सुर्तिजन्य पदार्थको बेचविखन न्युनिकरण गर्ने होटल एसोसियसन इलामको प्रतिवद्धता

सुजता सुनुवार
इलाम २९ असारः सुर्तिजन्य पदार्थको बेचविखन न्युनिकरण गर्ने होटल एसोशियसन इलामले प्रतिवद्धता गरेको छ । शरीरका लागी हानिकारक मानिएको सुर्तिजन्य पदार्थको प्रयोग गर्ने मूख्य स्थान नै होटल भएकाले बेचविखनमा सर्तकता अपनाए सेवन गर्ने संख्या घट्ने विश्वास गरिएको छ । बेचविखनमा सचेत रहने, सबै होटलहरुले सुर्तिजन्य पदार्थ बेचविखन नगर्ने र गर्न नपाउने नियम लागु गर्ने होटल एसोसियसन इलामका अध्यक्ष देवी पौड्यालले प्रतिबद्धता गरेका हुुन् । 
बिहीबार इलाम सदरमुकाममा भएको सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन कानुन सम्बन्धि अभिमुखिकरण कार्यक्रममा बोल्दै पौड्यालले यस्तो प्रतिबद्धता जनाएका हुुन् । उनले सुर्तीजन्य पदार्थ बेचबिखन भरसक नगर्ने गरे पनि प्रत्येक होटलमा सुर्ती सेवन गर्ने छुट्टै ठाउँको ब्यस्था गर्ने बताए । इलामका प्रायः केही होटलहरुमा मात्र यस्तो ब्यवस्था भए पनि यसलाई विस्तार गर्न एशोसिएसन लाग्ने बताइएको छ । हाल होटलमा सुर्तीजन्य पदार्थ बेचबिखन समेत घटेको अध्यक्ष पौडेलले बताए ।  
सुर्तिजन्य पदार्थ सेवन गर्ने व्यक्तिको संख्या बढ्दै गएको छ । किशोर र युवा समुहका व्यक्तिहरु नै बढी यस्ता लतमा फस्ने गरेका छन् । यस्ता पदार्थको प्रयोग स्थल नै होटल भएकाले होटलबाटै यसको न्युनिकरणमा पहल चाल्न सके किशोर किशोरी युवायुवती यस्ता लतमा नफस्ने सहभागीहरुको बुझाई थियो । विश्व स्वास्थ्य संगठनको तथ्याङ्ग अनुसार विश्वमा प्रत्येक दिन पाँच हजार व्यक्तिले धुम्रपान सुरु गर्ने गर्दछन् । धुम्रपानको सेवनबाट विश्वमा प्रति मिनेट १२ जनाको मृत्यु हुने गरेको छ ।
 सुर्तिजन्य पदार्थको सेवनबाट नै प्रत्येक दिन १६ हजार तीन सय ४९ जनाको मृत्यु हुने गरेको छ । अरुले सेवन गरेका धुम्रपानको प्रत्यक्ष असर नजिकै बसीरहेका व्यक्तिमा हुन्छ । आफूले सेवन गरेको भन्दा अरुले सेवन गरेको पदार्थ बढी खतरनाक हुने सरोकारवालाहरुको भनाई छ । अरुले सेवन गरेको पदार्थको प्रत्यक्ष असरका कारण वर्षेनी ४५ हजार मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्गले देखाएको छ । यसलाई न्युनिकरण गर्न नसकेमा अबको २५ वर्षपछि मृत्युको मूख्य कारण नै सुर्तिजन्य पदार्थको सेवन हुने अध्ययनले देखाएको छ । 
जिल्ला स्वास्थ्य कार्यलय इलाम र स्वास्थ्य अधिकार तथा सुर्तिजन्य वस्तु नियन्त्रणका लागी जिल्ला सञ्जाल इलामको आयोजनामा भएको कार्यक्रममा सञ्जालका उपाध्यक्ष सुदिप श्रेष्ठले धुम्रपान तथा सुर्ति सेवनका कारण हुने हानीका बारेमा जानकारी गराएका थिए । यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय इलामका प्रमुख जीवनकुमार मल्लले नसर्ने रोग र यसको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा नागरिक समाजका अगुवा धर्म गौतम, विद्यार्थी, सञ्चारकर्मी लगायतले बोलेका थिए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता