जनकपुरधाम: सप्तरीवासी बाढीको त्रासले न त सुत्न पाउँछन, न त राम्ररी बस्न नै। खाँड नदीबाट आउने बाढीको चपेटामा पर्ने डरले उनीहरु रातभरी जाग्राम बसेर रात काट्छन्। गत बिहीबारदेखिको अविरल वर्षासँगै खाँड नदीको बहाव बढेका कारण कारण सप्तरीको सदरमुकाम राजविराजसहित औद्योगिक गजेन्द्र चोक क्षेत्रमा पानी पसेको छ। त्यस क्षेत्रका सर्वसाधारणहरु खोलामा बाढी आउने बित्तिकै फेरी गाउँमा पानी त पस्ने हैन भन्ने डर र भयमा छन्। जिल्लाका थुप्रै गाउँका विपन्न परिवारका व्यक्तिहरु जाग्रामै बसेर रात काट्छन्। खाँडो नदीको पानी गाउँमा पसेपछि तिलाठीमा हाल पनि गाउँ पुनः डुबानमा परेको छ।
“एक त खोलाको पानी गाउँमा पस्यो, अकोतिर वर्षाको पानीको निकास नहुदा पूरा गाउँ नै डुबानमा परेको छ” तिलाठीका स्थानीयवासी कृपाा नन्द झाले भने, ‘हप्ता दिन हुन लाग्यो वर्षाका कारण गाउँका करिब दुई सय घर पूर्ण रुपमा डुबानमा परेको छ। बस्ती भरि नै पानी पसेको छ, सर्वसाधारणलाई खाना पकाउन र घरमा बस्न समस्या भएको छ।’ लगातार करिब हप्ता दिन देखि जारी वर्षाका कारण राजविराज नगरपालिकाका वडा नं ५, ६ र ७ समेत पानी पस्ने गरेको छ। राजविराजस्थित अदालत रोड, वैष्णुदेवी रोड र गजेन्द्र चोकमा पानी जमेका कारण सर्वसाधारणलाई आवतजावत गर्न समस्या भइरहेको छ। जिल्ला भूसंरक्षण कार्यालय, जिविस, जिल्ला प्रशासन कार्यालय र भूमिसुधार कार्यालयमा पानी जमेपछि सो कार्यालयका कामकाज प्रभावित छ। केही दिनदेखि परेको अविरल बर्षाका कारण खाँडो नदीमा आएको बाढीले सप्तरीको दक्षिणमा पर्ने साबिकको सकपुरा गाविसका प्राय घरहरु डुबानमा छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी कार्यालय सप्तरीले गराएको जानकारी अनुसार साबिकको सकरपुरा गाविस–६ स्थित बाँध कटान गरेर बाढी गाउँतिर पसेको हो। बाँधसँगै उक्त स्थानमा रहेको झण्डै ५ विघा जति खेती योग्य जमिन समेत नदीले कटान गरेको प्रहरी नायब उपरीक्षक यादवराज उप्रतीले जनाए। सप्तरीको सिमावर्ती क्षेत्र खाँड नदीको बाढी प्रकोपले प्रायः प्रत्येक वर्ष वर्षातको मौसममा तिलाठी डुबानमा पर्ने गरेको छ। यसअघि खाँड नदी उत्तर हुँदै दक्षिणमा बग्ने गरेको थियो। तर चुरे विनाशका कारण चुरेको माटो बगेर आउन थालेपछि दक्षिणी क्षेत्रमा माटोले पुरिएको छ। त्यसैले अहिले पूर्व हुँदै बग्ने गरेको छ। यसरी नदीको बहाव परिवर्तन हुँदा तिलाठीबासीलाई अझ समस्या थपिएको देवनारायण यादवले बताए। यसभन्दा अघिल्लो वर्ष समेत तिलाठी गाउँस्थित नेपाल–भारत सिमा क्षेत्रमा रहेको पर्खाल नजिकै भएको झडपमा कयौं घाईते भएका थिए। खाँड नदीमा पानीको बहाव बढेका कारण भारतीय समावर्ती क्षेत्रमा पानी पस्ने डरले नेपालमा सिमामा आएर बाँध–बाँध्न खोज्ने भारतीय पक्ष र नेपाली पक्षबीच झडप भएको थियो।
यता महुली खोलामा आएको बाढीले भत्काएको बाँध बनाउन आज सुरक्षाकर्मीको टोली परिचालन भएको छ। सेनाका ७०, सशस्त्रका ५० र नेपाल प्रहरीमा २० जना बाँध निर्माणमा खटिने प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताए। यसैबीच राष्ट्रिय मानव अधिकार आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय जनकपुरले सप्तरीको बाढी प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरेको छ। सप्तरीको मलेठ, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र, तिलाठी, मैनाकरी सहितका क्षेत्रहरुका स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन्। मानव अधिकार आयोगका जनकपुर स्थित मध्यमाञ्चल क्षेत्रीय कार्यालयबाट निर्देशक दिपेन्द्र सिंह नेतृत्वमा खटेको टोलीले स्थलगत अनुगमन गरेको छ। खास गरी राहत तथा उद्धारको कार्यमा कुनै पनि ढिलासुस्ती नगर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिईएको आयोगले जनाएको छ। थाहाखवरबाट

