भारतमा सिक्किम विलय भएको ४२ वर्षमा सिक्किमेलीहरू खुशी छन् ?

सन् १९७५ मा सिक्किम भारतको २२औं राज्य बनेपछि चीनसँगको यसको सिमाना चीन–भारत सीमामा परिणत भयो । सिक्किममा जनमत संग्रहमार्फत राजतन्त्र हटाइएपछि उक्त क्षेत्र अन्तराष्ट्रिय चासोको विषय रहिरहेको छ । सिक्किम एक विशेष भौगोलिक अवस्थामा रहेको छ । यो संसारका सबभन्दा धेरै जनसंख्या भएका दुई देशको बीचमा छ र भारतको ‘घाँटी’ भनिने सिलीगुडी कोरिडोर नजिक छ । कुनै पनि क्षेत्रीय युद्धमा यसमाथिको विजय गजबको पुरस्कार हुनेछ । सिक्किम कुनै बेलामा एक स्वतन्त्र मुलुक थियो भन्ने धेरैले बिर्सिसके । तर अझै पनि धेरै सिक्किमेलीहरू आफूलाई सच्चा रूपमा भारतीय ठान्दैनन् ।
चिनियाँहरूलाई सिक्किमको भ्रमण गर्न सहज छैन । भारतमा तीन वर्ष संवाददाताका रूपमा काम गरेका लु पेङफेईले ग्लोबल टाइम्सलाई बताए अनुसार सन् २०१५ मा एक रिपोर्टिङ भ्रमणका क्रममा दार्जिलिङबाट सिक्किम जानका लागि एक कार चार्टर गर्न सक्ने सुनेपनि उनले त्यहाँ जाने हिम्मत गरेनन् । ‘मैले नयाँ दिल्ली फर्केपछि भारतको विदेश मन्त्रालयका साथसाथै नयाँ दिल्लीस्थित सिक्किम राज्यको कार्यालयमा निवेदन दिएर त्यहाँ भ्रमण गर्ने अनुमति मागेको भएपनि अनुमति दिइएन,’ उनले भने । सिक्किमको भ्रमण गरेका एक नेपाली नागरिकले ग्लोबल टाइम्सलाई बताए अनुसार त्यहाँ उनले आफ्ना चिनियाँ साथीहरूलाई लान सकेका छैनन् ।
‘चिनियाँ र पाकिस्तानीहरूलाई सिक्किममा प्रवेश गर्ने अनुमति प्रायः दिइँदैन । त्यहाँ पूर्ण प्रतिबन्ध त छैन तर निवेदन प्रक्रिया झन्झटिलो छ,’ उनले भने । भारतको इम्मिग्रेसन ब्यूरोको वेबसाइटमा सिक्किमलाई ‘नियन्त्रित÷संरक्षित क्षेत्र’ लेखिएको छ । पाकिस्तान, बंगलादेश, चीन, म्यानमार र नाइजेरियाका नागरिकलाई विदेश मन्त्रालयको स्वीकृतिबिना भ्रमण अनुमति नदिइने लेखिएको छ । सिक्किमको पूर्वतिर भुटान छ, पश्चिमतिर नेपाल अनि उत्तरतिर चीन । त्यहाँ कुनै रेलसेवा वा विमानस्थल छैन । सिक्किम जाने कार तथा यात्रुहरूलाई जाँचपडताल गरिने ग्लोबल टाइम्सका संवाददाताले पाए ।
भारतसँग विलय भएको ४२ वर्षपछि सिक्किम अझै संवेदनशील क्षेत्र हो । ग्लोबल टाइम्सले अन्तर्वार्ता लिन खोजेका धेरै व्यक्तिले यस विषयमा नाम उल्लेख गराउन मानेनन् किनकि भारत जाँदा उनीहरूलाई समस्या पर्ने डर छ । सिक्किम शान्त र तीव्र गतिमा विकसित भइरहेको पर्यटनस्थल हो र त्यहाँ जाने कसैले पनि तनाव छ भन्ने थाहै पाउँदैनन् । सिक्किमको क्षेत्रफल सात हजार वर्गकिलोमिटर छ र यहाँ जम्मा ६ लाख मानिस बस्छन् । कुनै पनि भारतीय राज्यमध्ये यो सबभन्दा कम जनसंख्या भएको राज्य हो । मार्च महिनामा हिन्दुस्तान टाइम्समा प्रकाशित एक लेखमा संवाददाता सरिता सन्तोषिनीले प्रतिव्यक्ति आयको हिसाबमा सिक्किम (दिल्ली र चण्डीगढपछिको) तेस्रो सबभन्दा धनी राज्य भएको लेखिन् ।
द न्यु योर्क टाइम्सका अनुसार ‘सिक्किम सन् २००४ देखि भारतको सबभन्दा तीब्र गतिमा विकसित भइरहेको राज्य हो तर यसको विकासको चर्चा गुजरात वा बिहारको जस्तो गरी हुने गरेको छैन । हिमालयको काखमा लुकेको सिक्किमले विगत आठ वर्षदेखि वार्षिक रूपमा १२.६ प्रतिशत बृद्धि हासिल गरेको छ ।’ सन्तोषिनीका अनुसार यो विकासका बाबजुद सन् २०१५ मा सिक्किमको आत्महत्या दर प्रत्येक एक लाखमा ३७.५ थियो । यो भारतीय औसत १०.६ भन्दा तीन गुणा बढी हो अनि विश्वव्यापी औसत ११.४ भन्दा पनि धेरै माथि हो । सिक्किमको बेरोजगारी दर भारतकै सबभन्दा दोस्रो उच्च छ, १५ प्रतिशतभन्दा बढी । राज्यमा लागूऔषध दुव्र्यसनको पनि ठूलो समस्या छ । 
भारतसँग सन् १९७५ मा विलय भएपछि उत्पन्न उच्च अपेक्षा र जोखिमका कारण धेरै सिक्किमेलीहरू लागूऔषध र आत्महत्यातर्फ आकर्षित भएको कुनाल किशोरले हिन्दुस्तान टाइम्सलाई बताए । उनी लागूऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यालयका अधिकारी हुन् । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङलाई अघिल्लो हप्ता हिन्दुस्तान टाइम्सले उद्धृत गर्दै लेखेको थियो, ‘सिक्किमका जनताले चीन र बंगालको बीचमा स्यान्डविच बन्नका लागि भारतसँग विलय गराएका थिएनन् ।’ उनले सिक्किमको नाम्चीमा एक सार्वजनिक समारोहमा यसो भनेका थिए । उनको भनाइले विवाद जन्मायो । उनले पछि आफूलाई गलत उद्धृत गरिएको बताए र प्रस्ट पार्दै भने, ‘राष्ट्रिय स्वार्थको सवालमा भारत सरकारले स्थितिलाई राम्ररी सम्हालिरहेको छ । हामीहरू उसको प्रयासलाई पूर्ण समर्थन गर्छौं र यसले राष्ट्रिय सुरक्षाका सवाललाई देशको सर्वोच्च हितमा सम्बोधन गरेको छ ।’
 इन्डिया टुडेमा यो छापिएको छ । धेरैजसो सिक्किमेलीहरू आफूलाई भारतीय भन्दा पनि सिक्किमेली भनाइन रुचाउँछन् । भारतका अन्य भागको तुलनामा यस बौद्ध क्षेत्रको सांस्कृतिक र भाषिक भिन्नता यसको आंशिक कारण हुन सक्छ । तीन वर्षअघि सिक्किम पुगेका एक नेपाली नागरिकले ग्लोबल टाइम्सलाई बताएअनुसार उनी सिक्किमसँग नाता रहेको अनुभव गर्छन् किनकि सिक्किमेलीहरू भारतका अन्य भागभन्दा नेपालीहरूसँग बढी नजिक छन् । ‘हामी दुवै हिमाली व्यक्ति हौं । धेरै सिक्किमेलीहरूको नेपालीकै जस्तै थर छ । अनि ५० प्रतिशत सिक्किमेलीहरू नेपाली बोल्छन्,’ उनले ग्लोबल टाइम्सलाई बताए ।
तर फरेन पोलिसीमा प्रकाशित एक लेखअनुसार विगतका केही दशकयता नेपाल र भारतबाट सिक्किममा आप्रवासनको लहरका कारण ‘त्यहाँका आदिवासीहरू आफ्नै भूमिमा अल्पसंख्यक भएका छन् ।’ नेपाली यात्रीले ग्लोबल टाइम्सलाई बताए अनुसार बहुसंख्यक सिक्किमेलीहरूले भारतका विषयमा के सोच्छन् आफूलाई थाहा नभएको तर यसो हेर्दा केही सिक्किमेलीले आफूलाई भारतसँग जोड्न नचाहेको देखिन्छ । ‘भारतले सिक्किमलाई विलय गराउँदा थुप्रै कठोर नीतिहरू अपनाएको थियो र अहिले नेपालमा बस्ने धेरै सिक्किमेलीहरूले मसँग सिक्किमका पूर्वराजाले भारतलाई धेरै छुट दिएकोमा चिन्ता र असन्तुष्टि व्यक्त गरेका छन्,’ उनले भने । तर चाइनिज एसोसिएसन फर साउथ एसियन स्टडिजका कार्यकारी निर्देशक कियाङ फेङका अनुसार सिक्किम विलय गर्नुअघि नै ब्रिटिश राजले उक्त क्षेत्रमा प्रवेश गरिसकेको थियो ।
 भारतले सिक्किम विलय गराउनु त एक औपचारिकता मात्र थियो किनकि सन् १९५० को सन्धिपछि नयाँ दिल्लीले सिक्किमको रक्षा, कूटनीति र सञ्चारका लागि जिम्मेवारी लिएपछि भारतको शासनलाई स्थानीयहरूले स्वीकार गरिसकेका थिए । हिन्दुस्तान टाइम्सका एक संवाददाता प्रोवीर प्रोमानिकले ‘४० वर्षपछि पनि भारतसँगको विलयमा सिक्किममा मतभेद जारी’ शीर्षकमा एक लेख लेखेका छन् । 
त्यसमा उनले कसरी सिक्किमेली विद्यार्थीहरू सन् १९७५ मा सिक्किम भारतको २२औं राज्य बनाइने विषयमा विभाजित थिए भनी वर्णन गरिएको छ । केहीले उक्त अवसरमा खुशियाली मनाए भने ‘अर्को एक तप्का जसमा सिक्किमको शासकवर्ग थियो त्यसले भारतसँग विलयको सम्झौतामा हस्ताक्षर गर्ने ३१ राजनीतिक नेताको ‘धोका’ भन्यो,’ उनले लेखे ।
अहिले धेरैजसो सिक्किमेली युवाहरूलाई ४० वर्षपहिले आफ्नो राज्यमा के भएको थियो थाहै छैन । धेरैलाई त सिक्किमका पूर्वराजा चोग्यालहरू को हुन् भन्ने पनि थाहै छैन । ‘उनी राजा थिए ? उनी (मुख्यमन्त्रीको आवासगृह) मिन्तोगाङमा बस्दैन थिए ?’ एक सिक्किमेली युवा पत्रकारले एकचोटि प्रोमानिकलाई सोधे । प्रोमानिकका अनुसार चोग्याल राजतन्त्रका पूर्वप्रशासक धेरैजसो सिक्किमेली अधिकारीहरूले उनलाई एकान्तमा कसरी भारतले सिक्किम ‘हडपेको’ थियो भनिरहन्थे ।
 तीमध्ये धेरैलाई राजाप्रति अझै पूर्ण सम्मान छ । सिक्किमका अन्तिम चोग्याल पाल्देन थोन्दुप नामग्याल सन् १९८४ मा न्युयोर्कमा क्यान्सरका कारण बिते । उनका छोरा वाङ्चुक नामग्याल अहिले भुटान र नेपालमा एकान्तबास गरिरहेका छन् । केही बृद्ध नागरिकहरू उनको स्वास्थ्य र बसाईंका बारेमा चिन्तित छन् । पेकिङ विश्वविद्यालयमा दक्षिणपूर्वी एसियाली सांस्कृतिक अध्ययन विभागका निर्देशक जियाङ जिङकुईले ग्लोबल टाइम्सलाई बताएअनुसार अहिले सिक्किममा स्वतन्त्रता आन्दोलन छैन । विदेशमा रहेका केही व्यक्तिले यस्तो आन्दोलनको आह्वान गरेका भएपनि स्वतन्त्रता प्राप्त गर्नका लागि सिक्किम अत्यन्त सानो छ र भारतप्रति निर्भर छ । भावानुवाद ः विन्देश दहाल
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता