सन्दकपुर गाउँपालिका वडा नं. १ मा एकाघरका सासू–बुहारी चुनावी प्रतिस्पर्धामा उत्रिए थिए । बिहीबार मत परिणाम आउँदा सासूले बुहारीलाई जितेकी छिन् । सासू र बुहारी छुट्टा–छुट्टै दलबाट दलित महिलाको उम्मेदवार बनेका थिए । साविक माईपोखरी गाविस र हाल सन्दकपुर १ मा यस्तो रोचक प्रतिस्पर्धा भएको हो । सासू ६२ वर्षीया दिलमाया कमिनी नेकपा एमालेबाट र उनकी कान्छी बुहारी २८ वर्षीया सीतादेवी विश्वकर्मा माओवादी केन्द्रबाट दलित महिला उम्मेद्वार बनेकी थिइन् । सासू दिलमायाले ३६१ मत ल्याएर बुहारीलाई पछि पारेकी हुन् । बुहारी सीतादेवीले भने सासूभन्दा ३७ मत कम ल्याएकी थिइन् । सो वडामा अन्य दलका दलित महिला उम्मेदवार नभएकाले सासू–बुहारीबीच मात्र प्रतिस्पर्धा भएको थियो । सो वडाको वडाध्यक्षमा भने माओवादी केन्द्रका नन्दकुमार राईले अध्यक्षमा जितेका छन् ।
