गोठको सुरक्षा गर्ने भोटे कुकुर आम्दानीको स्रोत बन्दै


पाँचथर, ८ जेठ ः उत्तरपूर्वी पाँचथरको फालोट क्षेत्रमा पुस्तौंदेखि गोठ बस्दै आएका ग्वालाहरुले गोठमा पाल्ने भोटे कुकुर अहिले आम्दानीको राम्रो स्रोत बनेको छ । गोठको सूचना संवाहक र सुरक्षागार्डको रुपमा पालिने भोटे कुकुरको छाउरा बेचेर ग्वालाहरुले राम्रो आर्थिक उपार्जन गरिरहेका छन् । फालोट क्षेत्रमा करीब तीन दर्जनको हाराहारीमा रहेका प्रत्येक गोठमा भोटे कुकर पाइन्छन् । हरेक गोठमा भाले–पोथी जातका भोटे कुकुर पाल्ने ग्वालाहरुले वर्षेनी छाउरा उत्पादन गरी राम्रो मूल्यमा बिक्री गर्दै आएका छन् । भोटे कुकुरको एउटा छाउरा १६ हजारमा बिक्री गर्दै आएको फालेलुङ गाउँपालिका–४, चाररातेका ग्वाला छबिलाल राईले बताए ।
उनका अनुसार भारतको सिक्किम–दार्जिलिङसँगै नेपालको इलाम, झापा, मोरङ, सुनसरी र काठमाडौंसम्मका मानिसले भोटे कुकुरको छाउरा खरिद गरि लाने गरेका छन् । हेर्दा ठूलो र भुक्दा वरिपरि थर्किने गरी ठूलो स्वरमा भुक्ने भोटे कुकुर ग्वालाहरुले गोठको सुरक्षाको लागि पाल्ने गर्दछन् । मानिस नभएको समयमा कुकुरले नै गोठको सुरक्षा गर्ने चाररातेकै भीममाया याङ्मा राईले बताइन् । ‘राती गोठमा बिगार गर्न जङ्गली जनावर आएको सूचना पनि कुकुरले नै दिन्छ’ उनले भनिन् ‘सिजन अनुसार एक ठाउँदेखि अर्को ठाउँ गोठ सार्नुपर्छ त्यो बेला कुकुरले नै चौंरी गाईलाई गन्तब्यसम्म डो¥याउँछ ।’
भोटे कुकुर घरपालुवा जनावर भए मानिस जस्तै चतुर अनि इमानदार हुने ग्वालाहरु बताउँछन् । फालोट घुम्न आउने पर्यटक उनै कुकुरबाट मोहित भएर खरिद गरिलाने छविलालले सुनाए । छाउरा खरिद गर्नेहरुको संख्या बढेपछि अहिले जन्मिनुपूर्व नै मोबाइल फोन मार्फत अर्डर गर्नेहरुको संख्या समेत बढ्दै गएको छ । छाउरा बिक्री गरी ग्वालाहरुले वार्षिक न्यूनतम ५० हजारदेखि डेढ लाख रुपैंयाँ सम्म आम्दानी गर्ने गरेका छन् । ग्वालाहरुले गोठ र चौंरीको सुरक्षार्थ अनिवार्य भोटे कुकुर पाले पनि अन्यले भने शौखको रुपमा पाल्नलाई खरिद गरेर लाने गरेको भीममायाले बताइन् । उनका अनुसार विशेष गरी समुन्द्री सतहदेखि २२ सय मिटरभन्दा माथिको उचाइमा पाल्न उचित मानिने भोटे कुकुर कम उचाइका ठाउँमा पनि शौखको लागि पाल्नेको संख्या बढ्दैछ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment