देवी क्षेत्री दुलालले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment