पाँचथर : जिल्ला प्रहरी कार्यालय पाँचथरले सदरमुकाममा विभिन्न प्रलोभन देखाई नेटवर्किङ विजनेस सञ्चालन गर्दे आएका एकजना सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान आइवोस ग्लोवल मार्केटिङको नाममा विभिन्न सामाग्रीहरु बिक्री गर्दै आएका फिदिमका व्यवसायी दिपक धमालासहित अर्का एक ग्राहकलाई प्रहरीले पक्राउ गरेको हो । विभिन्न व्यक्तिहरुको मौखिक गुुनासोका आधारमा केही दिनबाट अनुसन्धान गरिरहेकोले केही सामाग्रीहरुसहित उक्त कार्यमा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिहरु सहित उत्पादित सामग्रीहरुको गुणस्तर र वैधताका बारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गौतमले सञ्चारकर्मीले बताए । आइवोस नामक कम्पनीको नाममा उत्पादित सामग्रीहरु ‘एन्टी रेडिएसन वायोम्याग्नेटिक’ भएको भन्दै एभरेष्ट इनर्जी वाच नामको घडी, ब्रासलेट, चुरा, लकेट, औंठीलगायतका सामाग्रीहरु १० देखि ३० प्रतिशत डिस्काउन्टमा समूहको सदस्य बनेर बिक्री गरिरहेको बताइएको छ । उक्त समूहले कम्पनीका सामग्रीहरुबाट रक्तचाप, किड्नी, प्रेसर, आँखा, नशा सम्बन्धी समस्याहरुको निदान गर्ने भन्दै प्रत्यक्ष र अप्रत्यक्षरुपमा बिक्रीको आधारमा लाभ हुने लोभ देखाएर सर्वसाधारणलाई ठगी गरिरहेको मौखिक जानकारी पाएपछि उनीहरुलाई पक्राउ गरिएको डिएसपी गौतमले बताए । बजारमा विभिन्न बहानामा चाडबाडको मौका छोपेर यस्ता गतिविधि हुनसक्ने भन्दैे कुनै पनि व्यक्तिहरु र सामाग्रीको प्रलोभनमा नफस्न डिएसपी गौतमले आग्रह गरेका छन् ।