इलाममा हुने अनुगमन बजार चाडपर्व नजिकिएको संकेत

  • टीका खतिवडा

इलाम, लाग्छ कहिले त यस्तो पनि, इलाममा हुने बजार अनुगमनले चाडपर्व नजिकिएको संकेत गर्छ । यस्तै संकेत बुधबार इलाम बजारमा सम्पन्न भयो । अर्थात जिल्ला प्रशासन कार्यालय इलामको अगुवाईमा इलाम नगरपालिका, जिल्ला प्रहरी कार्यालय इलाम, इलाम उद्योग वाणिज्य संघ, करदाता सेवा कार्यालय इलाम, कृषि विकास कार्यालय इलाम लगायतको टोलीले इलाम सदरमुकाममा पुरानै परम्परा दोहो¥याउँदै अनुगमन सम्पन्न ग¥यो । 
अनुगमन टोलीले इलाम बजारका मिठाइ पसल, फलफूल तथा तरकारी, होटल, किराना र माछा पसल गरी जम्मा १७ वटा पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांश पसलहरुमा उपभोक्ताको स्वास्थ्यमा अत्यन्तै हानी गर्ने म्याद गुज्रिएका सामान देखि मुल्य सूची नराखिएका पलसहरु भेटिए । मुल्य सूची भए पनि सबै मुल्य सूची दैनिक अपडेट नभएको समेत पाइयो । 
चाडपर्व नजिकिएसँगै बजारमा बढी किनमेल हुने र यसै समयमा ब्यवसायीहरुले कालोबजारी साथै मिसावट गर्ने भएकाले अनुगमन गरिएको अनुगमन टोलीमा रहेका आपुर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका संयोजक शेरबहादुर देवानले बताए । उनका अनुसार उपभोक्ताले सडेगलेका सामानहरु प्रयोग गर्न नपरोस भनेर पनि अनुगमन गरिएको हो । अनुगमनका क्रममा सबैभन्दा बढी पेय पदार्थहरुमा म्याद गुज्रिएको पाइएको जिल्ला प्रसाशन कार्यालय इलामका नासु नित्यानन्द घिमिरेले बताए । त्यस्तै १७ वटा पसल मध्ये छ वटा पसल दर्ता नगरी चलेका र स्थायी लेखा नम्बर नलिइ चलेको पाइएको थियो । 
ती पसल सञ्चालकहरुलाई १५ दिन भित्रमा करदाता सेवा कार्यालयमा बोलाइएको प्रद्धन्न न्यौपानेले बताए । १५ दिन पछि पनि उनीहरुले अटेर गरे वा कार्यालयले भने अनुसार गरेनन् भने कानुनी प्रक्रियाबाट नै कारवाही अघि बढाइने उनले बताए । 
सबै भन्दा बढी पेय पदार्थमा म्याद गुज्रिएको पाइयो त्यसमा पनि कोकाकोलामा सबैभन्दा बढी यो समस्या देखिएको थियो । ब्यापारीहरुले तीन दिन अघिमात्र कोकाकोला आफ्नो पसलमा झरेको बताएका थिए । कम्पनीले तीन दिन अघि मात्र पसलमा झारेको सामानमा यस्तो त्रुटी पाइएको ब्यापारीहरुको भनाई थियो । कोकाकोला बिक्री गर्ने कम्पनी पुर्वाञ्चलका वजार ब्यवस्थापक नविन कोइरालाले तीन दिन अघि मात्र झरेको सामानमा म्याद गुज्रिएको हुन नसक्ने बताए । 
यदि भए पनि नियतवस सो कार्य नगरिएको उनको दाबी थियो । चाडपर्व नजिकिए पछि मात्र बजार अनुगमन हुने गरेको उपभोक्ताको भनाई छ ।  यस अघि इलाम वजारमा भने दशैँ अगाडी मात्र अनुगमन भएको थियो । तर जिल्ला प्रसाशन कार्यालयले भने बिचमा एकपटक अनुगमन भएको दाबी गरेको छ । बिचमा भएको अनुगमन फिक्कल, पशुपतिनगर, नेपालटार र मंगलबारेमा केन्द्रित थियो । बजारमा एउटै सामानको पसल अनुसार फरक–फरक मुल्य हुने गरेको छ । तर पनि सम्बन्धित निकाय भने कानमा तेल हाले झैँ गरेर वसेको पाइन्छ । चाडपर्वका क्रममा बढी मात्रामा बिक्री हुने मासुमा समेत फरक–फरक मुल्य हुने गरेको छ । त्यसमा पनि ताजा मासु बिक्री भए–नभएको अनुगमन हुने गरेको पाइन्न ।  
अनुगमनमा संलग्न इलाम उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष इश्वर चिपालुले बजार मुल्य सूचीमा एकरुपता ल्याउने बताए । उनले तत्काल उद्योग वाणिज्य संघले बजारमा हरेक सामानमा एकरुपता ल्याउन पहल गर्ने बताए । म्याद गुज्रिएका सामानहरु संकलन गरेर जिल्ला प्रशासन कार्यालयमा लगिएको छ । म्याद गुज्रिएका पसल र फोहोर मैला भएको होटलका सञ्चालकहरुलाई जिल्ला प्रशासन कार्यालयमा बोलाइएको कार्यालयका नासु घिमिरेले बताए । सम्बन्धित पक्षले समय–समयमा अनुगमन गर्न अत्यन्त आवश्यक देखिन्छ । स्वास्थ्यमा प्रतिकुल असर गर्ने खाद्य सामाग्री किनमेल गर्दा उपभोक्ता समेत सचेत हुन आवश्यक छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता