गोठालो

लघुकथा
गोठालो
कोषवल्लभ रेग्मी
शनिबारको दिन । आज उसले स्कुल जानू परेन । स्कुल नजानुमै उसलाई मज्जा छ । साथीहरू सँग भेडी–गाँठो, कपर्दी, लुकामारी जस्ता खेल खेल्नपाए उसलाई आनन्द आउने ।
“आज म गाई चराउन जाने है बा !” उसले प्लास्टिकको ओढा पट्याउँदै भन्यो ।
“हुन्छ जा ! गाईहरु अघाएको हुनुपर्छ तर बाली–बिरुवा चराउन चाही भएन नि !!” उसका बाले मन्जुरी दिए ।
उसले गाई फुकायो । “उँभो–उँभो !!!” ऊ लौरी लिएर गाई धपाउँदै ठूलो चौरीतिर लाग्यो ।
आज ठूलो चौरमा पल्लो गाउँकी मैयाँले बहेक अरुले गाई–वस्तु ल्याएनन् । मैयाँँ र ऊ भएर कहिले लुकामारी, कहिले खेदाखेद गर्दै चौरमा खेल्न थाले । यतिकैमा आकाश कालो भयो र पानी पर्न थाल्यो ।
“ल्या !! !आज मैले ओढा ल्याउन बिर्सेंछु ।अब के गर्नु ?” मैयाँँ आत्तिन थाली ।
“खुच्चिङ–खुच्चिङ !!!” ऊ ताली पड्काउँदै उफ्रिन थाल्यो ।
“नाई के ! मलाई पनि तिम्रो ओढाले ओताई देउ ।” मैयाँँ उसको नजिकै आएर उभिई ।
“लौ ओढ ! ल्याउनु पथ्र्यो नि बर्खा भनेर जाने पछि ।” उसले ऊ सँग भएको प्लास्टिकको ओढा मैयाँलाई पनि ओढाउँदै भन्यो । तर हुरी सहितको पानी पर्यो । छड्के पानीले उनीहरू दुबैलाई निथ्रुक्कै पार्यो ।
“आच्छु !! अलि मजाले ओढाउन हो । सबै भिजायो के ।” मैयाँँ ऊसँग टाँसिन आई । उसले ऊसँग भएको सबै ओढा मैयाँलाई नै ओढायो । तर ओढाले थामेन ।
“बसौंन भनेको !!!” मैयाँले उसलाई समातेर बसाउन खोजी ।
“भएन के ! सबै भिजायो । आच्छु ! मलाई तिम्रो जिउले ढाकीदेउन भनेको ।” मैयाँले उसलाई पुरै अंगालो मारी । पानी परेको यस्तो चिसो मौसममा पनि उसलाई गर्मी महशुस भयो ।
“ए गोठाला हो ! गाईले मकै खायो त । कस्को गाई हो हँ ?” यतिकैमा कसैले तलबाट कराएको आवाजले ऊ झस्कियो । ऊ मैयाँसँगको अंगालोबाट फुत्किएर बारीतिर दौडियो ।
“ल्या !!! अब बाले मार्छन् ।” गाईले बारीको आधागरो मकै ’चट’ पारिसकेछ । उसले गाई फर्काई सक्दा नसक्दा हुरी सहितको पानी पनि साम्य भइसकेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता