निर्वाचनको मौन अवधिमा आफ्ना वेभसाइट तथा फेसबुक र ट्वीटरलगायतका कुनै पनि सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट समेत कसैले पनि निर्वाचनको प्रचार–प्रसार गर्न नपाइने आयोगले जनाएको छ । यदि निर्वाचनको मौन अवधि पालना नगरी निर्वाचन आचारसंहिताविपरीत कुनै पनि किसिमले निर्वाचनको प्रचार–प्रसार गरिएको पाइएमा त्यस्ता दल, संस्था, उम्मेदवार र व्यक्तिहरुमाथि निर्वाचन आयोग ऐन २०७३ बमोजिम हदैसम्मको कारबाही हुनेमा समेत आयोगले सचेत गराएको छ ।
सोही निर्देशिकाको दफा ७० मा प्रचार–प्रसार गर्न वा शान्ति भङ्ग गर्न निषेध गरिएको छ । सोही दफाको (१) मा मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचार–प्रसार गर्न वा गराउन निषेध गरिएको छ ।
