आज २०४ औँ ‘भानु जयन्ती’

इलाम, असारः एउटा सामान्य घाँस काट्ने घाँसीको प्रेरणाबाट नेपाली भाषाको चौतर्फी विकासमा महत्वपूर्ण भुमिका खेल्ने तपाईं हाम्रा आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती, आज २०४ औं ‘भानु जयन्ती’ । रामायण खण्डकाव्यलाई संस्कृतबाट नेपालीमा उल्था गर्ने ठूलो र महत्वपूर्ण जमर्को गरेका भानुभक्त आचार्य नेपालका प्रथम कवि अर्थात आदि कविका रुपमा चिनिन्छन । संस्कृत बुझ्ने र पढ्न सक्नेको मात्र सिमित पहुँचमा रहेको रामायणलाई नेपाली भाषामा रुपान्तरण गरेर भानुभक्तले समाजलाई एउटा ठूलो र अमर उपहार दिएका छन् ।
भानुभक्तका कृतिहरुमा नेपाली समाज र परिवेषको मिठास आउने गर्दछ । समाजका यर्थाथपरक घटना र परिवेषलाई चित्रण गर्दै साहित्यमा उतार्ने भानुभक्तका लेखाइमा सरलता, धार्मिकता र राष्ट्रियताको अदभूत संगम पाईन्छ । कतिपय भानुभक्तका रचना र सृजनाहरु कवि मोतिराम भट्टले जर्गेना र प्रचार प्रसार गरेका छन यस अर्थमा मोतिराम भट्ट र भानुभक्त दुवैको नाम अन्योन्याश्रित रहेको पनि पाइन्छ ।
भरजन्म घासँ तिर मन दिई धन कमायो
नाम् केही रहोस् पछी भनि कुँवा खनायो
घाँसि दरिद्र घरको तर बुद्दि कस्तो
म भानुभक्त धनी भइकन आज एस्तो
पन्ध्रौं शताब्दीमा खस राज्यको पतन पश्चात खस भाषा पनि बोलीचालीमा मात्रै सिमित थियो जुनबेला कुनै पनि औपचारिक परिवेषमा या लिखितममा खस भाषाको प्रयोग हुँदैनथ्यो । दक्षिण एसिया अझ नेपालमा संस्कृत भाषाको विशेष पकड थियो । संस्कृतमा लेखिएको रामायणलाई पढेर सुनाइएपनि समाजमा अधिकांशमा साक्षरता नभएकाले कसैले बुझ्दैनथे तर भानुभक्तले बोलीचालीको नेपाली सरल भाषामा रामायण ल्याएपछि भाषा र साहित्यमा सामान्य मानिसहरुको पहुँच र प्रेम बढेर गएको पाइन्छ । 
इतिहास र भानुभक्त रामायणका पानाहरु अहिले पनि साक्षी छन जसमा उनले रामायणका हरफहरुलाई अत्यन्तै मिठा छन्दमा प्रस्तुत गरेको पाइन्छ जसलाई सुन्ने जो कोहीलाई त्यो कुनै कविता या गीत नै हो जस्तो भान हुन्छ । भानुभक्त युवक छँदा एकदिन उनको भेट एकजना घाँसीसँग भयो, धनी परिवारका भानुभक्त र गरिब घाँसीसँगको त्यो भेट नै उनको जीवनको एउटा अविस्मरणीय संकल्प बन्न गयो । गरिब भएतापनि घाँसी समाजका लागि केहि दिन चाहन्थ्यो र घाँसीको त्यही बानीबाट प्रभावित भानुभक्तले समाजलाई भाषा र साहित्य मार्फतबाट धेरै कुरा दिएर गए ।
नेपाली भाषा र साहित्य आज पनि भानुभक्तले खोस्रेर शुरु गरेका पथहरुमा यात्रा गर्दै छ, उनले गोडमेल गरेका शब्दका फूलवारीमा बिहार गर्दैछ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता