इलाम, १२ चैत्र: नेपालमा चिया खेती भएको १ सय ५४ वर्ष पछि नेपाल सरकारले चिया क्षेत्रको अध्ययन तथा सर्भेक्षण शुरु गरेको छ । राष्ट्रिय योजना आयोगको सहयोगमा केन्द्रिय तथ्याङ्क विभागले चिया खेतीको अध्ययन शुरु गरेको हो । एक वर्षमा अध्ययन पुरा गर्ने लक्ष्यका साथ तथ्याङ्क विभागले इलामको फिक्कलमा चिया उद्यमी, किसान, चिया सहकारी र प्राविधिकहरुसँग छलफल सम्पन्न गरेको छ । २०७४ पुससम्ममा फिल्डको सर्भेक्षण सम्पन्न गरिने अध्ययनमा चिया क्षेत्रको सम्पूर्ण पक्ष समेटिने तथ्याङ्क विभागका निर्देशक बद्रीबहादूर कार्कीले बताए ।
अध्ययनमा नेपाली चियाको परिचय, ओगटेको जग्गा, उत्पादन, क्षेत्रफल ऋण तथा अनुदानको विवरण संकलन गरिने छ । यसैगरी रासायनिक मल तथा विषादी प्रयोगको असर, रोजगारको अवस्था, बजारको अवस्था र बिक्री मूल्य, प्राविधिक सेवाको पहुँच र आयात निर्यात सम्बन्धि अध्ययन गरि राष्ट्रिय योजना आयोगलाई हस्तान्तरण गरिनेछ । चिया खेती सम्बन्धि सरकारी क्षेत्रबाट अध्ययन नहुँदा राष्ट्रिय योजना आयोगले योजना निर्माण तथा कार्यान्वयन गर्न समस्या भएकाले यो सर्भेक्षणले ठुलो सहयोग पुग्ने तथ्याङ्क विभागका अधिकृत गणेशप्रसाद फुयलले बताए वि.सं.१९२० मा खेती गरिएको चियाको अध्ययन नहुँदा तथ्याङ्क नै फरक पर्दै आएको भन्दै सरोकारवालाले ढिलो भएपनि अध्ययन शुरु भएकोमा खुशि व्यक्ति गरेका छन् ।
0 comments:
Post a Comment