इलाम (पुवामझुवा), अनेरास्ववियूले इलाम नगरपालिका वडा नं. ३ शारदा माविमा बुधबार सामुदायिक विद्यालयको गुणस्तर बृद्धिका लागि शैक्षिक बहस सम्पन्न गरेको छ । गत वर्षको एसइइ परीक्षाको नतिजा अनुसार कमजोर मानिएका जिल्लामा सामुदायिक विद्यालयहरुमा शैक्षिक बहस गर्ने क्रममा बुधबार सो विद्यालयमा गरिएको हो । विद्यालयको गुणस्तर बृद्धिका लागि एकतर्फी रुपमा मात्र प्रयास भएर विद्यालयको गुणस्तर नबढ्ने कार्यक्रमका सहभागीले बताएका थिए ।
विद्यालयको गुणस्तर बृद्धिका लागि शिक्षक, अभिभावक, विद्यार्थी र विद्यालयको वातावरण अनुकुल हुनु पर्ने सहभागीहरुको धारणा थियो । नगर संगठन कमिटीका संयोजक सचिङजङ्ग रायमाझीको अध्यक्षता तथा अखिल केन्द्रिय सदस्य रविन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष इश्वरी तामाङ, विद्यालयका प्रधानाध्यापक सन्तोष राई, शिक्षक अभिभावक संघका अध्यक्ष जीवन वान्तवा लगायतले आ–आफ्नो धारणा राखेको चियाबारी दैनिकका सहकर्मी प्रमोद रिजालले जानकारी दिए ।