निमीन ढकाल
इलाम, १७ जेठः स्थानीय तहको निर्वाचन नजिकिदैँ गर्दा पुर्व प्रधानमन्त्री झलनाथ खनाल र पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ्गको निर्वाचन क्षेत्रको असन्तुष्टी सार्वजनिक हुन थालेको छ । पुर्व प्रधानमन्त्री समेत रहेका एमालेका बरिष्ठ नेता झलनाथ खनालको निर्वाचन इलाम क्षेत्र नम्बर १ मा उम्मेद्वार चयनका क्रममा कार्यकर्ताले तिब्र असन्तुष्टि जनाउदै आएका छन । उम्मेद्वार छनौट गर्दा पार्टी संगठन र स्थानीय क्षेत्रमा काम गरेकालाई टिकट दिन भनेपनि पार्टी नेतृत्वले आफुहरुसँग घुलमिल नै नभएकालाई टिकट दिएको कार्यकर्ताको आरोप छ ।
एमालेभित्र सबैभन्दा धेरै सूर्योदय नगरपालिकाको उम्मेद्वार चयनका सम्वन्धमा असन्तुष्टी देखिएको छ । सुर्योदय नगरको मेयर उप मेयरको पदमा मात्र होइन वडाका पदमा समेत कार्यकर्ताले पार्टीप्रति कटाक्ष गरेका छन् । झलनाथ खनाललाई धेरै मत आउने एमाले पकड क्षेत्र मानिएको यो नगरपालिकामा टिकट दिँदा राम्रा कार्यकर्ता भन्दा पनि नातावाद र कृपावाद हावी हुँदै आफु निकटकालाई टिकट दिएको कार्यकर्ताको गुनासो छ । कार्यकर्ताले यतिसम्म भन्न थालेका छन् ‘एमालेको मति बिग्रियो भने झलनाथ सकियो’ ।
एमालेका बहुसंख्यक कार्यकर्ताले सूर्योदय नगरपालिकाको मेयरमा एमालेका क्षेत्रीय अध्यक्ष काजिमान कागतेलाई टिकट दिनुपर्ने माग गरेका थिए । तर, एमालेको प्रदेश नं १ को बैठकले आर बी राईलाई सुर्योदयको मेयरको रुपमा उठायो । काठमाण्डौमा मेनपावर संचालन गरेर बसेका राईलाई टिकट दिएपछि कार्यकता आक्रोसित भएका हुन । पार्टीको कार्यक्रममा र सामाजिक क्षेत्रमा धेरै काम गरेर आफ्नो पार्टीका कार्यकर्ता मात्र नभइ अन्य दलको कार्यकताको मन जित्न सफल भनी चर्चा गरिएका काजिमान कागतेले टिकट नपाएपछि झलनाथको नामै लिन छोडेको एक कार्यकताले बताए । इलाममा झलनाथको पक्षको लाइनलाई बलियो बनाउन ज्यान दिएर लागेका कागते अहिले मेयरका उमेद्वार आर बी राईसँग एउटै मञ्चमा धेरैबेर बस्दैनन् र भाषण गर्दा झलनाथको नाम पनि लिदैनन् ।
कार्यकर्ताको छलफलमा कागतेले हामी २० वर्ष पछि परेछौँ, गल्ति गरियो भन्दै आएका छन् । चुनावी कार्यक्रममा कागते भाषण सकेर मञ्च छोडिहाल्छन् भने भाषणमा चालु आर्थिक वर्षमा केपि ओली सरकारले ल्याएको बजेटको प्रशंसा मात्रै गर्छन् ।
एमाले इलामले ग¥यो जिल्ला सदस्यलाई कारबाही
पार्टी विधान, नीति र कार्यक्रम विपरितको गतिविधी गरेको भन्दै ने.क.पा. (एमाले) जिल्ला कमिटी, इलामले जिल्ला कमिटी वैकल्पिक सदस्य नरेन्द्र फियाक (लिम्बु) लाई पार्टीको साधण सदस्य समेत नरहनेगरी कारबाही गरेको छ ।
पार्टीको हित विपरितको गतिविधीमा लागेपछि नरेन्द्र फियाक (लिम्बु) लाई कारबाही गरिएको एमाले जिल्ला कमिटी सदस्य रामबहादुर रानाले बताए । सामाजिक सञ्जालमा पार्टीको विरुद्धमा प्रचारबाजी गर्ने, स्थानीय तह निर्वाचनमा मतदातालाई एमालेको विरुद्धमा उक्साउने, एमाले उम्मेद्वारको विरुद्धमा बागी उठ्ने प्रचारबाजी गर्दै हिड्ने, अन्य पार्टीका नेता, कार्यकर्ताहरुसँग साँठगाँठ गर्ने लगायतको गतिविधीमा संलग्न रहेकोले कारबाही गरिएको उनले बताए । जिल्ला सदस्य लिम्बुलाई कमिकमजोरीबारे पार्टी नेतृत्वले पटक–पटक सच्चिन ध्यानाकर्षण गराउँदा समेत कमजोरी नसुधारेकोले साधारण सदस्य समेत नरहनेगरी कारबाही गरिएको एमाले इलामका सचिवालय सदस्य एवम् निर्वाचन प्रचार–प्रसार समितिका प्रमुख नवराज शंकरले बताए ।
निर्वाचनको सन्दर्भमा पार्टी हित विरुद्धको गतिविधीमा लाग्ने जो कोहीलाई सम्बन्धित कमिटीको अध्यक्षले सोझै कारबाही गर्ने केन्द्रीय निर्देशन बमोजिम लिम्बुलाई कारबाही गरिएको शंकरले बताए । लिम्बु २०५४ सालको स्थानीय निकायको निर्वाचनमा इलामको लुम्दे गाविसमा एमालेको तर्फबाट निर्वाचित गाविस अध्यक्ष हुन् । यो निर्वाचनमा उनी फाकफोकथुम गाउँपालिकामा अध्यक्ष पदको आकांक्षी थिए । लिम्बुले गाउँपालिका अध्यक्ष पदको टिकट नपाएपछि पार्टी हित विरुद्धको काममा लागेको एमाले इलामले जनाएको छ ।
उप मेयरमा भयो यस्तो
जागिर गयो, टिकट पनि खोसियो । यो कथा उपमेयर पदमा एमालेका तर्फबाट उपमेयरको टिकट पाएर खोसिएकी चित्रकला बराइलीको हो । केही दिन अघि नेकपा एमाले प्रदेश कमिटीको बैठकले इलामको १० स्थानिय तहको उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरेपछि एमालेका प्रचार विभाग सचिव नवराज शंकरले मेयर उप मेयरको उम्मेद्वारको समाचार संकलन गर्दा सूर्योदय नगरपालिकाको उप मेयरमा चित्रकला बराइलीको नाम दिएका थिए । उपमेयर पदमा एमालेका तर्फबाट उम्मेदवार छानिएको भन्दै सामाजिक सञ्जाल र अनलाइन सञ्चारमाध्यममा चित्रकला चर्चाको पात्र बनिन् । चर्चासँगै उनी कस्सिएर भोट माग्न थालिन् । तर, अहिले उनको टिकट खोसिएपछि सूर्योदय नगरपालिका–६ की एमाले नेतृ बराइली निराश छिन् । निकै अघिदेखि उपमेयरको दौडमा रहेकी उनको ठाउँमा एमालेकै अर्की नेत्री दुर्गा भट्टराईले उपमेयरका रूपमा भोट माग्न थालेपछि उनमा निराशा चुलिएको हो । पार्टीको आधिकारिक निर्णय नआए पनि आफ्नो ठाउमा अर्कैले भोट माग्न थालेको थाहा पाएपछि निराश बनेकी उनले भनिन् ‘पहिले पनि धोका पाएकाले टिकट पाउने आस अहिले पनि मरेको छैन’ ।
दोस्रो संविधानसभा निर्वाचनमा दलित समुदायबाट समानुपातिक उम्मेदवारमा उठाएपछि बराइलीले १० वर्षदेखि कार्यरत शिक्षकको जागिर छाडेकी थिइन । जागिर छोडेर झलनाथ खनालको पछिपछि भोट माग्दै हिँडेकी बराइली त्यागी कार्यकताको रुपमा परिचित छिन । जागिर छोडेर पनि समानुपातिक सुचीमा नपरेपनि पार्टीको काममा अहोरात्र खट्ने बराइली अहिले पार्टी प्रति असन्तुष्ट छिन । सुनपा–६ तारगाउँको सरस्वती निम्न माध्यमिक विद्यालयमा राहत शिक्षकका रूपमा काम गरिरहेको अवस्थामा एमालेले समानुपातिक उम्मेदवारमा उठाएपछि जागिरबाट राजीनामा दिएकी थिइन् । तर निर्वाचनपछि उनलाई एमालेले सांसद बनाएन । ‘खाँदै गएको जागिर पनि गयो, पछि केही होला भनेको अहिले पनि यस्तै भयो’, उनले भनिन् ‘पार्टीले के गर्न खोजेको केहि बुझिएन’ ।
आफ्नो ठाउँमा एमालेकै अर्की नेत्री दुर्गा भट्टराईले उपमेयरका रूपमा भोट माग्न थालेपछि चित्रकला बराइलीमा निराशा छाएको हो । दोस्रो चरणको निर्वाचन नजिकिँदै जाँदा सक्रिय बनेकी उहाँ पछिल्लो समय निर्वाचन अभियानमा देखिन छोडेर अन्य सामाजिक काममा लागेकी छन । पछि न्याय पाइएला भनेर जागिर छाडेर बसेकी उनको हातबाट उपमेयरको उम्मेदवारी पनि उम्किएको कतिपयको भनाइ छ ।
वडा पनि समस्या उस्तै
सूर्योदय नगरपालिकाका वडाअध्यक्षको उम्मेद्ववार छनौटमा पनि तिब्र असन्तुष्टि जनाएका छन् । सूर्योदय नगरपालिकाको वडा नम्बर ६, ७, ८ १०, ११ र १२ नम्बर वडामा पार्टीमा सक्रिय रुपमा काम गर्दै आएका कार्यकर्ताले असन्तुष्टि जनाएका हुन् ।
पार्टीका लागि रात दिन खटेपनि टिकट नपाएपछि अहिले धेरैजसो सक्रिय कार्यकर्ता चुनावी गतिविधि भन्दा पनि आफ्नो व्यवसायमा सक्रिय हुँदै आएका छन् । पार्टीले अन्याय गर्यो अब आफ्नो व्यवसाय गर्छु, वडाध्यक्षको टिकट नपाएपछि एक एमाले कार्यकर्ताले भने ।
असन्तुष्टि दोश्रो संविधानसभा देखीकै
एमालेको नेतृत्व तहमा रहेका झलनाथ खनाल र अहिले संसदिय दलका उपनेता भएका सुभासचन्द्र नेम्बाङ्ग प्रतिको असन्तुष्टि २०७० को दोस्रो संविधान सभाको निर्वाचनदेखि नै हो । समानुपातिकको कोटामा नाम राखेर प्रचारमा सँगै हिँडेपनि एक जना पनि सभासद नबनाएपछि त्यतिखेर देखिनै खनाल र नेम्बाङ्गप्रति असन्तुष्टि जनाएका थिए ।
जिल्ला पार्टीको बैठकमै २०७० समानुपातिकका उम्मेद्ववार भएकाहरुले असन्तुष्टि जनाएका थिए । उनीहरुले भन्न थालेका छन ‘झलनाथ खनाल र सुबासचन्द्र नेम्बाङ्गलाई जिताउनु नै हाम्रो गल्ति भो । उनीहरुले बैठकमा पनि भनेका थिए ‘तपाईहरु हारेको भए पार्टीले हामीलाई सभासद बनाउँथ्यो’ ।
माइ नगरपालिकामा पनि कार्यकर्ता रुष्ट
झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ दुवै जनाको निर्वाचन क्षेत्रमा पर्ने माइ नगरपालिकामा पनि कार्यकताहरु रुष्ट छन । माइ नगरको मेयरमा दिपक थेवेको नाम चर्चामा आएसँगै उत्साहित भएर चुनाव प्रचारमा लागेको कार्यकताहरु एकाएक कायापलट भइ ध्रुव श्रेष्ठको नाम सिफारिस भयो भन्ने खवर सुनेपछि चुनावी माहोलबाट टाढिदै गएका छन । कतिपय कार्यकताले झन्डा र प्रचार सामाग्री पार्टीलाई बुझाएका छन । एमालेका एक कार्यकता भन्छन सुरुमा दिपक थेवेको नाम आएपछि चुनावी प्रचारपसारमा लागियो अहिले आएर ध्रुव श्रेष्ठको नाम सिफारिस भयो रे’ । माइनगरपालिकामा मेयर मात्र होइन उपमेयरको उम्मेद्वार समेत परिर्वतन भएकी छन । यसअघि बिष्णुमाया आर्चायको नाम उपमेयरमा चर्चामा आएपनि अहिले आएर हिमा भण्डारीको नाम चर्चा चल्न थालेको छ । यदपी प्रदेश कमिटीले भने आधिकारिक रुपमा नाम सार्वजनिक गरेको छैन ।
0 comments:
Post a Comment