नेपाल आइडलको ग्राण्ड फिनाले इभेन्टको तयारी अन्तिम चरणमा

  • तिलविक्रम थेवे

कतार (दोहा),  आगामी असोज ६ गते, सेप्टेम्बर २२, २०१७ शुक्रबार कतारमा सम्पन्न हुन लागेको ऐतिहासिक नेपाल आइडलको ग्राण्ड फिनाले भव्य समारोहको अन्तिम तयारी करिब पुरा भइसकेको आयोजकले जानकारी दिएका छन् । एपीवान टिभीबाट प्रत्यक्ष प्रशासण भइरहेको देशभित्र र बाहिर विश्व नेपाली समुदायबिच अत्यन्तै चर्चामा रहेको नेपाल आइडल रियालिटी सोको ग्राण्ड फिनालेको भव्य समारोह कतारस्थित करिब १६ हजार दर्शक अटाउने एसियन टाउन एम्फिथिएटर ग्राण्डमल सनैयामा सम्पन्न हुन लागेको हो । 
ओनिक्स वान इन्टरनेसनल र एभरेष्ट नेपाल युथ एसोसिएशनको संयुक्त आयोजनामा कतारमा सम्पन्न हुने ग्राण्ड फिनाले इभेन्टका संयोजक व्यवसायी उत्तम गुरुङले जानकारी दिएअनुसार स्टेजको अन्तिम तयारीको लागि नेपालबाट नेपाल आइडल रियालिटी सोको व्यवस्थापन पक्ष, प्राविधिक टिम लगायत कतारमा आउनेक्रम जारी रहेको छ ।
अन्तराष्ट्रियस्तरमा मान्यता प्राप्त अत्यन्त लोकप्रिय रियालिटी सोको नेपाली संस्करण नेपाल आइडल संगीतकार न्यहु बज्राचार्य, गायिका इन्दिरा जोशी र  नेपाली चलचित्र र नेपाली संगीतक्षेत्रका लोकप्रिय व्यक्ति कालीप्रसाद बास्कोटाले निर्णायकको भूमिका गरिरहेका छन् भने लोकप्रिय मोडल सुशिल नेपाल र टेलिभिजन पत्रकार एवं उदघोषिका रिमा विश्वकर्माले यो कार्यक्रमको उदघोषण गरिरहेकाछन् । कतारमा कार्यरत ४ लाखभन्दा बढी नेपाली समुदायको इच्छा आकांक्षालाई मध्यनजर गरेर यसवर्षको दशैको आगमनसँगै एउटा ऐतिहासिक इभेन्ट गर्न चाहेकोले नेपाल आइडल ग्राण्ड फिनालेको लागि कतारलाई रोजेको कार्यक्रम संयोजक गुरुङले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता