इलाम, १६ असार: इलाम जिल्लाको १० तहमा असार १४ गते भएको स्थानिय तह निर्वाचन मत गणना जारी छ । गाउँ/नगरपालिका प्रमुख पदको अन्तिम परिणाम आउन बाँकी नै रहेपनि वडा अध्यक्ष पदको भने मत परिणामहरु सार्वजनिक हुन थालेको छ । गाउँपालिका र नगरपालिकामा विषेश त नेपाली कांग्रेस र नेकपा एमाले बिच कडा प्रतिष्पर्धा भइरहेको समाचार प्राप्त भएको छ । चियाबारी दैनिकले शुक्रबार साँझ ८ बजे सम्म यो समाचार तयार पार्दा निर्वाचन कार्यालय तथा चियाबारीकर्मीबाट प्राप्त विवरण अनुसार जानकारी दिने प्रयास गरिएको छ ।
त्यस्तै, इलाम नगरपालिका वडा नम्वर १२ मा नेपाली कांग्रेसका वडा अध्यक्ष लाखमान लिम्बू प्यानल सहित विजयी भएका छन् । ११ नम्बरमा नेपाली कांग्रेसकै रविन एक्तेन एक महिला सदस्य सहित विजयी भएका छन् । वडा नम्वर १० मा नेकपा एमालेका रोम लुङ्गेली प्यानल सहित विजयी भएका छन् । उता सन्दकपुर गाउँपालिका वडा नम्वर एकमा माओवादी केन्द्रका नन्दकुमार राई एक वडा सदस्य सहित विजयी भएका छन् । सन्दकपुर ३ मा नेकपा एमालेका कृष्ण पाठक प्यानल सहित विजयी भएका छन् । फाकफोक थुम गाउँपालिका एक अध्यक्ष पदमा नेपाली कांग्रेसका टेकबिर लिम्बू विजयी भएका छन् । रोङ गाउँपालिका १ मा एमालेका बुद्ध ढकाल विजयी भएका छन् । देउमाई नगरपालिका १ मा नेपाली कांग्रेसका माधव बस्नेत विजयी भएका छन् । चुलाचुली गाउँपालिका १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका वडा अध्यक्षका उम्मेद्धार प्यानल सहित विजयी भएका छन् । सन्दकपुर गाउँपालिका वडा नं. ३ मा एमालेका वडा अध्यक्ष कृष्ण पाठक सहित सबै प्यानल विजयी भएको जानकारी प्राप्त भएको छ ।
