चुरे क्षेत्रका वन अतिक्रमणको चपेटामा


इलाम, २६ वैशाखः इलाममा चुरे क्षेत्रका वनहरुमा तिब्र अतिक्रमण बढि रहेको छ । जिल्ला वन कार्यालयले अतिक्रमित क्षेत्रहरु पहिचान गरेपनि ति क्षेत्रबाट अतिक्रमण हटाउन सकेको छैन् । चुरे क्षेत्र अन्र्तगतका साविकका चुलाचुली, दानाबारी, महमाई, बाँझो, चिसापानी, लक्ष्मीपुर, जिर्मले, साकफारा, कोल्बुङ, शान्तिपुर क्षेत्रका सामुदायिक वनहरुमा अतिक्रमण हुने क्रम तिब्र रहेको जिल्ला वन कार्यालय इलामले जनाएको छ । सरकारले देशभर ४० प्रतिशत वन क्षेत्र कायम राख्न वन अतिक्रमण नियन्त्रण रणनीति, २०६८ मन्त्री परिषदबाट स्विकृत गरी जिल्ला जिल्लालाई परिपत्र गरेको ५ वर्ष बितेपनि अतिक्रण हटाउन नसकिएको जिल्ला वन कार्यालय इलामले जनाएको छ । कतिपय अतिक्रमित क्षेत्रबाट मानव बस्ती हटाइएपनि कतिपय क्षेत्रमा बजार रहेको र सरकारी संरचना समेत निर्माण भइसकेकाले हटाउनका लागी समस्या भएको जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठले बताए । उनले भने ‘वि.सं.२०३५ सालअघि देखि अतिक्रमण गरी मानव बस्ती बसाइएकोले हटाउनलाई समस्या छ ।’
वन अतिक्रमणले पानीका मुहान सुक्दै
वन अतिक्रमण बढेपछि जिल्लाको दक्षिणी क्षेत्रका पानी मुहान सुक्दै गएका छन् । संवेदनशिल भु–बनौट भएको चुरे क्षेत्रमा तिब्र रुपमा वन फडानी बढेसँगै दर्जनौ खानेपानीका मुहान तथा खोला खोल्साहरु सुक्न थालेका छन् । यस क्षेत्रका बासिन्दामा चुरे क्षेत्रका वन मासिएकै कारण खानेपानीका श्रोत घटेको थाहा भएपनि वन विनाश रोक्न कुनै पहल नभएको महमाईका स्थानिय देविभक्त कुमाल बताउँछन् । सामुदायिक वन दिन प्रतिदिन विनास हुने क्रमले पनि खानेपानीको अभाव वर्षैपिच्छे बढ्दै गएको छ ।
सामुदायिक वन समेत अतिक्रणको जोखिममा
समुदायलाई व्यवस्थापन गर्न भनेर जिम्मा लगाइएको वनमा समेत अतिक्रमण बढेको छ । हालसम्म इलाममा ४९ हजार ४९.५४ हेक्टर वन समुदायको जिम्मा लगाइएको छ । इलाममा ३८ हजार ९ सय २८.३० हेक्टर वन चुरे क्षेत्रमा पर्दछ । जिल्ला वन कार्यालयको वन अतिक्रमण नियन्त्रण कार्ययोजना, २०६९को तथ्याङ्कमा २८ वटा गाविसमा १ हजार ८ सय २४.१७ हेक्टर वन अतिक्रमणमा परेको देखिन्छ । जसमा साविक दानाबारी गाविसका २३ सामुदायिक वनमा मात्र ७ सय हेक्टर अतिक्रमण परेको सहायक वन अधिकृत सुनिलकुमार सिंहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment