इलाम : जिल्लामा यस वर्ष पाँच करोड ७५ लाख १२ हजार रुपैंयाँ बराबरको बंगुरको मासुको कारोबार भएको छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार एक लाख ६४ हजार ३२० किलो बंगुरको मासु प्रतिकिलो ३ सय ५० रुपैंयाँका दरले खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको तथ्यांक छ । पशुसेवा कार्यालयका अनुसार इलाममा बंगुर मासु पसल २८ वटा दर्ता भएका छन् । पशु कार्यालयकै तथ्यांक अनुसार वार्षिक दुई हजार २ सय मेट्रिक टनको हाराहारीमा बंगुरको मासु उत्पादन हुने गरेको छ । गत वर्ष दुई हजार १ सय ८४ र अघिल्लो वर्ष दुई हजार १ सय ९९ मेट्रिक टन मासु उत्पादन भएको थियो ।
उत्पादित मासु जिल्लाकै बंगुर फार्म र घरायसी बंगुरपालनबाट उत्पादित बंगुरको रहेको कार्यालयले जनाएको छ । जिल्लामा ८० वटा बंगुर फार्म दर्ता भई सञ्चालनमा छन् । ती फार्ममा कम्तीमा १० देखि बढीमा १०० वटासम्म बंगुरपालन गरिएको छ । फार्मबाट वार्षिक ९३ हजारभन्दा बढी बंगुर उत्पादन हुँदै आएको छ । गत वर्ष जिल्लामाा ९३ हजार १९० वटा र अघिल्लो वर्ष ९३ हजार ४०० वटा बंगुर उत्पादन भएका थिए । गत वर्ष स्थानीय जातका ५६ हजार ८६० वटा र उन्नत जातका ३६ हजार ३३० वटा बंगुर उत्पादन भएको कार्यालयले जनाएको छ ।