विश्व साईकल यात्रीको यात्रा कथा

ताप्लेजुङको पाथिभरा दर्शन गरेर फर्कने क्रममा साइकल यात्री दिपक खत्री इलाममा भेटिए । गौतम बुद्धको देशबाट शान्ति र सदुभावको सन्देश छर्न साइकल लिएर विश्व भ्रमण गर्न निस्किएका खत्रीले हालसम्म ८० वटा राष्ट्रको भ्रमण गरिसकेको बताए । देशको ७५ वटै जिल्ला भ्रमण गर्ने क्रममा ७ बर्ष पहिले इलाम आएका उनी यसपटक तिर्थयात्राको क्रममा इलाम आइपुगेका हुन् । गरिबीको चपेटामा पिल्सिएको तितो विगतको कथा उनले हामीलाई सुनाए ।
दिपकको जन्म दोलखा जिल्लाको वैत्रेश्वर गाउँपालिका साविकको क्षेत्रपा गाविसमा भएको हो । बैदेशिक रोजगारीको शिलशिलामा १५ बर्ष छुटेका बुबाको हालसम्म परिवारसँग सम्पर्क छैन । एसएलसी सम्मको अध्ययन गाउँमै सकेर प्लस टु पढ्दै आमा र दुईजना बहिनी पाल्न रोजगारी पनि गर्ने सोचेर काठमाण्डौं छिरेका खत्रीले सोचेजस्तो थिएन काठमाण्डौं । कोटेश्वरमा मिनिरल वाटर बेचेर गुजारा चलाए पहिलेपहिले । पछिपछि काठमाण्डौमा हुने ठूला ठूला आमसभामा मिनिरल वाटर धेरै विक्ने सोचेर ठूला सभाहरुलाई उनले आफ्नो लक्ष बनाए । त्यसरी व्यापार गर्दा उनले राम्रै आम्दानी गरे । उनमा अझ धेरै कमाउने र बहिनीहरुलाई नर्स पढाउने सोच आयो । त्यसपछि १७ सय रुपैयाँमा साईकल किनेर पुष्टकारी र तितौरा बेच्न साइकल यात्रा गरे । केहि पछि साइकल यात्रा काठमाण्डौ बाहिर लैजाने सोच आयो । अनि काठमाण्डौ बाहिर हानिएका उनले देशका ७५ नै जिल्ला साइकल यात्रा गर्ने  सोच बनाए । त्यै १७ सय रुपैयाँमा किनेको साईकल लिएर ताप्लेजुङ पुगेका खत्रीलाई त्यहाँका एक गुरुङ थरका होटल सञ्चालकले नगद रु ५ सय चन्दा दिएपछि ताप्लेजुङबासीले पनि उनलाई खुलेर आर्थिक सहयोग गरे । लगभग १५ हजार रुपैयाँ नगद उनले सो समयमा सङ्कलन गरेका रहेछन् । अनि विर्तामोड झरेर १३ हजारमा नयाँ साइकल खरिद गरे । सो साईकल किनेपछि उनले विश्व साईकल यात्रा गर्ने सोच बनाए । विश्वको कुनैपनि कुनामा पुगेपनि त्यहाँ भएका नेपालीहरुले दिल खोलेर आफुलाई सहयोग गरेको उनले बताए । कोरिया यात्राको क्रममा त्यहाँका नेपालीहरुले विश्व साइकल यात्रा सहयोगस्वरुप ७ लाख ९२ हजार रकम सहयोग गरेका थिए । यात्राको क्रममा कैयौ रातहरु चिसो पेटी र जङ्गलमा बिताएको, कति रात भोकै बस्नुपरेको कथा उनले सुनाए । तर विश्वभरबाट पाएको सहयोग, सद्भाव र मायाले उनी सन्तुष्ट छन् । विश्वका १ सय ९५ देशको यात्रा सके पछि सगरमाथा चढ्ने र फाउन्डेसन खोलेर टुहुरा तथा बिपन्न बालबालिकालाई शिक्षा दिक्षा दिने उनले बताउदै आएनि हामीसँगको भेटमा उनले १५० देशको यात्रामात्र गर्ने र सो पछि फाउण्डेसन स्थापना गरि समाजसेवा गर्ने बताए । उनले विश्व यात्राको नियात्रा संस्करण प्रकाशनको तयारीमा रहेको जानकारी दिए ।  विश्व साईकल यात्री दिपक खत्रीलाई सहयोग या सल्लाह सुझाव, प्रोत्साहन दिन चाहनु हुन्छ भने फेसबुकमा sycal yatri dipak मा सम्पर्क राख्न सकिन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment