रोङ (जिर्मले), मादप पदार्थ सेवन गरी विद्यालयमा आएको भन्दै दक्षिणी इलामको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । हरेक समय मादक पदाथए सेवन गर्ने ति प्रधानाध्यपकलाई पटक–पटक चेतावनी दिँदा समेत नसुध्रिएपछि बुधबार उनलाई मादक पदार्थ सेवन गरी विद्यालयमा आएको बखत प्रहरीले नियन्त्रणमा लिएको हो । रोङ गाउँपालिका वडा नं. ६ सलकपुरस्थित मोतीराम माध्यमिक विद्याालयका प्रअ लालबहादुर श्रेष्ठलाई मापसे गरी विद्यालय आएको अभियोगमा जिर्मले प्रहरी चौकीले नियन्त्रणमा लिएको हो । अन्य समयमा पनि मादक पदार्थ सेवन गरिरहने श्रेष्ठलाई विद्यालय व्यवस्थापन समितिले बारम्बार चेतावनी दिँदापनि उनको व्यवहारमा सुधार नआएको र बुधबार अत्याधिक मदिरा सेवन गरी विद्यालय नै दुर्गन्धित हुने गरे विद्यालय आएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको व्यवस्थापन समितिका अध्यक्ष डम्बर राईले चियाबारी दैनिकलाई बताए । उनले भने– ‘प्रअ पहिलादेखि नैं मादक पदार्थ सेवन गर्ने गरेको र हामीले हाम्रो समितिको बैठक र स्टाफ बैठकमा समेत बारम्बार सम्झाउँदा पनि व्यवहारमा कुनै परिवर्तन आएन् । बुधबार त उनी खुट्टै नटेक्ने गरी आएका रहेछन् ।’
यता विद्यालय व्यवस्थापन समितिका सदस्य लाखमान ग्रोङदानले चियाबारी दैनिकको जिज्ञासामा भने– ‘हाम्रो विद्यालयका प्रअले आर्थिक अनियमिता गरेको जस्तो पनि देखिन्छ । अब एकपटक विद्यालयको आन्तरिक लेखा परिक्षण गर्नेछौं र यसरी मापसे गर्ने शिक्षकबाट हाम्रा बच्चाहरुले के भरोसा गर्ने सोच्ने छौं ।’ यता अब प्रअलाई के कारवाही हुन्छ भन्ने प्रश्नमा जिल्ला शिक्षा कार्यालय इलामका शाखा अधिकृत डम्बर सुवेदीले भने– विद्यालयको प्रअलाई कारवाही गर्नको लागि पहिलो आधार नैं विद्यालय व्यवस्थापन समितिको निणर्य हो । शिक्षकको गयल, हाजिरी तलब रोक्का गर्ने नगर्ने सबै अधिकार व्यवस्थापन समितिलाई हुन्छ । त्यही निणर्य अनुसार नैं जिल्ला शिक्षा कार्यालयले गर्ने हो तर बर्खास्त नैं गर्ने अधिकार भने क्षेत्रिय शिक्षा निर्देशनालयलाई हुन्छ । उनले चियाबारी दैनिकसँग भने– ‘बर्खास्तको चरण सम्म पुग्दा उनीसँग स्पष्टिकरण लिने लगायत अन्य प्रक्रियाहरु भने जिल्लास्थित कार्यालयले गर्दछ । तर मादक पदार्थ सेवनको कारवाही भने प्रहरीले कानुन अनुसार नैं गर्दछ ।’
बुधबार नैं रोङ गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष सुवास तामाङसहित बसेको सर्वपक्षिय भेलाले विद्यालय र विद्यार्थीको हितलाई ध्यानमा राखेर प्रअलाई सो विद्यालयबाट पदमुक्त गर्नको लागि जिल्ला शिक्षा कार्यालयमा अनुरोध गर्ने र बाँकी रहेको विद्यालयको हिसाब बझबुझारथ गर्ने अनौपचारिक छलफल भएको छ । साथै असोज १ गते हुने अभिभावक भेला थप निणर्य गर्ने पनि वडा अध्यक्ष तामाङले चियाबारीलाई जानकारी दिएका छन् ।