इलाम, ११ असारः निर्वाचनको मौन अवधीको पुर्वसन्ध्यामा आयोजना भएको नेकपा एमालेको चुनावी सभालाई सम्बोधन गर्न प्रमुख वक्ताको रुपमा रहेका पुर्वप्रधानमन्त्री एवम वरिष्ठ नेता झलनाथ खनाललाई सभालाई सम्बोधन गर्न असहजता देखिएको थियो । असार ४ गतेबाट जिल्लाका निर्वाचन प्रचारमा खटिएका खनाल सभालाई सम्बोधन गर्दा बिचबिच रोकिन्दै हास्थे ।
उनले सभालाई सकिनसकि सम्बोधन गरिरहेका थिए । सम्बोधनका क्रममा आवाज मधुरो हुँदै गएपछि केही समय रोकिदै पुन सभालाई सम्बोधन गर्थे । उनले बारम्वार घाटीमा समस्या छ भन्दै सभालाई सम्बोधन गरे । अन्तमा सभालाई सम्बोधन गर्न असहजताको सिमामा पुगेपछि ‘बाँकी रहेका सबै कुरा सुवास जीले भन्नुहुनेछ’ भन्दै कार्यक्रम संचालक नवराज शंकरलाई माइक्रोफोन हस्तान्तरण गर्दै बिदा लिए । पुर्व प्रधामन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले असार १४ को निर्वाचनमा पनि एमाले देशकै पहिलो पार्टी हुने बताए । पश्चिमबाट सुरु भएको एमालेको विजय यात्रा पुर्व प्रदेश नं १ मा आएर मात्र टुङ्गिने उनको धारणा थियो । नेकपा एमाले इलाम नगरपालिकाको चुनावी सभालाई आइतबार सम्बोधन गर्दै खनालले भने ‘सरकारले एमाले कमजोर भएको प्रदेशबाट निर्वाचन सुरु गरेपनि विजयलाई जारी राख्दै एमालेले पहिलो चरणबाट आफुलाई अब्बल प्रमाणित गरेको छ ।’
एमालेको जितको लगाम खुस्किएको बताउदै उनले भने ‘सबै निर्वाचनमा .नेकपा एमालेलाई विजयबाट कसैले रोक्न सक्दैन । नेकपा एमालेलाई जिताउन जनता अधैर्यतापुर्वक अघि बढिरहेका छन त्यसैले एमालेलाई पहिलो हुनबाट कसैले रोक्ने चेष्टा नगरे हुन्छ । एमालेको जितको लगाम असोज २ पछि मात्र लाग्नेछ ।’ सभालाई सम्बोधन गर्दै नेकपा एमालेका संसदीय दलका उपनेता एवम पुर्व सभामुख सुवासचन्द्र नेम्बाङले जनता एमालेलाई तालाचाबी सुम्पिन आतुर भएकाले एमालेको जित सुनिश्चित रहेको बताएका छन । उनले सरकारले हार्ने निश्चित भएपछि राजपालाई मनाउन भन्दै चरण चरणमा चुनाव गराएको आरोप लगाए । उनले भने ‘राजपाले चुनाव सार्न माग नगरेपनि सरकारले राजपालाई मनाउन चुनाव सारेको भन्ने भ्रमको खेती गरिरहेको छ ।
वास्तवमा राजपाले असोज २ मा चुनाव चाहेको हैन ।’ तत्कालिन प्रधामन्त्रीले जस्तो परिस्थिति आएपनि एकै चरणमा चुनाव गराउने बाचा गरेपनि एमालेको जनमत देखेर पछाडी सरेको नेम्बाङले आरोप लगाए । सरकारलाई इङ्गित गर्दै नेम्बाङले भने ‘सरकार इलाम चोकबजारको बिग्रिएको घडी जस्तो छ । हिजो पनि यो घडीमा साढे ५ बज्न ५ मिनेट थियो र आज पनि उस्तै छ ।’ सभालाई सम्बोधन गर्न एमाले नेता रघुविर महासेठ आउने भनिए पनि विशेष कारणले उनी इलामको चुनावी सभालाई सम्वोधन गर्न आउन नसकेको नेकपा एमाले जिल्ला समितिले जानकारी दिएको छ ।
