इलामको पहिचान बोकेको निसान पुनः स्थापना किन र कसरी ?

इलामः एकिकरणपूर्व इलाम विजयपुर राज्य अन्तर्गत पल्लो किरातमा पर्दथ्यो । पल्लो किरातमा अरुणपूर्व टिष्टासम्मको भाग पर्दथ्यो । सेन राज्य स्थापनापूर्व लिम्बूवान इलाका दश लिम्बूवानमा विभाजित थियो । दश लिम्बूवानको पश्चिममा दुधकोशीदेखि पूर्वमा टिष्टासम्म र उत्तरमा तिब्बतको सिमानादेखि दक्षिणमा पूर्णिया जलालगढसम्म थियो । यही दश लिम्बूवान मध्येको इलाम–चारखोल पनि एउटा लिम्बूवान थियो । यसका प्रमुख इमे हाङ थिए । इलाम र आङदाङमा गढी थियो । लिम्बूवान गठन भएको समय सातौं शताब्दी अनुमान गरिएको छ । (ईमानसिहं चेम्जोङ–किरात इतिहास, १९८२) 
इलाम लिम्बू र लाप्चा दुई आदिवासी जातिको बसोबास क्षेत्र हो । माई पश्चिम लिम्बू बसोबास क्षेत्र र माई पूर्व लाप्चा बसोबास क्षेत्र हो । यी दुवै क्षेत्रको गाँउहरुको नाम लिम्बू र लाप्चा भाषामा नै छन् । 
पन्धौं शताव्दीमा मोरंगका राजा विजयनारायणले लिम्बूवान प्रदेश विजय गरी विजयपूर राज्यको स्थापना गरे । दश लिम्बूवान विजयपूर राज्य अन्तर्गत भएपछि इलाम पनि विजयपूर राज्य अन्तर्गत भयो । त्यस बेला इलामको भाग तमोरदेखि टिष्टासम्म फैलिएको थियो । 
सत्रौं शताब्दीमा विजयपुर राज्यमा राजा र मन्त्रीका बीच कहिले मेल भएन । फलस्वरुप राज्य कमजोर भएको थियो । त्यही गृहकलहको मौका छोपी सिक्किमका राजा फुञ्चो नामग्यालले (१७०४–१७७२) इलामको माईपूर्व टिष्टासम्मको भाग कब्जा गरेका थिए । (बाबुराम आचायर्, श्री ५ पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी २०२५) 
नेपाल एकिकरण अभियानमा रामकृष्ण कुवँर र अभिमान सिंह बस्नेतको नेतृत्वमा आएको नेपाली सेनाले सम्बत् १८३१ आषाढ सुदी ९ रोज १ (सन् १७७४ जुलाई १७ आइतवार) का दिन विजयपुर राज्य विजय ग¥यो । फलस्वरुप इलाम पनि नेपाल अधिराज्यमा सम्मिलित भयो । नेपालको पूर्वी सिमाना कन्काई माई र उत्तरमा इसलिम्बा च्याङथापु भयो । (बाबुराम आचायर्, पूर्ववत्) 
पश्चिमतर्फ राम्रो सफलता हात नलागेको बखत पूर्वको यो सफलताले पृथ्वीनारायण शाहलाई अति खुसी तुल्यायो । उनलाई इलामको कन्काई माईपूर्व टिष्टासम्मको भाग सिक्किमले कब्जा गरेको चित्त बुझेको थिएन । यो गुमेको इलाका फिर्ता गर्ने उपायका लागि तत्कालीन सेना प्रमुखहरु अभिमान सिंह बस्नेत र पारथ भण्डारीलाई निर्देशन दिए । निर्देशन बमोजिम गंगानन्द आचार्य र विश्वामित्र उपाध्यायलाई फिर्ता गर्ने सर्त सहित कुरा चलाउन दुत बनाई सिक्किम राजाकहाँ पठाइयो । सिक्किमका राजाले पनि फिर्ता गर्ने शर्त मन्जुर गरी सम्बत् १८३१ आश्विन वदि ५ रोज १ (सन् १७७४ सेक्टेम्बर २५ आइतवार) का दिन सन्धीपत्रमा हस्ताक्षर गरिदिए । इलामको कब्जामा रहेको भाग फिर्ता गरिदिए । फलस्वरुप नेपालको पूर्वी सिमाना टिष्टा भयो । इलामको सम्पूर्ण भाग नेपाल अधिराज्यमा सम्मिलित भयो । टिष्टासम्म पुगेको इलामको प्रशासनको लागि नागरी (हाल भारतको दार्जिलिङ्गमा पर्ने नागरी कमान) मा गढी रह्यो । सुब्वा जयन्त खत्री पहिलो प्रशासक नियुक्त भए । 
सम्बत् १८४४ (सन् १७८८) मा नेपाल र सिक्किम बिच युध्द हुँदा दक्षिणबाट जहरसिंहको नेतृत्वमा र इलामपट्टिबाट पूर्ण आलेको नेतृत्वमा नेपाली सेनाले सिक्किमको तत्कालीन राजधानी राब्दाम्सेसम्म पुग्यो । सिक्किमको पहाड मधेस (महानदीसम्म) नेपालको अधिन भयो । सिक्किम टिष्टाको दुई भंगालो बीच मात्र सिमित रह्यो । (डा. कुमार प्रधान, पहिलो प्रहर, १९८२) 
यो विजय अभियानमा श्रीनाथ पल्टनको शौर्य र बहादुरीको भूमिका थियो । पृथ्वीनारायण शाहले नुवाकोट आक्रमण अघिनै कालीबक्स र श्रीनाथ पल्टन खडा गरेका थिए । सिध्द गोरखनाथको नामबाट श्रीनाथ र कालिकाको नामबाट कालिबक्स खडा गरिएको थियो । (बाबुराम आचार्य नेपालको संक्षिप्त वृतान्त २०२२) यी पल्टन नै नेपालको पहिलो पत्थरकला (बन्दुक) चलाउने पल्टनहरु थिए । यी समेत पाँच कम्पनीको उल्लेख पनि गरिएको छ । अर्को तथ्य अनुसार श्रीनाथ पल्टनको गठन वि.सं. १८१९ आश्विन ५ मा भएको हो । (प्रा.डा. तुलसीराम वैद्य र अन्य नेपालको सैनिक इतिहास भाग–२, २०६५) 
नागरीमा गढी कायम हँुदा श्रीनाथ पल्टनको जङ्गी निशान नै नेपाली वीरता र शौर्यको प्रतिक थियो । त्यहाँ  निशान चार दशकसम्म गौरवपूर्ण रुपले रह्यो । 
निशान के हो ? 
नेपाली वृहत शव्दकोश अनुसार निशान शव्द फारसी भाषाबाट प्रविष्ट गरिएको हो । यसको अर्थ कुनै व्यक्ति वा बस्तु चिनाउने लक्षण, चिनु वा चिन्ह भन्ने बुझिन्छ । यसले कुनै बस्तुको पहिचानको लागि चिनोको रुपमा लगाईने छाप वा परिचयात्मक चिन्न भन्ने पनि बुझिन्छ । यो शब्दले पल्टनको परिचयात्मक झन्डा बोक्ने व्यक्ति औ दर्जा भन्ने पनि बुझिन्छ । प्रत्येक पल्टनको आ–आफ्नै पहिचानको रुपमा निर्धारित झन्डा हुन्छन् । त्यही झन्डानै निशान हो । सेनाको निशान–झन्डा हुने परम्परागत मान्यता छ । यो हिमवत्खण्डमा प्रचलित पुराण र महाकाव्यहरुमा (रामायण र महाभारत जस्ता) घटित युद्धहरुमा संलग्न सेनाहरुको आ–आफ्नै विशिष्ट पहिचानका झन्डाहरु थिए । 
हाम्रो देशको सबै पल्टन, गुल्म अथवा गणहरुको आ–आफ्नै निशान् छन् । निशान कुनै पनि गणको पहिचानको प्रतिक हो । शक्तिको श्रोत हो । प्रायः निशानलाई शक्ति स्वरुपा देवीको रुपमा पुजिन्छ । इष्ट देवीको रुपमा पनि ग्रहण गरिएको छ । ‘निशान भगवती’ सम्वोधन गरिन्छ । एकिकरणको अभियानमा पल्टनको निशान अघि लगाएर सेनाहरु लक्ष्य भेदका लागि बढ्दा संलग्न सबैमा देशभक्ति र समर्पण ओतप्रोत भएकैले नेपाल टिष्टा र सतलजसम्म पुग्न सम्भव भयो । राष्ट्रिय जङ्गी निशान स्पर्श गरेर सपथ गरेकैले राष्ट्रिय एकता र सार्वभौमिकताको  संरक्षण सम्भव भयो । सर्वसाधारण जनतालाई पनि विपत्ती वा दुर्घटनामा समेत निशान भगवतीको स्मरणले आश्वस्त पार्दछ । यो सिमान्त जिल्ला इलामको लागि निशान गौरवको विषय हो । जसले हामीलाई टिष्टा पुगेको सुखद अनुभुति गराई रहन्छ । 
सेनामा निशानको नित्य पूजा गर्ने र बोक्ने दरबन्दी नै हुन्छ । हालसम्मको प्राप्त जानकारी अनुसार श्रीनाथ पल्टनको पहिलो निशान पुजारी भएर आएका रामचन्द्र बाँस्तोला हुन् । उनी राजनीतिज्ञ तथा समाजसेवी सोमनाथ बाँस्तोलाका पूवज हुन् । उनकै सुपुत्र काशीनाथ बाँस्तोला यसै पल्टनको लप्टनसम्म भए । रामचन्द्र पछिका निशान पुजारी दरवन्दीमा काम गर्ने निशान बाजेका सन्तानहरु आजकल पनि इलाम बजार आसपास रहेका छन् । 
इलाममा निशान रहेका बखत हरेक बडा दशैँ र चैते दशैँको नवमीमा निशानको विशेष पुजा हुने गर्दथ्यो । फूलपातीका दिन बाजागाजासहित निशान अघि लगाएर देउराली डाँडामा फूलपाती लिएर नगर परिक्रमा गर्दै माईस्थान परिसरस्थल निशान मन्दिरमा विधिपूर्वक भित्र्याइदाको आनन्द आज पनि स्मरणमा छ । नवमीमा विशेष पूजा गर्न इलामभन्दा अघि निशान बसेको स्थान करफोकको पञ्चकन्यामा पूुजा गर्ने चलन पनि थियो ।
इलाममा निशान कहिले आयो ?
संवत् १८७०–१८७२ (सन् १८१४–१८१६) मा भएको नेपाल अंग्रेज युध्द संवत् १८७२ फागुन २० गते (सन् १८१६ मार्च ४ तारिकमा सुगौलीमा सन्धी गरी समाप्त भयो । सन्धी अनुसार नेपालको पूर्वी सिमाना सिंहलीला पर्वत श्रृखलाको पानीढलो र मेची नदी कायम भयो । इलाम तमोरदेखि मेची नदी भित्र खुम्चियो । सन्धीको धारा ३ अनुसार पूर्व टिष्टासम्मका पहाड मधेस सबै भाग छोड्नु पर्ने भयो । सन्धीमा हस्ताक्षर भएको चालिस दिनभित्र नागरी गढी र सम्पूर्ण भाग खाली गर्नु पर्ने भयो । 
सर्त बमोजिम नेपाली सेना (श्रीनाथ पल्टन) नागरी गढी खाली गरी करफोकको पूर्णे डाँडामा आई बस्यो । निशानसहित गढी करफोकमा रह्योे । सिमानाको नजिक भएको कारण त्यहाँ दुई वर्ष बसी सं १८७५ मा उपयुक्त स्थानको खोजीमा केही दिन नामसालिङ् बसी इलाम डाँडोमा श्रीनाथ पल्टन र निशान स्थायीरुपले स्थापित भएको हो । यो नै इलामको खलंगा (सदरमुकाम) भयो । इलामलाई खलंगा भनी सम्बोधन गरिएको धेरै पुरानो भएको छैन । माईस्थान मन्दिरको प्राङगण अगाडिको  ढुङगालाई खलंगा ढुंगा भनिन्छ । जनश्रुती अनुसार त्यही ढंगामाथि उभिएर सेना प्रमुखले आदेश उर्दि सुनाउने गर्दथे । करफोक र नामसालिङलाई पनि सेना र निशान रहेको हुनाले खलंगा भन्ने गरिन्थ्यो । नामसालिङमा आजकल पनि हात्तिटार प्रा.वि. नजिकको डाँडालाई खलंगा भन्ने गरिन्छ । माथि नै उल्लेख गरियो बडा दशैँ र चैते दशैँमा निशान भगवतीमा पूजा गर्दा करफोकमा पहिले पूजा दिने चलन थियो । नागरीमा गढी रहेको डाँडालाई गढी देवी भनी पूजा गर्ने चलन यद्यापि चलेको छ । अब नामसालिङमा पनि हुनु पर्दछ । इलाममा गढी (खलंगा) स्थापना भएको आगामी सं २०७५ मा दुई सय वर्ष हुन्छ । दुईसय वर्षको महोत्सव धुमधामसँग मनाउनु पर्छ । 
यो अवधिमा धेरै पटक विभिन्न पल्टनहरु हेरफेर भए । वि.सं १८४२ श्रावण ७ मा रणबहादुर शाहका पालामा गठित नयाँ श्रीनाथ कम्पनि पनि आयो । २०१५ सालमा इलाममा नै यस कम्पनिको धेरै पदहरुको नियुक्ति पनि भयो । इलाममा नेपाली सेनाको स्थायी व्यारेक गढीथुम्कामा स्थापना भयो । यी परिवर्तनहरुमा पनि टिष्टासम्मको विजयबाहिनी श्रीनाथ पल्टनको निशान भने साविकको स्थान माईस्थान परिसरमा नै रहिरहेको थियो । इलामबासीले माई भगवती र निशान भगवतीको आस्थापूर्वक नित्य पूजा अर्चना गरिरहेकै हो । स्थानीय बासिन्दाले कुनै पनि दुर्घटना वा प्रकोपहरुमा सुरक्षित अनुभव गरेकै हो । भगवतीको कृपा ठानेकै हो ।
निशान कहिले गयो त !
एक दिन यस्तो पनि आयो – सं २०५९ बैशाख २६ गतेका दिन इलामको मुख्य सम्पदा आस्थाको धरोहर निशान इलामबाट अन्तै लगियो । श्रीनाथ पल्टन गुल्मबाट गणमा स्तरोन्नति भएको र निशान गणमा रहनु पर्ने तर्कका साथ इलामबाट अन्यत्र लगियो । देशमा संकटकाल लागेको समय भएकोले इलामले रोक्न पनि सकेन । त्यसैवर्षदेखि इलाम माईस्थानमा दशैँहरुमा विशेष पूजा हुन छोड्यो । करफोकमा पूजा दिन छोडियो । के के विर्से जस्तो, के के हराए जस्तो भयो । 
निशान फेरी फक्र्यो
आखिर यस्तो पनि दिन आयो, सम्पूर्ण इलामबासीको चाहना र आग्रहको सम्मान गर्दै इलामको निशान साविक स्थानमा नै ससम्मान पुनस्र्थापना भएको छ । यसका लागि सं २०७३ मङसिर १२ गते धेरै इलामबासीको हस्ताक्षर सहित सम्माननीय प्रधान सेनापति, नेपाली जङगी अड्डामा अनुरोध पत्र श्री गणपति, कालीध्वज गण, इलाम गढीथुम्का मार्फत पठाइयो । इलामको अनुरोध अनुसार पुनस्र्थापना गरीदिन स्वीकृत भयो । स्विकृतिका लागि सेनापती महारथी श्री राजेन्द्र क्षेत्रीमा इलामबासि हार्दिक आवहार व्यक्त गदछौं । पुनस्र्थापना व्यवस्थापनको वातावरण निर्माणमा कालीध्वज गण, इलामका गणपति प्रमुख सेनानी श्री प्रकाश लामीछानेको भूमिका महत्वपूर्ण रहेको छ । वहाँलाई इलाम विशेष धन्यवाद ज्ञापन गर्दछ । सँधै सम्झीरहने छ । 
वि.सं. २०७४ साल असार २३ गते (सन् २०१७ जुलाई ७) निशान बाजागाजा र हर्षोल्लास अनि विधिवत पूजाका साथ इलाम भित्रिएको छ । निशान पुनस्र्थापना भएको खवरले सम्पूर्ण इलामबासीलाई हर्षित र आनन्दित तुल्याएको छ । इतिहासको पुनर्आगमन भएको अनुभुति भएको छ । पुनस्र्थापनाका लागि साविक निशान घर जिर्णोध्दार गर्न धेरै महानुभावहरुले आर्थिक भौतिक सहयोग जुटाई दिनु भएको छ । वहाँहरु सबै धन्यवादको पात्र हुनुहुन्छ । यसै अवसरमा माईस्थान मन्दिरको छाना पनि तामाको फेरिएको छ । यो कार्यले मन्दिरको महिमा थपिएको छ । 
निशान आउँदा के हुन्छ ?
१. इलाम ऐतिहासिक र पुरातात्विक महत्वको स्थल हुनेछ । नेपालको इतिहासमा पूर्व विजयको विशेषत इलाम खण्डको सम्पूर्ण घटना विवरणहरु लेखिएका छैनन् । टिष्टा विजयको गौरव बोकेको निशान पुनस्र्थापना भएपछि प्रत्येक इलामेले खोजीनीति गरी इतिहासको यो पाटो भन्न सक्ने, लेख्न सक्ने हुने छौँ । अनुसन्धान कर्ता र आगन्तुकहरुका निमित्त इलाम आकर्षणको केन्द्र हुनेछ । 
२. अठार सय अस्सीको दशकमा निर्माण भएको माईस्थान मन्दिर नेपालको पुरातात्विक मानचित्रमा (प्रकाशक, पुरातत्व विभाग) उल्लेखनीय छ । निशान पुनस्र्थापना भएपछि यसको महत्व अभिबृद्धि हुनेछ । माईस्थान र निशान मन्दिर इलामको महत्वपूर्ण धार्मिक पर्यटनस्थल हुनेछ । यसले इलामको पर्यटन प्रवध्र्दनमा सहयोग  हुनेछ । 
३. नेपालको पूर्वी सिमाना टिष्टा पुगेको तथ्य सामान्य रुपमा पुस्तकमा पढ्छौँ, गीत गाउँछौँ । अब इलामको निशान साक्षी राखी वर्तमान र भावी पुस्ताले पनि यो राष्ट्रिय गौरवगाथा बुझ्नसक्ने छन्, मनन् गर्नसक्ने छन् । यसले राष्ट्रिय जागरण नै बढ्ने छ । 
जय माई भगवती !                            जय निशान भगवती !!

लेखकः युद्धप्रसाद बैद्य
युद्धप्रसाद बेद्यको इलाममा निशान पुनस्र्थापना वुकलेटबाट जस्ताको तस्त

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता