टीका खतिवडा
फिक्कल, २९ चैतः इलामको सुर्योदय नगरपालिका भित्र रहेका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्ने उद्देश्यले मंगलबारदेखि प्रथम सुर्योदय सडक महोत्सव तथा आदिवासी जनजाती खाना तथा सांस्कृतिक उत्सव शुरु भएको छ । स्थानिय होटल व्यवसाय, स्थानिय उद्योग व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले सुर्योदय होटल व्यवसायी संघ र आदिवासी जनजाती महासंघ नगर समन्वय परिषदले सञ्चालन गरको महोत्सवमा स्थानिय स्तरमा उत्पादन भएका दुध, चिया तथा खानाका परिकार स्टलमा राखिएको छ । स्टलमा फुुल, जातिय खाना, तथा व्यवसायिक स्टलहरु समावेश गराइएको आयोजक समितिका सदस्य प्रज्वल प्रधानले जानकारी दिए ।
नेपाल भारत सिमा क्षेत्रबाट ११ किलोमिटरको दुरीमा रहेको सुर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारको सडकमा शुरु महोत्सवमा खाना, कृषि औजार, ढाकाका कपडादेखि मोटर सम्मका स्टलहरु रहेका छन् । सुर्योदयमा श्रीअन्तु, कन्याम, करफोक, पञ्चकन्या, सिमपानी, सुन्दरपानी, लेप्चा गुम्बा, विभिन्न पोखरीहरु, दर्जनौ चिया कारखानाको भ्रमण गराउने संघका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए । महोत्सवको अवसरमा पाहुनालाई खानको स्वाद लिने देखि चिया प्रशोधनको दृष्य समेत अवलोकन गर्ने अवसर समेत प्रदान गर्ने संघका सचिव युवराज प्रधानले बताए ।
महोत्सवमा झुुमा निरौला, सिने गुरुङ्ग तथा व्याण्ड, सुगम पोख्ररेल, मेलिना राई, कालीप्रसाद बाँस्कोटा, मनोज गजुरेल, भूगोल दाहाल तथा किताब व्याण्ड र स्थानीय कलाकारहरुको दुवैदिन प्रस्तुति राख्ने कार्यक्रम रहेको छ । महोत्सव सुरु भएकै दिन मंगलबार पनि उनीहरुको बेजोड प्रस्तुति दिएका थिए । उनीहरुलाई साथ दिँदै उपस्थित दर्शकहरुसमेत सडकमा नै नाच्दै कलाकारहरुलाई साथ दिएका थिए । महोत्सवमा पुर्वाञ्चलका १०० बढि स्टल रहेका छन् । महोत्सवमा विभिन्न प्रकारका खानाका स्वादहरु चखाउने नेपाल आदिवासी जनजाति महासंघ, नगर समन्वय परिषद, सुर्योदय नगरपालिकाका अध्यक्ष सोनाम योल्मोले बताए । उनले महोत्सवको आकर्षण आदिवासी जनजातीको संस्कृति र पृथक परिकारहरु रहेको जानकारी दिए ।
महोत्सवमा विभिन्न जातजातीका झाँकी समेत प्रस्तुुत गरिएको थियो । महोत्सवमा विशेषज्ञ डाक्टरहरुद्वारा निःशुल्क स्वास्थ्य परिक्षणदेखि बैंकका ब्यवसायिक स्टलहरु समेत समावेश गराइएको थियो ।
महोत्सवको अवसरमा पर्यटकीय स्थलहरुको भ्रमणः पर्यटकलाई कन्याम, श्रीअन्तु, सिमपानी, करफोक, कन्याम, पञ्चकन्या मन्दिर लगायतका पर्यटकीय क्षेत्रको भ्रमण गराउने जनाइएको छ । महोत्सवमा एकलाख पर्यटक भित्राउने योजना रहेको छ भने एक करोडको कारोवार हुुने लक्ष आयोजकले लिएको छ ।
मंगलबार महोत्वसको एक कार्यक्रमबिच उद्घाटन गरिएको थियो । संघका अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा इलामका प्रमुुख जिल्ला अधिकारी जनकराज दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेची पहाडी क्षेत्र पर्यटन प्रवर्धन समिति इलामका कार्यकारी निर्देशक केशव द्यौराली, इलामका प्रहरी प्रमुख शुशिलकुमार यादव, इलाम उद्योग वाणिज्य संघ इलामका कोषाध्यक्ष देवेन्द्र शंकर, होटल एशोसिएसन इलामका अध्यक्ष देवी पौडेल, प्याब्सन इलामका अध्यक्ष विकास कर्माचार्य लगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि साथै स्थानियको उपस्थिति रहेको थियो । महोत्सवको बुधबार साँझ समापन गरिने आयोजकले जानकारी दिएको छ ।
0 comments:
Post a Comment