इलाम, ८ असारः असार १४ मा हुने स्थानीय तहको निर्वाचनका लागि इलाममा मतदानका सामग्री सहित निर्वाचनका कर्मचारी मतदान केन्द्र पुगेका छन् । १० वटा स्थानीय तह रहेको इलाममा बिहिबार ४ स्थानीय तहमा खटिने कर्मचारीले सुरक्षाको व्यवस्था सहित मतदान स्थलमा पुगेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार विहिवार भौगोलिक रुपमा सदरमुकामबाट टाढा रहेका माइजोगमाइ, चुलाचुली, माङसेवुङ र फाफोकथुम गाँउपालिकाका ५९ मतदान स्थलका ९६ वटा मतदान केन्द्रमा निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत खटिएका हुन । बाँकी स्थानीय तहमध्ये शुक्रबार पाँच स्थानीय तह र शनिवार एक स्थानीय तहमा खटिने कर्मचारीलाई निर्वाचन सामग्री सहित मतदान केन्द्रमा खटाइने मुख्य निर्वाचन अधिकृत नवराज दाहालले बताए ।
मतदानमा खटिएका निर्वाचन अधिकृत र कर्मचारीले निर्वाचन कार्यालयको कार्यतालिका अनुसार काम गरि मतदातालाई सहज रुपमा मतदान गराउने दाहालले बताए । एक सय १४४ मतदानस्थलमा २ सय ४९ मतदान केन्द्र रहेको इलाममा १ लाख ८९ हजार २ सय ७४ मतदाता रहेका छन् । स्थानीय तहको निर्वाचनमा इलाममा स्वयमसेवक सहित २२ सय ५५ कर्मचारी र तीन हजार बढी सुरक्षाकर्मी खटिने छन् ।